स्मृतिको त्यो साँघुरो कोठा, बन्दीगृहदेखि सङ्ग्रहालयसम्म (तस्बिरहरू)

काठमाडौं । नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता बीपी कोइरालाको ४४औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ।
विसं २०३९ सालमा आजकै दिन निधन भएका कोइरालाले नेपालमा प्रजातन्त्र/लोकतन्त्रको स्थापना र पुनः स्थापनाका लागि जेल, निर्वासन र निरन्तर संघर्षको कठिन यात्रा रोजेका थिए।
विसं १९७१ साल भदौ २४ गते जन्मिएका कोइराला विसं २०१५ सालमा भएको नेपालको प्रथम संसदीय निर्वाचनपछि २०१६ साल जेठमा दुईतिहाईको बहुमत सहित नेपालको पहिलो जन निर्वाचित प्रधानमन्त्री बने।
तर, विसं २०१७ सालमा तत्कालीन राजा महेन्द्रले कोइरालाको निर्वाचित सरकार विघटन गरी उनलाई सुन्दरीजलस्थित सेनाको बन्दी गृहमा थुने। उनले त्यही बन्दी गृहमा आफ्नो जीवनका नौ वर्ष बिताए।
बीपीसँगै तत्कालीन प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, रामनारायण मिश्र, दिवानसिंह राई, योगेन्द्रमान शेरचन, जमानसिंह गुरुङ, शिवराज पन्त, प्रेमराज आङदेम्बे र सूर्यप्रसाद उपाध्याय पनि सोही बन्दी गृहमा कैद गरिएका थिए।
कैद जीवनको कठिन परिस्थितिबीच पनि बीपी साहित्य सिर्जनामा निरन्तर सक्रिय रहे। उनले ‘दोषी चस्मा’ बाहेक अधिकांश साहित्यिक कृतिहरू उनले यही बन्दी गृहमा लेखेका थिए। भारत निर्वासनको अवधिमा समेत उनले राजनीति र साहित्यलाई समानान्तर रूपमा अघि बढाउँदै नेपाली समाजमा गहिरो प्रभाव छाडे।
बीपीको संघर्ष, विचार र योगदानको साक्षी बनेको सुन्दरीजलस्थित उक्त बन्दी गृह अहिले ‘बीपी सङ्ग्रहालय’का रूपमा संरक्षण गरिएको छ।
सङ्ग्रहालयमा उनले बन्दी जीवनमा प्रयोग गरेका सामग्री, नेपाली काँग्रेसले २०३० सालमा अपहरण गरेको विमान, सशस्त्र संघर्षका क्रममा प्रयोग गरिएको ट्यांक तथा हतियार, साथै बीपीले प्रयोग गर्ने निजी मोटरलगायतका ऐतिहासिक सामग्री सुरक्षित राखिएका छन्।
आज पनि लोकतन्त्र, इतिहास र बीपीको योगदान बुझ्न चाहनेहरूका लागि यो सङ्ग्रहालय खुल्ला विश्वबिद्यालयको रूपमा रहेको छ।
तस्बिरहरू:









