नेपालमा टेबल टेनिसको ओलम्पिक छनोट हुँदै

काठमाडौँ । पेरिस ओलम्पिक २०२४ का लागि टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा हुने भएको छ ।

आगामी जुलाइदेखि फ्रान्सेली सहरमा ३३ औं गृष्मकालीन ओलम्पिक हुँदैछ । त्यसका लागि अधिकांश खेलको छनोट चरण चलिरहेको छ । टेबल टेनिसको लागि दक्षिण एसियाली छनोट प्रतियोगिता भने नेपालमा आगामी मे १३ देखि २५ सम्म हुने भएको हो । यसै छनोट प्रतियोगितामा भारत र भुटानबाहेक दक्षिण एसियाली राष्ट्र नेपाल, बङ्गलादेश, मालदिभ्स, पाकिस्तान र श्रीलंकाका खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

आयोजक अखिल नेपाल टेबल टेनिस संघका अनुसार विश्व वरीयताको शीर्ष आठमा भएकाले भारत छनोटमा सहभागी नहुने भएको हो । प्रतियोगिता संयोजक तेजेन्द्र सिंहका अनुसार प्रतियोगिता नकआउट पद्धतिमा हुनेछ ।

छनोट प्रतियोगितामा हरेक देशबाट समान दुई पुरुष र महिलाले प्रतिस्पर्धा गर्नेछन् । नेपालबाट संयोग कपाली, स्यान्टु श्रेष्ठ, नविता श्रेष्ठ र इभाना थापाले चुनौती प्रस्तुत गर्नेछन् । दक्षिण एसियाली छनोटबाट समान एक पुरुष र महिला खेलाडीले फ्रान्सको पेरिसमा हुने ओलम्पिक खेल्न पाउने संघले जनाएको छ । नेपालले पहिलोपटक टेबल टेनिसको ओलम्पिक छनोट आयोजना गर्न लागेको हो । यो छनोट प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुँदैछ । प्रतियोगिताका लागि करिब १० लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

टेबल टेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपालीले भारतको सहभागिता नहुँदा नेपाललाई फाइदा पुग्ने विश्वास व्यक्त गरे । उनका अनुसार भारत नहुन ओलम्पिकमा छनोट हुने सबैभन्दा ठूलो अवसर पनि हो । साथै प्रशिक्षक कपालीले नेपालका चारै खेलाडी दाबेदार रहेको पनि दाबी गरेका छन् । तर, उनले श्रीलंकासँग भने कडा प्रतिस्पर्धा हुने पनि बताए । हाल अस्ट्रेलियामा रहेका स्यान्टु केही दिनमा नेपाल आइपुग्ने कपालीले उल्लेख गरेका छन् । नेपालबाट अहिलेसम्मका दुई खेलाडीले मात्र छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिए ।

यसअघि तेक्वान्दोका संगीना वैद्य र दीपक विष्टले यो सफलता पाएका थिए । हालै मात्र पारा तेक्वान्दोकै पलेशा गोवर्धन पनि छनोट चरण पार गर्दै ओलम्पिक खेल्दैछिन् । यो अवसर नेपालका टेबल टेनिस खेलाडीका लागि प्राप्त भएको छ । छनोट प्रतियोगिता सञ्चालनका लागि भने भारतबाट प्राविधिक आउने भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *