वर्षा रोकिएपछि गुल्जार बनेको फेवाताल (तस्बिरहरु)

काठमाडौं । केही दिनदेखिको अविरल वर्षा रोकिएपछि पोखराको लेकसाइड र फेवाताल किनारमा आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल ह्वात्तै बढेको छ ।
परम्परागत डुङ्गा सयरसँगै नवप्रवेशी साहसिक खेल ‘स्ट्यान्ड–अप प्याडल बोर्डिङ’ ले फेवाताललाई झनै गुलजार बनाएको छ । हप्ता दिन लामो वर्षाले थलिएको पर्यटकीय राजधानी पोखरामा बिहानैदेखि मौसम सफा भएको छ । आकाशका बाक्ला र काला बादलहरू पहाडतिर उक्लिएपछि फेवातालको दृश्य अलौकिक र कञ्चन देखिएको छ ।
रानीवन र सराङकोटको काखमा अवस्थित फेवातालको पानीमा बादलको छायाँ तैरिरहँदा यहाँ पुग्ने जोकोही मन्त्रमुग्ध हुने गरेका छन् । मौसममा सुधार आउनासाथै पोखराको प्रसिद्ध पर्यटकीय क्षेत्र लेकसाइड फुटपाथमा आन्तरिक र बाह्य पर्यटकहरूको बाक्लो चहलपहल सुरु भएको छ । फेवातालको शीतल हावामा रमाउँदै वृद्धवृद्धादेखि बालबालिकासम्म हिँडडुल गरिरहेका छन् ।
कोही परिवारसहित रमाइलो गर्दैछन् भने कोही कञ्चन ताललाई पृष्ठभूमि बनाएर सामूहिक तस्बिर र सेल्फी लिन व्यस्त छन् । ताल किनारका व्यवसायीहरू पनि पर्यटकको यो आगमनले हर्षित छन् । लेकसाइडको पक्की फुटपाथको छेउमा ठुला बहुरङ्गी छाताहरू मुनि प्लास्टिकका मेचहरू राखेर पर्यटकहरू स्थानीय खाना, चिया र प्रसिद्ध पोखरेली चटपटेको स्वाद लिइरहेका छन् ।
वरपर परेवाहरू स्वतन्त्र रूपमा चारो टिपिरहेको दृश्यले शान्तिको अनुपम झल्को दिन्छ । कतिपय पर्यटकहरू ताल किनारमा बसेर कफी खाँदै यो मनमोहक वातावरणको आनन्द लिइरहेका छन् ।
तस्बिरहरू:









