शिल्पीमा युलेन्सका विद्यार्थीको नाट्य प्रस्तुति (तस्बिरहरु)

काठमाडौं । युलेन्स स्कुलका कक्षा ८ का विद्यार्थीहरूले शुक्रबार (असार २६ गते) शिल्पी थिएटर, बत्तीसपुतलीमा दुई समसामयिक बाल नाटक ‘बच्चा म बच्चा’ र ‘समिरा नाचेको त्यो दिन’ मञ्चन गरेका छन्।
रंगकर्मी टंक चौलागाईद्वारा लिखित तथा निर्देशित दुवै नाटकले बालबालिकाको मनोविज्ञान, उनीहरूको रुचि, प्रतिभा र उनीहरूमाथि परिवार, विद्यालय तथा समाजले पार्ने प्रभावलाई संवेदनशील ढंगले प्रस्तुत गरेका छन्।
‘बच्चा म बच्चा’ ले आफ्ना अधुरा सपना छोराछोरीमार्फत पूरा गराउने अभिभावकको प्रवृत्तिमाथि प्रश्न उठाउँदै बालबालिकाको आफ्नै इच्छा, चाहना र पहिचानलाई सम्मान गर्नुपर्ने सन्देश दिएको छ। प्रतिस्पर्धाको नाममा बालमनमाथि अनावश्यक दबाब सिर्जना गर्दा त्यसले उनीहरूको मानसिक विकासमा पार्ने असरलाई नाटकले मार्मिक रूपमा चित्रण गरेको छ।
त्यसैगरी ‘समिरा नाचेको त्यो दिन’ ले प्रतिभाशाली बालिकाको जीवनमा परिवार, शिक्षक र साथीभाइको व्यवहारले पार्ने प्रभावलाई केन्द्रमा राखेको छ। अनुकूल वातावरण पाए बालबालिकाको क्षमता कसरी प्रस्फुटन हुन्छ र प्रतिकूल वातावरणले उनीहरूको आत्मविश्वास तथा सिर्जनशीलतालाई कसरी दबाउन सक्छ भन्ने विषयलाई नाटकले प्रभावशाली ढंगले प्रस्तुत गरेको छ।
विद्यार्थीहरूको अभिनयमार्फत प्रस्तुत यी दुवै नाटकले बालबालिकाको सर्वाङ्गीण विकासका लागि अभिभावक, शिक्षक र समाजको सकारात्मक भूमिकाको आवश्यकता औँल्याउँदै दर्शकलाई आत्मसमीक्षा गर्न प्रेरित गरेका छन्।
तस्बिरहरुः–









