व्यापार छाडेर विदेशतिर

काठमाडौं । धनुषाका विजयकुमार महतो आइतबार साउदी अरेबिया जान भनेर काठमाडौं आइपुगे । सोमबार बिहान १० बजेको टिकट थियो उनको । गाउँमै ११ वर्ष मोटरसाइकल वर्कसप सञ्चालन गरेका उनी अन्ततः साउदी जाने निष्कर्षमा पुगेका हुन् ।

स्वदेशको आम्दानीले बिहान बेलुकाका छाकटार्न मुस्किल हुन थालेपछि उनी बाध्यताले विदेशको बाटो रोजेको दुखेसो गर्छन् । ‘नेपालमै राम्रो कमाइ हुने भए किन विदेश जान्थें र ? आफ्नो जमिनबाट हुने उब्जनीले वर्षभर खान पुग्दैन । वर्कसप गर्दासमेत केही भएन । एकातिर हातमुख जोड्नुपर्छ, छोराछोरी पढाउनुछ,’ उनी भन्छन् ।

सल्यानको बागचौर नगरपालिकाअन्तर्गतको थारमारे बजारमा राप्ती मनी ट्रान्सफर चलाइरहेका एकराज बस्नेत असोज ५ गते रोमानिया उडे । आठ वर्षदेखि मनी ट्रान्सफर चलाइरहेका बस्नेतले त्यसअघि दाङको एक मनी ट्रान्सफरमा तीन वर्ष काम गरेका थिए ।

उनकाअनुसार पछिल्लो एक वर्षदेखि व्यवसाय आधाले घटेको छ । ‘घरेलु रेमिट्यान्स राष्ट्र बैंकको नीतिका कारण ठप्प भयो, विदेश उड्नुअघि उनले भने, ‘विदेशमा भएकाले पनि आफ्नै खातामा पैसा जम्मा गर्न थाले। व्यापार दिनहुँ ओरालो लागेपछि विदेशको विकल्प देखिनँ ।’ सबैले व्यापार ठप्प छ भनेपछि अर्को व्यवसायमा हात हाल्ने आँट नगरी उनी पाँच जना साथीहरूसँगै विदेश उडेका हुन् ।

कैलालीको धनगढीमा फेन्सी पसल चलाइरहेकी दीपा महराले पनि जापान जाने प्रक्रिया अगाडि बढाएकी छन् । उनले ६ वर्षदेखि चलाइरहेका फेन्सी पसल बेचिसकिन् । कोरोना महामारी आउनुअघि उनको व्यापारमा भ्याइनभ्याइ हुन्थ्यो । उनी भन्छिन्, ‘खोइ किन हो अहिले त व्यापार घटेर टिकाउनै धौधौ भइसक्यो ।’

मंसिर २० गते राससले जनकपुर उपमहानगरभित्रका एक सय पसल बन्द भएको समाचार लेखेको थियो । समाचारमा उल्लेख गरिएको व्यवसायीको भनाइमा दैनिक उपभोग्य सामग्रीको व्यापारसमेत ३० प्रतिशतभन्दा बढीले घटेको छ । पलायन भएका/भइरहेका र व्यापार गरिरहेकाहरूको भनाइ सरकारी तथ्यांकसँग ठ्याक्कै मेल खान्छ । फलतः गत साउनमा रोजगारीका लागि बिदेसिनेमध्ये ६९ प्रतिशत दक्ष रहेकामा मङ्सिरमा यो हिस्सा ७३ प्रतिशत पुगेको छ ।

गत साउनमा ५५ हजार ५७५ जना वैदेशिक रोजगारीमा गएकामध्ये दक्ष भएर जानेको सङ्ख्या ३८ हजार ७५५ रहेकामा मङ्सिरमा गएका ७१ हजार २७६ जनामध्ये ५१ हजार ३४० जना दक्ष भएर गएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्कले गत साउनमा उच्च दक्ष श्रमिक ११८ जना, अर्धदक्ष चार हजार ४६४ र अदक्ष १२ हजार २८४ जना बिदेसिएका छन् । यस्तै मङ्सिरमा उच्च दक्ष श्रमिकको सङ्ख्या २११ जना, अर्धदक्ष छ हजार १२० जना, अदक्ष १३ हजार ५९७ जना रहेका छन् ।

त्यसो त आर्थिक वर्ष २०७७/७८ मा भन्दा आव २०७९/८० मा वैदेशिक रोजगारीमा दक्ष भएर जानेको सङ्ख्या २४ प्रतिशतले बढेको थियो । आव २०७८/७९ मा भन्दा आव २०७९/८० मा यो सङ्ख्या १९ प्रतिशत बढेको देखिन्छ । पछिल्लो तथ्याङ्कबाट दक्ष भएर वैदेशिक रोजगारीमा जाने क्रम बढेको पुष्टि हुुन्छ । आव २०७८/७९ मा छ लाख ३० हजार ९० जनाले श्रम स्वीकृति लिएर विदेश गएकामा दुई लाख ९१ हजार ८८९ जना (४७ प्रतिशत) दक्ष जनशक्ति थिए भने आव २०७७/७८ मा एक लाख ६६ हजार ६९८ जनाले श्रम स्वीकृति लिएकामा ७० हजार ४२६ (४२ प्रतिशत) जना दक्ष रहेका छन् ।

विभागका अनुसार आव २०७९/८० मा सात लाख ७१ हजार ३२७ जनाले श्रम स्वीकृति लिएर विदेश गएकामध्ये अर्धदक्ष भएर जानेको सङ्ख्या ६० हजार ५५५ जना (आठ प्रतिशत) रहेको छ भने अदक्षको सङ्ख्या दुई लाख दुई हजार ६१६ जना (२६ प्रतिशत) रहेको छ । सो अवधिमा उच्च सिपयुक्त (इन्जिनियर, चिकित्सक, व्यवस्थापक) मा काम गर्न जानेको सङ्ख्या एक हजार ४१० जना (दुई प्रतिशत) रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *