माइतीघरमा भूमिहीनको आवाजः ‘गरिबलाई होइन, गरिबीलाई भगाऔँ’ (तस्बिरहरू)

काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको ’नागरिक बचाउ महाअभियान’ ले बिहीबार भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको अधिकार सुनिश्चित गर्न महाअभियानका कार्यकर्ता तथा विस्थापित भूमिहीन सुकुम्वासीहरूले माइतीघरमा प्रदर्शन गरेका छन्।

उनीहरूले ‘गरिबलाई होइन, गरिबीलाई भगाऔँ’, ‘भूमिहीन सुकुम्वासीलाई पनि यो देशमा बाँच्न देऊ’ र ‘बाँच्न पाऊँ सरकार, अब त अति भयो’ लगायतका नारासहित ब्यानर प्रदर्शन गर्दै सरकारले उनीहरूको समस्या तत्काल समाधान गर्नुपर्ने माग राखेका छन्।

उनीहरूले वर्षौंदेखि बसोबास गर्दै आएका नागरिकलाई कानुनबमोजिम जग्गाधनी प्रमाण–पूर्जा उपलब्ध गराउन, भूमिहीन तथा अव्यवस्थित बसोबासीको शीघ्र पहिचान र प्रमाणीकरण गरी स्थायी व्यवस्थापन गर्न तथा वैकल्पिक व्यवस्था नगरी जबर्जस्ती विस्थापन नगर्न सरकारसँग आग्रह गरेका छन्।

प्रदर्शनमा सहभागीहरूले आवास, भूमि र सम्मानपूर्वक बाँच्न पाउने अधिकार संविधानले सुनिश्चित गरेको मौलिक अधिकार भएकाले त्यसको प्रभावकारी कार्यान्वयन गर्न सरकार गम्भीर हुनुपर्ने बताएका छन्।

प्रदर्शनकारीहरूले सरकारको ध्यानाकर्षण गराउन आजै जिल्ला प्रशासन कार्यालयमा विज्ञप्ति समेत बुझाउने तयारी गरेका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 7 =