‘बालेन प्रहरी मुर्दावाद, नेपाल प्रहरी जिन्दाबाद’ भन्दै प्रदर्शनकारीले प्रहरीलाई दिए फूल (तस्बिरहरू)

काठमाडौँ । सुकुम्वासीहरूको उचित व्यवस्थापन र सुरक्षाको माग गर्दै आइतबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ ।

नेपाल महिला एकता समाज, नेपाल बसोबास र जेनजी मुभमेन्ट अलायन्स लगायतका संस्थाहरूको अगुवाइमा उक्त प्रदर्शन भएको हो ।

विपद्का कारण विस्थापित भएका सुकुम्वासीहरूलाई होल्डिङ सेन्टरमा लैजाँदा उनीहरूको अवस्था झन् दयनीय बनेको र सरकारले उनीहरूलाई थप जोखिममा धकेलेको प्रदर्शनकारीहरूको आरोप छ ।

उद्धार तथा सहयोगमा खटिएका व्यक्तिहरूमाथि प्रहरीले धरपकड, कुटपिट र नियन्त्रणमा लिएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन् । प्रदर्शनका क्रममा सहभागीहरूले ‘जनताले सरकार बनाउँछन्, सरकारले जनता होइन’, ‘हरेक दमनको विरुद्धमा हाम्रो संघर्ष जारी रहन्छ’ जस्ता नाराहरू लगाएका थिए ।

उनीहरूले ‘ओजश्वी थापा को हुन् र प्रहरी उनीसामु किन लाचार छ ?’ भन्ने प्रश्न अंकित प्लेकार्ड समेत प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीहरूले सुकुम्वासी समस्याको दीर्घकालीन समाधान गर्न र विपद्को समयमा उनीहरूको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् । साथै, प्रहरी प्रशासनको व्यवहार निष्पक्ष हुनुपर्ने र हिरासतमा लिइएका व्यक्तिहरूलाई तत्काल रिहा गरिनुपर्ने उनीहरूको अडान छ ।

काठमाडौँको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा रहेका सुकुम्वासी बसेको स्थानमा शुक्रवार राति बाढी पसेपछि उनीहरूको बिचल्ली छ । बस्ती भत्काउने तर तीन महिनासम्म पनि व्यवस्थापन गर्न नसकेको भन्दै विरोध हुँदै आएको छ ।

तस्बिरहरुः अनुप प्रधान–न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − two =