प्रेमका अनेक आयाम बोकेको ‘जोलिन’ कौसी थिएटरमा (तस्बिरहरू)

काठमाडौं। कथा घेराको कौसी थिएटर, टेकुमा साउन ८ गतेदेखि नाटक ‘जोलिन’ को मञ्चन सुरु भएको छ। फेड आउट पिक्चर्सको प्रस्तुति तथा क्राउडफन्डिङको सहयोगमा तयार भएको यो नाटकले प्रेमका विविध आयामलाई मनोवैज्ञानिक दृष्टिकोणबाट प्रस्तुत गर्ने प्रयास गरेको छ।
मेलोड्रामा, त्रासदी, सङ्गीतमय नाटक, रहस्य, लोककथा र परिकथाका तत्त्वलाई संयोजन गरी निर्माण गरिएको ‘जोलिन’ले प्रेमले कसरी एकातिर आश्रय र अर्कोतिर कैदको रूप लिन सक्छ भन्ने विषयलाई केन्द्रमा राखेको छ।
नाटकमा एउटै युवकले दुई युवतीसँग समानान्तर रूपमा प्रेम गर्दा उत्पन्न हुने मनोवैज्ञानिक द्वन्द्व, चाहना, स्वामित्व, ईष्र्या र हिंसाका आयामलाई चित्रण गरिएको छ।
ऋषभ र बुद्धि पोख्रेलको लेखन तथा ऋषभकै निर्देशनमा तयार भएको नाटकको कथा ‘राष्ट्र प्रहरी माया विभाग’ नामक काल्पनिक प्रहरी इकाइको अनुसन्धान शैलीमा अघि बढ्छ। प्रेमसँग सम्बन्धित अपराधको अनुसन्धान गर्ने उक्त विभागले गीत, सङ्गीत र व्यङ्ग्यात्मक प्रस्तुतिमार्फत पात्रहरूको मनोस्थिति र उनीहरूबीचको सम्बन्धलाई उजागर गर्ने प्रयास गर्छ।
नाटकमा मिरा खड्का, अनोज पाण्डे, निशान खत्री, जीवन गौतम, ऋषिकेश बस्याल, निशान्त महत र प्रकृति कार्कीको अभिनय रहेको छ।
साउन २९ गतेसम्म मञ्चन हुने ‘जोलिन’ मङ्गलबार बाहेक हरेक दिन साँझ ५ः१५ बजे प्रदर्शन हुनेछ। शनिबार भने दिउँसो १ बजे अतिरिक्त शोसमेत मञ्चन हुने छ।
तस्बिरहरूः–









