देश छाड्दै युवा, १० लाख हेक्टरभन्दा बढी खेतीयोग्य जमिन बाँझो

काठमाडौं । नेपालमा खेतीयोग्य जमिनमध्ये करिब १० लाख ३० हजार हेक्टर क्षेत्रफल बाँझो रहेको पाइएको छ । सरकारी तथ्यांक अनुसार नेपालको कुल खेतीयोग्य जग्गा ४१ लाख २१ हजार हेक्टरमध्ये हाल ३० लाख ९१ हजार हेक्टर क्षेत्रफलमा मात्रै खेती गरिन्छ । खेतीयोग्य भूमिमध्ये १० लाख ३० हेक्टर जमिन अझै बाँझो रहेको हो ।
कृषि क्षेत्रमा लगानीअनुसार फाइदा नहुने देखिएपछि कृषि पेसाबाट पलायन हुने अवस्था बढ्दै गएको वरिष्ठ कृषि अर्थ विज्ञ डा. महादेव प्रसाद पौडेलले बताए । उनकाअनुसार कृषिमा श्रम गर्ने युवा शक्तिको पलायन, न्यून उत्पादकत्व, कृषि उत्पादन सामग्रीको कमी, कम नाफामुखी व्यवसाय र अपेक्षित रुपमा सम्मानित पेसाका रुपमा विकसित हुन नसक्नु लगायतका कारण खेतीयोग्य जमिन बाँझो छ । ‘घाटाको व्यापार कसले गर्छ, नेपालमा कृषि क्षेत्र नाफामुखी छैन,’ उनले भने, ‘लागत अनुसार आम्दानी हुँदैन, यसले गर्दा खेतीपातीमा आकर्षण घट्दो छ र खेती बाँझो भएको हो ।’
देशभर व्यावसायिक भन्दा निर्वाहमुखी खेती भइरहेको छ । यहाँको उत्पादनले भारतको उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेर बजार पाउन समस्या हुन्छ । यसले गर्दा किसानहरू निरुत्साहित हुन्छन् । ‘भारतबाट आउने उपजसँग स्वदेशी कृषि उपज प्रतिस्पर्धा गर्न सक्दैन,’ विज्ञ डा. पौडेलले भने, ‘कतिपय स्थानमा जंगली जनवारले खेतीपाती बारम्बार नष्ट गर्दा खेती गर्नै छोडेका छन् ।’
तराई क्षेत्रको तुलनामा पहाडी क्षेत्रमा बढी जग्गा बाँझो छ । यसो हुनुमा पहाडी क्षेत्रमा तराई भन्दा कम कृषि क्षेत्रमा अवसर हुनु हो । गाउँ छाडेर सहरमा बस्ने प्रवृत्ति बढ्दै गएको कारणले पनि गाउँघरका जमिन बाँझो हुने अवस्थामा पुगेको छ । नेपालमा निर्वाहमुखी खेती गर्न छोड्ने र आधुनिक खेतीको पहुँच हुन नसक्दा खेत बाँझो भएको रैथाने एग्री प्रोडक्टस् नेपालका अध्यक्ष तथा कृषि अभियन्ता तिलक ढकालले बताए । उनले भने, ‘गाउँघरमा पशुचौपाया पाल्न छोडियो, ट्याक्टर पुगेको छैन, यसले गर्दा पनि खेत बाँझो भएको छ ।’
यो पनि : व्यापार छाडेर विदेशतिर
नेपालमा खेतीयोग्य जग्गा खण्डीकृत भएकाले व्यावसायिक रुपमा खेती गर्न नसकिएकाले खेत बाँझो भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव भोजराज सापकोटाले बताए । यसका साथै बाह्रै महिना सिँचाइ सुविधा पुग्ने ३५ प्रतिशत पनि जमिन नभएको, टेक्नोलोजीको सहयोग पु-याउन कठिन, बिउबिजनको सुविधामा समस्या लगायतका कारण पनि जमिन बाँझो रहने गरेको उनको भनाइ छ ।
मुलुकमा कुन क्षेत्रमा कस्तो प्रकारको कृषि उत्पादन हुन्छ, त्यसको अभिलेखीकरण गर्न जरुरी रहेको कृषि अभियन्ता ढकालले बताए । ‘विदेशबाट ल्याएका बिउ, यहाँका हावापानी सुहाउँदो नहुन सक्ला,’ उनले भने, ‘बाँझो खेतमा खेती विस्तारका लागि हावापानी सुहाउँदो बिउको प्रवर्द्धन गर्नुप-यो ।’
पालिकास्तरमा कृषि बजारको प्रवर्द्धन, व्यवस्थापन, प्रविधिको सुधार र रैथाने ब्रान्डिङ गरेमा ती खेतलाई सदुपयोग गर्न सकिने कृषि अभियन्ता ढकालको भनाइ छ ।









सयाै बर्ष देखि राज्य सत्ता बिदेशीकाे गुलामी हुनु बिदेशी बैक सँग हात जाेडेर ऋण उनिहरुकाे सर्तमा स्विकार्नु त्याे पैसा सबै आफु र आफ्ना चट्टे भट्टेहरु पाल्नु बिदेशी ऋणकाे भारी जनताकाे थाप्लाेमा हाल्दिनु जसरी भए पनि जनताबाट कर असल्नु सँस्थागत मार्फत जनता डस्नु कृषिमा बजेट करिब कुल बजेटकाे 2% त्याे पनि आफ्ना र पहुँच भएकोमा पुर्याउनुले सबै सम्भब नभएर छाेड्नु परेकाे हाे ।
बाँदर, दुम्सी, चरा, मुसा, जंगलि जनवार ले बर्षेनि किसान को बलि क्षति गरेको कसैले देख्दैन । रातमा दुम्सि, बदेल दिन मा बाँदर , चरा मुसाहरु, रात दिन खटेर पनि आफुले लगाएको बालि जोगाउन मुस्किल पर्छ यो मेरो आफ्नै पिडा हो । सरकारले येस्ता किसान हरुलाई क्षतिपुर्ति प्रोत्साहन नदिनु पनि प्रमुख कारण हो।