शिल्पीमा नाटक ‘गंगालाल’ मञ्चन (तस्बिरहरु)

काठमाडौं । बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा सहिद गंगालाल श्रेष्ठको जीवनमा आधारित नाटक ‘गंगालाल’ मञ्चन भइरहेको छ । गंगालाल फाउन्डेसन र गार्डेन थिएटरको सहकार्यमा निर्माण भएको नाटक चे शंकरको लेखन तथा निर्देशनमा तयार भएको हो ।

माघ १९ शुक्रबारदेखि सुरु भएको यो नाटक २९ गतेसम्म मञ्चन हुनेछ । नाटकमा सहिद गंगालाललाई क्रान्तिकारी मात्र नभई एक पूर्ण मानिसको रुपमा प्रस्तुत गरिएको निर्देशक चे शंकरले बताए । विक्रम संवत १९९१ देखि १९९७ सम्म नेपाली राजनीतिक परिवेशमा घटेका घटनाक्रम र सहिद गंगालालका जीवनका घटनाहरुलाई आधार मानी नाटकको कल्पना गरिएको छ ।

नाटक गंगालालमा सहिद धर्मभक्त, सहिद शुक्रराज र सहिद दशरथका साथै टंकप्रसाद आचार्य, गणेशमान सिंह र कवि सिद्धिचरण श्रेष्ठसमेत पात्र बनेर मञ्चमा देखिने छन् । नाटक स्कुलका बिद्यार्थी, शिक्षक, राजनीतिज्ञ, लेखक र कलाकारहरुले गंगालाललाइ फरक पाटोबाट चिन्न हेर्नु पर्ने लेखक निर्देशक चे बताउछन् ।

सहिद दिवसको अवसरमा मञ्चन हुने नाटक सहिद दिवसकै दिन नाचघरमा मञ्चन गरियो । निर्भीक, शकु शाह, इनारा बानु, दीपक छल्दंग्या, सन्दिप डंगोल, प्रदिप कुमार चौधरी, निरज दाहाल, विश्वास मानन्धर, ऋषिकेश, कृमु एडेन बात्री, एलिजा तुम्बापो, रेवन राई, रोशन चन्दले नाटकमा अभिनय गरेका छन् । नाटकमा संगीत डिजाइन उत्सव बुढाथोकी, साउण्ड डिजाइन रिजन महर्जन र अभिषेक विकले गरेका छन्।

नाटकमा प्रयोग भएको कार्टुन रोशन भण्डारीले निर्माण गरेका हुन् । निर्देशक शंकरले यसअघि ‘कोही किन बरबाद होस्’, ‘म्याड म्यान्स डायरी’, ‘लुक ब्याक इन एंगर’, ‘सेम टाइम नेक्स्ट इयर’, ‘उलार’जस्ता दर्जन बढी नाटक निर्देशन गरेका थिए । माघ २९ गतेसम्म हरेक साँझ ५ बजे र शनिबार दिउँसो अतिरिक्त शो १ बजे मञ्चन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *