गृह प्रशासनले विदेश गएर पेट पाल्न चाहने युवाको हत्या गर्याे : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्ययक्ष रवि लामिछानेले गृह प्रशासनले विदेश गएर पेट पाल्न चाहने युवाको हत्या गरेको बताएका छन् ।
सोमबार उनले राज्य व्यवस्था समितिको बैठकमा बालकुमारी घटनाबारे डाकिएका गृहमन्त्री श्रेष्ठलाई गृह प्रशासनले नै विदेश गएर पेट पाल्न खोज्ने युवाको हत्या गरेको बताएका हुन् ।
उनले भने ‘गृहमन्त्रीज्यू तपाईं नेतृत्वको गृह प्रशासनले विदेशमा गएर पेट पाल्छु भनेको युवाको हत्या गर्यो, यो कुराको हेक्का राख्नुस् । प्रशासनले अब गम्भीरतापूर्वक तपाईंलाई लिँदैन ।’
प्रहरीले गृहमन्त्रीको भनाइ मान्न छाडेको भन्दै उनले यो सिङ्गो कनेक्सनमा गृहमन्त्री श्रेष्ठ प्रभावित बनेको बताए ।
भने ‘तपाईंको स्पिरिटभित्र प्रहरी रहेन । गृहमन्त्री त्यो नारायणकाजी रहेन । पदको लोभमा बसेको नारायणकाजी रह्यो ।’
उनले गोली कहिले चलेको कुरामा अहिले पनि क्लियर हुन नसकेको भन्दै थपे, ‘समुद्रमा हराएको टाइटानिक भेटिएला तपाईंहरुमा नैतिकता भेटिँदैन।’
उनले गृहमन्त्री श्रेष्ठलाई तपाईं एउटा पदका लागि बस्ने मान्छे जस्तो नलागेको भए पनि दिनदहाडै मानिसहरूको मृत्यु भइरहेको बेलामा चुनाव हारेकै बेलामा राष्ट्रिय सभामा आइपुग्नु र गृहमन्त्री बन्नु राम्रो नभएको संकेत गरे ।
उनले मान्छेको छाती घुँडाभन्दा तल हो ? भन्दै प्रश्न गरे । उनले आदेशमा त घुँडाभन्दा तल चलाउनु भन्ने देखिएको बताए ।
सानो दर्जाको कर्मचारीलाई बलली चढाउने काम भएको भन्दै सांसद रविले गृहमन्त्रीको स्पिरिटमा प्रहरी नरहेको पनि दाबी गरे ।








