सबै बालबालिकालाई खोप लगाउन स्वास्थ्यमन्त्रीको आग्रह

काठमाडौँ । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आफ्ना उमेर समूहका सबै बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउन अभिभावकसमक्ष अनुरोध गरेका छन् ।

आज एक भिडियो सन्देश जारी गर्दै दादुरा–रुबेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै सरकारले सञ्चालन गरेको खोप अभियानमा अभिभावकलाई आफ्ना सबै बालबालिकालाई खोप लगाउन अनुरोध गरेका हुन् ।

उनले सन् २०२६ मा दादुरा–रुबेला रोग निवारण गर्ने विश्वसामु प्रतिबद्धता जनाएको हुँदा उक्त खोप अभियान देशव्यापी रूपमा सञ्चालन गर्नु परेको उल्लेख गरेका छन् ।

उनले सन्देशमा गत वर्षको मङ्सिरदेखि तराई, मधेस र काठमाडौँ उपत्यकामा फैलिएको हुँदा ती जिल्ला दादुराका लागि उच्च जोखिम क्षेत्र भनी पहिचान गरिएको उल्लेख गरेका छन् ।

भारतसँग सीमा जोडिएका दादुरा–रुबेलाको अति सङ्क्रमित २१ तथा काठमाडौँ उपत्यकाका तीन गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका र ५१ जिल्लामा नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप लगाइँदै छ ।

‘दादुरा–रुबेला खोप अभियानमा दिइने यो खोप अतिरिक्त मात्रा हो । त्यसैले पहिलो यो खोप लगाएका वा नलगाएका सबैले यस अवसरमा खोप लगाउनुपर्दछ’, उनले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *