संसदमा विचार, सिद्धान्त र नीतिमा छलफल हुन छोड्यो : अग्निप्रसाद सापकोटा

काठमाडौँ । पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संसदमा विचार, सिद्धान्त र नीतिमा छलफल केन्द्रित नभई प्रतिक्रियामा उत्रिएको बताएका छन् ।
आइतबार संसद भवनमा ६६ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले संसदमा भएका प्रतिक्रियात्मक टिप्पणीकै कारण अराजकताका समस्याहरू देखा परिरहेको बताए । उनले नेपालमा वैचारिक रिक्तता देखा परेको बताए । उनले विश्वभर नै विरोधाभास र अराजकता मौलाइरहेको बताए । उनले सांसदहरूले समाजवादी बाटोमा अघि बढ्नुपर्ने पनि बताए ।
उनले भने ‘विश्वभरि विरोधाभास छ । संसारभर एउटा अराजकता छ । र अस्तव्यस्तताको स्थिति छ । विश्व दृष्टिकोण बनेको छैन । होला, दार्शनिकहरू विश्व दृष्टिकोणका लागि लागेका होलान् । तर त्यो आम बुद्धिजीवी र जनतासमक्ष आइपुगेको छैन । आम जनतासँग विश्वदृष्टिकोण नआइपुग्दासम्म हामी सबै एउटा ठूलो छटपटीमा छौँ । हामी सबै एउटा उकुसमुकुसको वातावरणमा छौँ । नेपालमा पनि हामी हेरिरहेका छौँ । नेपालमा मात्रै होइन, नेपालीहरूले मात्रै होइन, सारा संसारले हेर्ने संघीय संसदमा विचारमा, सिद्धान्तमा, नीतिमा छलफल भएको छैन । त्यहाँका छलफलहरू मेरो विवेकले देखेसम्म प्रतिक्रियात्मक भएका छन् । आज किन हामीले अराजकताका समस्याहरू व्यहोरिरहेका छौँ ? आज हामीलाई किन यी सबै समस्याहरू आइपरेका छन् भन्दा मुख्यकुरा विचारको रिक्तता जस्तो भइरहेको छ । लोकतान्त्रिक विचारको विकास नै मुख्य कुरा हो । लोकतन्त्र कुनै प्रवचनको विषय होइन । लोकतन्त्र जीवन, व्यवहार हो ।’
पूर्वसभामुख सापकोटाले संसदको गरिमा बढाउन सबै सांसदहरूले जिम्मेवारी वहन गर्नुपर्ने बताए ।








