रङ्गशाला निर्माण सम्झौता भङ्ग गर्ने राखेपको निर्णयप्रति उपमहानगरको आपत्ति

जनकपुरधाम । धनुषाको जनकपुरधामस्थित श्री रामजानकी बहुउद्देश्यीय रङ्गशाला निर्माणका लागि जग्गा बहालसम्बन्धी सम्झौता भङ्ग गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निर्णयप्रति जनकपुरधाम उपमहानगरपालिकाले विरोध जनाएको छ ।

उपमहानगरपालिकाले आज एक विज्ञप्ति जारी गरी राखेपले जनकपुरधाम–१४ मा रङ्गशाला निर्माण गर्ने भनी गुठी संस्थानसँग गरिएको जग्गा बहाल सम्झौता एकपक्षीय ढङ्गले भङ्ग गर्ने निर्णय गरेको भन्दै विरोध जनाएको हो । रङ्गशाला निर्माणमा प्रतिबद्ध रहेकै बेला उपमहानगरपालिका र नगरप्रमुखलाई जोडेर जानाजान रङ्गशालाको जग्गा भाडा सम्झौता भङ्ग गरिएको भ्रामक प्रचारप्रति उपमहानगरपालिकाको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

‘रङ्गशाला निर्माणका लागि जनकपुरधाम उपमहानगरपालिकाको लाखौँ रकम लगानी भई प्रचारका लागि विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरिसकेका छौँ । राखेपले उपमहानगरपालिकालाई कुनै जानकारी नदिइ एकपक्षीय तरिकाले भाडा सम्झौता भङ्ग गर्नु अत्यन्त गलत छ’, विज्ञप्तिमा भनिएको छ ।

रङ्गशाला निर्माणमा जनकपुरधाम उपमहानगरपालिकाको विशेष चासो रहेकाले राखेपले गुठी संस्थानसँगको सम्झौता भङ्ग गरिए पनि सोही जग्गामा रङ्गशाला निर्माण गरिछाड्ने र त्यसका लागि तीनै तहका सरकारसँग समन्वय गरी दिगो व्यवस्थापनमा जोड दिइने पनि उपमहानगरपालिकाको प्रतिबद्धता छ ।

त्यसैगरी खेलकुद परिषद्ले आर्थिक अभावलगायत कारण देखाएर सम्झौता भङ्ग गर्ने प्रक्रिया अगाडि बढाएकामा यस कार्यमा जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख तथा अन्य कुनै पदाधिकारीको संलग्नता नरहेको उपमहानगरपालिकाले जनाएको छ ।

‘राखेपको निर्णयमा उपमहानगरका प्रमुख र अन्य कुनै पनि पदाधिकारीको संलग्नता छैन । त्यसैले उपमहानगरलाई दोषारोपण गरी चरित्र हत्या गर्न सामाजिक सञ्जालको दुरुपयोग नगर्न पनि आग्रह गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।

राखेपले विभिन्न कारण जनाई केही दिनअघि मात्रै जग्गा बहाल सम्झौता भङ्ग गर्न चाहेको भन्दै गुठी संस्थान केन्द्रीय कार्यालयलाई आवश्यक प्रक्रिया अगाडि बढाउन पत्राचार गरेको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *