पोर्चुगलमा बिचल्लीमा परेकी सुस्मितालाई आर्थिक सहयोग

पोर्चुगल । उपचार अभावमा पोर्चुगलमा बिचल्लीमा परेकी नेपाली युवतीलाई स्वीट्जरल्याण्डबाट आर्थिक सहयोग प्रदान गरिएको छ ।

पोर्चुगलमा सडक दुर्घटनामा परी गम्भीर घाइते भई उपचार अभावमा बिचल्लीमा परेकी सिन्धुली मरिण–३ की २९ वर्षीया सुस्मिता मोक्तानलाई स्वीट्जरल्याण्डबाट आर्थिक सहयोग प्रदान गरिएको हो ।

गैरआवासीय नेपाली सङ्घ स्वीट्जरल्याण्डकी सचिव सुनिता तामाङ ब्लोनको पहल तथा सक्रियतामा दुई हजार दुई सय ४६ युरो आर्थिक सङ्कलन गरी पीडित मोक्तानलाई सहयोग प्रदान गरिएको हो । स्वीट्जरल्याण्डका नेपाली समुदायसँग सङ्कलन गरिएको उक्त सहयोग रकम मोक्तानको बैंक खातामा पठाइएको तामाङले जानकारी दिइन् ।

वैदेशिक रोजगारीको सिलसिलामा दुई वर्षअघि पोर्चुगल आएकी पीडित मोक्तान गत जनवरी १० तारिखका दिन सडक दुर्घटनामा परेकी थिइन् ।

सडक पार गर्ने क्रममा कारको ठक्करबाट गम्भीर घाइते भएकी उनको दाहिने हात भाँचिएको छ भने ‘हिप फ्याक्चर’ भई देब्रे खुट्टा नचल्ने भएको छ ।

यसअघि उपचार अभावमा मोक्तान बिचल्लीमा परेको समाचार राष्ट्रिय समाचार समितिमार्फत सम्प्रेषण भएको थियो ।

पीडित मोक्तानको औषधोपचारका लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *