कवाडीमाथि प्रहरी धरपकडबारे अमरेशको आक्रोश– फोहोर बालेनको घरमा थुपारौँ

काठमाडौं । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले कवाडी व्यवसायीहरुमाथि सरकारले दमन गरेको बताएका छन् ।
उनले मधसी जनतामाथि प्रहरीले दमन गर्नुले फेरि रंगभेदको आन्दोलन शुरु हुने खतरा देखिएको बताए । उनले आन्दोलनका क्रममा प्रहरीको लाठी चार्जबाट घाइतेहरुको निःशुल्क उपचारको माग गरे ।
‘मधेसको मान्छे काठमाडौंमा देख्नै नहुने यो कस्तो हो । कस्तो रणनीति हो सरकारको । दर्जनौँ घाइते भएका छन् । उनीहरुको उपचार निःशुल्क होस्,’उनले भने, ‘साथै काठमाडौंलाई रणमैदान बनाउन खोज्नुभएको छ । सबै फोहोर बालेन साह र महानगरपालिका अगाडि थुपारौँ । त्यसको लागि हामी साथमा छौं। किनभने महानगरले नै सिकाएको हो ।’
उनले काठमाडौंलाई रणमैदान बनाउन खोजिएको हो भन्दै गृहमन्त्रीसँग प्रशन गरे । उनले काठमाडौंका कवाड व्यवसायीहरुलाई फोहोर काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको घर र महानगर अगाडि लगेर फाल्न आग्रह गर्दै सहयोग गर्ने प्रतिवद्धता जनाए ।
यस्तै प्रतिनिधि सभा सदस्य प्रभु साहले सांकेतिक बिरोध प्रदर्शनमा उत्रिएका कवाडी व्यवसायीहरुमाथि प्रहरीको लाठी चार्जबारे उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको जवाफ माग गरेका छन् ।
बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सांकेतिक प्रदर्शनका क्रममा कवाडी व्यवसायीहरुमाथि भएको प्रहारबारे सरकारको जवाफ माग गरे ।
उनले सांकेतिक बिरोध प्रदर्शन गर्ने नेपाली जनताको संवैधानिक हक भएको उल्लेख गरे ।
‘सांकेतिक बिरोध प्रदर्शन गर्ने नेपाली जनताको संवैधानिक हक हो । लोकतान्त्रिक हक हो । तर हिजो कवाड व्यवसायीहरु सांकेतिक जुलुसमा थियो । सांकेतिक आन्दोलनमाथि प्रहरीले निर्मम प्रहार गरेको छ । ५० जना जति घाइते छन्,’उनले भने, ‘एक दर्जन जति त गम्भीर घाइते भएका छन् । यसमा म गृहमन्त्रीको भनाइ चाहन्छु, सांकेतिक जुलुसमा किन लाठी प्रहार भयो । त्यसमा संलग्न प्रहरीमाथि कारबाहीको माग गर्न चाहन्छु ।’
उनले प्रहरीको लाठी चार्जका कारण मंगलवार बानेश्वरमा आन्दोलनका क्रममा ५० जना घाइते भएको र एक दर्जन बढी गम्भीर घाइते भएको बताए ।








