अपहरणदेखि सङ्ग्रहालयसम्म : ‘नाइन एन एबीबी’ को ५३ वर्ष लामो अद्भुत यात्रा

'आजभन्दा ५३ वर्षअघि बिहान करिब ८ बजेर ४० मिनेटमा नेपालमा पहिलो पटक एउटा विमान अपहरणमा परेको थियो'

काठमाडौँ । नेपालको हवाई उड्डयन इतिहासमा केही यस्ता घटनाहरू छन्, जसले समय बिते पनि आफ्नो महत्त्व गुमाएका छैनन्। विक्रम संवत् २०३० जेठ २८ गते (अर्थात आजकै दिन) घटेको एउटा घटना, जसले नेपाली आकाशलाई मात्र होइन, देशको राजनीतिक इतिहासलाई समेत नयाँ मोड दिएको थियो। आजभन्दा ५३ वर्षअघि, आइतबारको बिहान करिब ८ बजेर ४० मिनेटमा नेपालमा पहिलो पटक एउटा विमान अपहरणमा परेको थियो। त्यो विमान थियो, ‘नाइन एन एबीबी’ कलसाइन भएको तत्कालिन शाही नेपाल वायुसेवा निगम (शानेवानी) को ट्विनअटर।

जब आकाशमै बदलियो उडानको गन्तव्य

विराटनगरबाट काठमाडौँका लागि उडेको उक्त विमानमा नेपाल राष्ट्र बैङ्कको भारु ३० लाख नगदसहित १४ जना यात्रु सवार थिए। विमानले धावनमार्ग छाडेको करिब पाँच मिनेटपछि अप्रत्याशित घटना भयो। तत्कालीन निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध सशस्त्र सङ्घर्षमा रहेको नेपाली काँग्रेसका कार्यकर्ताले विमान नियन्त्रणमा लिए।

बीपी कोइरालाको निर्देशनमा सञ्चालन गरिएको उक्त योजनाअन्तर्गत अपहरणकारीहरूले विमानलाई भारतको फारबिसगञ्जस्थित एउटा घाँसे मैदानमा अवतरण गराए। त्यहाँ विमानमा रहेको राष्ट्र बैङ्कको भारु ३० लाख झिकियो र करिब आधा घण्टापछि विमानलाई पुनः विराटनगर फर्काइयो। चालक दलका सदस्यसहित सबै यात्रु सकुशल थिए।

अपहरण हुने बेलाको विमान, तस्वीर:- नेवानी

यो साहसिक योजनाको प्रमुख योजनाकार गिरिजाप्रसाद कोइराला थिए भने सुशील कोइरालाले सहयोगी भूमिका निर्वाह गरेका थिए। अपहरणमा नेपाल विद्यार्थी सङ्घका तत्कालीन नेता दुर्गा सुवेदी, वसन्त भट्टराई र नगेन्द्र ढुङ्गेल संलग्न थिए। नेतृत्व भने दुर्गा सुवेदीले गरेका थिए।

त्यस बेला विमान क्याप्टेन आर.के. मानन्धरले उडाइरहेका थिए भने फ्लाइट अफिसर श्रीदेव वैद्य उनका सहचालक थिए। विमानमा एक परिचारिका र एक अन्य कर्मचारीसहित चालक दलका चार सदस्य थिए। अपहरणकारीसहित १४ यात्रु बोकेको विमानमा कुल १८ जना सवार थिए।

नेपाल भित्रिएको दुई वर्षमै इतिहासको साक्षी

क्यानडाली कम्पनी डे ह्याभिल्यान्डले निर्माण गरेको DHC-6 ट्विनअटर मोडेलको उक्त विमान २०२८ साल असार ३ गते नेपाल भित्रिएको थियो। त्यसपछि यसले ‘नाइन एन एबीबी’ कलसाइन प्राप्त गर्‍यो र नियमित उडान सुरु गर्‍यो। तर नेपाल आएको दुई वर्ष नबित्दै यो विमान देशको पहिलो हवाई अपहरणको साक्षी बन्यो।

विमानको पहिलो दुर्घटना : जुम्लामा जोगियो जीवन

अपहरणको घटनापछि पनि विमानले लामो समय सेवा दिइरह्यो। तर २०४९ साल असार २१ गते आइतबार विमानले पहिलो दुर्घटना भोग्यो।

जुम्लाबाट सुर्खेतका लागि उड्ने क्रममा धावनमार्ग छाड्ने बित्तिकै विमानस्थलको तार जाली बारमा पछाडीको चक्का अड्किएर विमान दुर्घटनामा परेको थियो। उडानको सुरुवाती चरणमै दायाँ इन्जिनले अपेक्षित शक्ति उत्पादन गर्न नसक्दा विमानले पर्याप्त उचाइ लिन सकेन। यद्यपि, उक्त दुर्घटनामा विमानमा सामान्य क्षति मात्र भयो र कुनै मानवीय क्षति भएन।

दोस्रो दुर्घटना : अन्त्यमा बदलियो इतिहास

पहिलो दुर्घटनाको २१ वर्षपछि ‘नाइन एन एबीबी’ ले अर्को, तर अन्तिम दुर्घटना भोग्यो।

२०७० फागुन ४ गते आइतबार नेपाल वायुसेवा निगमको उडान तालिका अनुसार विमान काठमाडौँ–पोखरा हुँदै जुम्लाका लागि उडेको थियो। पोखरामा इन्धन भरेपछि जुम्लातर्फ अघि बढेको विमानले खराब मौसमका कारण आफ्नो रुट परिवर्तन गर्‍यो र भैरहवा टावरसँग सम्पर्क राख्न थाल्यो।

तर दिउँसो १ बजेर १३ मिनेटपछि विमानसँगको सम्पर्क अचानक टुट्यो। त्यसपछि सुरु भयो खोजी अभियान। पोखराबाट फिस्टेल एयर र काठमाडौँबाट नेपाली सेनाका हेलिकप्टरहरू परिचालन गरिए। स्थल मार्गबाट समेत खोजी गरियो। तर खराब मौसमले उद्धार तथा खोजी अभियानलाई कठिन बनायो।

मसिनेलेकमा दुर्घटनाग्रस्त विमान, तस्वीर:- नेपाली सेना

भोलिपल्ट फागुन ५ गते अर्घाखाँचीको मसिने लेक क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरले विमान दुर्घटनाग्रस्त अवस्थामा फेला पार्‍यो। दुर्घटनाका बेला विमान क्याप्टेन शङ्कर श्रेष्ठले उडाइरहेका थिए। चालक दलका तीन सदस्य र १५ यात्रुसहित विमानमा १८ जना थिए। दुर्घटनामा सबै १८ जनाको ज्यान गयो।

दुर्घटनापछि विमानको ‘ब्ल्याक बक्स’ तथा केही बाँकी रहेका पार्टपुर्जा मसिने लेकको जङ्गलबाट सङ्कलन गरी नेपालगन्ज विमानस्थल ल्याइयो।

भग्नावशेषबाट सङ्ग्रहालयसम्म

विमानको कथा त्यतिमै सकिएन।

सुन्दरीजलस्थित बीपी कोइरालासहितका प्रजातान्त्रिक नेताहरू बन्दी बनाइएको स्थान प्रजातन्त्र पुनः स्थापनापछि बीपी सङ्ग्रहालयमा रूपान्तरण गरिएको थियो। सङ्ग्रहालयका संस्थापक अध्यक्ष परशुराम पोखरेलले बीपी कोइरालाको राजनीतिक यात्रासँग सम्बन्धित सामग्रीहरू सङ्कलन गर्ने क्रममा ‘नाइन एन एबीबी’ लाई पनि सङ्ग्रहालयमा राख्ने योजना बनाए।

तर यो काम सहज थिएन। दुर्घटनाग्रस्त विमानका बाँकी पार्टपुर्जा प्राप्त गर्न बिमा कम्पनीलाई रकम तिर्नुपर्ने थियो। विमानको कलसाइन प्रयोग गर्नसमेत शुल्क तिर्नुपर्ने अवस्था आयो। कतिपय चरणमा नेपाल वायुसेवा निगमबाट समेत अवरोधहरू आए।

पोखरेलका अनुसार सुरुवातमा विमानको बाँकी संरचना र ‘नाइन एन एबीबी’ कलसाइन प्राप्त गर्न १० हजार अमेरिकी डलर तिर्नुपर्ने भनिएको थियो। सङ्ग्रहालयका लागि त्यो रकम जुटाउन सम्भव थिएन।

पछि क्यानडास्थित बिमा कम्पनी म्याक्लरेन्सलाई विमानको ऐतिहासिक महत्वबारे विस्तृत जानकारी पठाइयो। पटक–पटकको संवादपछि कम्पनी सहमत भयो। अन्ततः १० हजार डलर मागिएको विमानको पार्टपुर्जा र कलसाइन बीपी सङ्ग्रहालयलाई प्रतीकात्मक रूपमा मात्र १ अमेरिकी डलरमा हस्तान्तरण गरियो।

त्यसपछि विमानका बाकी रहेका पार्टपुर्जा सुन्दरीजल ल्याइए। एभिएसन इन्जिनियरहरूको प्रत्यक्ष निगरानीमा करिब ६ महिनासम्म पुनः संयोजनको काम भयो। अन्ततः ‘नाइन एन एबीबी’ ले फेरि विमानको स्वरूप पायो—तर यस पटक उड्नका लागि होइन, इतिहास बोल्नका लागि।

वीपी संग्रहालय राखिएको विमान, तस्वीर:- सरोज बस्नेत/मकालुखबर

इतिहास बोकेको एउटा विमान

आज बीपी सङ्ग्रहालयमा ‘नाइन एन एबीबी’ मौन रूपमा उभिएको छ। त्यही परिसरमा नेपाली काँग्रेसको सशस्त्र सङ्घर्षका क्रममा प्रयोग गरिएका तोप, ट्याङ्क, बन्दुकहरू, बीपी कोइरालाले प्रयोग गरेको जिप तथा बन्दी जीवनसँग सम्बन्धित विभिन्न सामग्री पनि सुरक्षित छन्।

‘नाइन एन एबीबी’ को इतिहासमा एउटा रोचक संयोग पनि छ। यो विमान अपहरणमा परेको दिन आइतबार थियो। पहिलो दुर्घटना भएको दिन पनि आइतबार नै थियो। र अन्ततः पूर्ण रूपमा ध्वस्त भएको दिन पनि आइतबार नै पर्‍यो। सायद त्यसैले नेपालको पहिलो अपहृत विमानको इतिहासमा ‘आइतबार’ एउटा अशुभ दिनका रूपमा दर्ज भएको छ। तर त्यही विमानले अपहरण, दुर्घटना र विनाश पार गर्दै अन्ततः सङ्ग्रहालयमा पुगेर इतिहासको जीवित साक्षी बन्ने दुर्लभ यात्रा पूरा गरेको छ।

वीपी संग्रहालय राखिएको विमान, तस्वीर:- सरोज बस्नेत/मकालुखबर

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + sixteen =