ट्रेकिङको नयाँ गन्तव्य- एभरेस्ट दूधकोशी सांस्कृतिक पदमार्ग (तस्बिरहरु)

सोलु । पछिल्लो समय नेपालमा विदेशी पर्यटकको साथसाथै स्वदेशी पर्यटकहरूको चहलपहलले नेपाली पर्यटन क्षेत्रमा केही उत्साह जागेको अवस्था छ । यो वर्ष मात्रै नेपाल पर्यटन बोर्डका अनुसार सन २०२३ को नौ महिना ( जनवरी देखि सेप्टेम्बर ) सम्म ६ लाख ८५ हजारको हाराहारीमा विदेशी पर्यटक भित्रिएका छन् ।

पर्वतीय सिजनमा पर्यटकहरूको सङ्ख्या वृद्धि हुने पर्यटन व्यवसायीहरू बताउँछन् । ट्रेकिङमा पनि विशेष गरी आन्तरिक पर्यटकहरूको सङ्ख्या पनि उत्साहजनक नै छ । हिमाल आरोहणसँगै नजिकबाट हिमाल हेर्नको लागि नेपालमा पदमार्गहरू थुप्रै छन् ।

यस्तै ट्रेकिङ गर्न मन पराउनेहरूको लागि सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिकामा नयाँ पदमार्ग शुभारम्भ भएको छ । ‘ एभरेस्ट दुधकोशी सांस्कृतिक पदमार्ग ’ नाम दिइएको पदमार्गमा तल्लो सोलुखुम्बु क्षेत्रबाट सुरु भई विश्वकै सर्वोच्च शिखर सगरमाथासँगै २८ बढी हिमालहरू हेर्दै स्थानीय शेर्पा, खालिङ राईहरूको संस्कृतिमा रमाउन पाइने छ । माप्य दुधकोशीको सहयोगमा दक्ष गाइड, नक्सा विज्ञ , जिपिएस एक्सपर्ट लगायत टिमको निरन्तर अध्ययन र मिहिनेत पछि यो नयाँ पदमार्ग शुभारम्भ गरिएको छ ।

यो पदमार्ग सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरी बजारबाट ७ किलोमिटर दूरीमा माप्य दुधकोशी गाउँपालिकाको वडा न ५ मा पर्ने सिलिगुडी डाँडा ( ३०२० ) मिटरबाट सुरु हुन्छ । काठमाडौँबाट हिँडेको पहिलो दिनमै सल्लेरी पुगेर त्यहाँबाट जिपमा सिलिगुडी डाँडा पुग्न सकिन्छ । सुलिगुडी डाँडामा गाउपालिकाको सहयोगमा गोठ स्टे तयार पारिएको छ । सल्लेरी – लुक्ला सडकखण्ड अन्तर्गत पर्ने सुलिगुडी डाँडामा गोठ स्टे लगायत अन्य होटलहरु पनि छ । सुलिगुडी डाँडा मा यात्रा को थकाइ मेटाउँदै पहिलो दिनको सूर्योदय सँगै सगरमाथा सँगसँगै २८ अन्य हिमालहरू देख्न पाइन्छ ।

यहि डाँडाबाट एभरेस्ट दुधकोशी सांस्कृतिक पदमार्ग सुरु हुन्छ । सुलिगुडी डाँडाबाट रातनाङ्गे डाँडा हुँदै हिम शृङ्खलाहरूको मजा लिँदै गुराँसै गुराँसको जङ्गल हुँदै करिब ४ देखि ५ घण्टाको ट्रेकिङ पछि घुम्ने मेरा गाउँ पुग्छौ । घुम्ने मेरा शेर्पा समुदाय बसोबास गर्ने गाउँ हो । सांस्कृतिक पदमार्ग अन्तर्गत पर्ने घुम्ने मेरामा च्याङमितेङ गुम्बा पनि छ । त्यहाँ शाकाहारी खाना खाएर गुम्बामै स्थानीय शेर्पाहरूको नाच र संस्कृतिमा रमाउन पाइन्छ ।

घुम्ने मेरामा केही समय बिताएपछि पहिलो दिनको गन्तव्य कुदाम मिड क्याम्प तर्फ लाग्छौ । घुम्ने मेराबाट उकालो लाग्दै करिब २ घण्टाको हिँडाइ पछि हामी कुदाम मिड क्याम्प पुग्छौ । कुदाम मिड क्याम्प खुला चौर भएकाले अहिले तत्काललाई टेन्टहरू गाउँपालिकाले व्यवस्था गर्ने र गोठ स्टे बनाउनको लागि गाउँपालिकाले योजना अगाडि बढाएको छ । पहिलो रात कुदाम मिड क्याम्पमा बिताएर दोस्रो दिन बिहानै सूर्योदय हेर्न मिड क्याम्प देखि १ घण्टा उकालो चढाइ पछि कुदाम हाइ क्याम्प (३२०० मिटर ) ।

एभरेस्ट दुधकोशी सांस्कृतिक पदमार्गमा पर्ने सबैभन्दा उचाइमा पुग्ने कुदामबाट २८ वटा भन्दा बढी हिमालहरू नजिकैबाट अवलोकन गर्न सकिन्छ । कुदामबाट नुम्बुरचुलि (६९५९) , कार्यलुङ (६५११) , बिगफेरा (६६००) , चोबुजे (६६८५) , लोबुचे (६९९५) , चुम्बु (६८५९) , काङ्तेका (६७८३) , मेरापिक (६४७६) , चाम्लाङ (७३१९) , लगायत अन्य २८ भन्दा बढी हिमालहरू देख्न पाइन्छ ।

कुदाम हाइ क्याम्पमा दृश्य अवलोकन गरिसकेपछि फेरि मिड क्याम्पमा झरेर खाना खाएर हामी , दोस्रो दिनको गन्तव्य योतेल्मे तर्फ लाग्छौ । कुदाम मिड क्याम्पबाट ओरालोबाटो हुँदै करिब २ देखि ३ घण्टाको समयमा योतेल्मे पुग्न सकिन्छ । योतेल्मेमा गाउँपालिकाले पर्यटक लाइ खान र बस्न मिल्ने गरी गोठ स्टे निर्माण गरेको छ । अब पदमार्ग पूर्ण रूपमा चल्न लागेपछि त्यो गोठ स्टेमा स्थानीयलाई नै ठेक्का दिएर चलाउने योजना रहेको गाउँपालिका उपाध्यक्ष गौरव राईले जानकारी दिए । योतेल्मेमा दोस्रो रातको बास सँगै नुम्बुरचुली र कार्यलुङको सूर्यास्तको निकै मनमोहक दृश्य अवलोकन गर्न पाइन्छ ।

तेस्रो दिन बिहान सूर्योदय सँगै उठ्दा पहेँला सुन जस्तै टल्केका हिमालहरू आँखै अगाडि देख्न पाउँदा मन आनन्दित हुन्छ । योतेल्मेबाट करिब ३ घण्टाको हिँडाइ पश्चात खालिङ राईहरूको बसोबास गर्ने गाउँ ठुल ढुङ्गा पुगिन्छ । बिहानीको खाना हामी राई संस्कृतिमा रमाउँदै भूमे नाच लगायत अन्य खालिङ राई सँग जोडिएका नाचहरू हेर्न पाइन्छ ।

‘एभरेस्ट दुधकोशी सांस्कृतिक पदमार्ग ’ अन्तर्गतको तिन दिने ट्रेकिङ ठुल ढुङ्गा, जुन सल्लेरी – लुक्ला सडकखण्डको मुख्य गरी राई समुदाय लगायत अन्य समुदाय बसोबास गर्ने ठुल ढुङ्गामा आएर सकिन्छ । यससँगै दिन लम्ब्याउन चाहनेको लागि , यही पदमार्गबाट सगरमाथा आधारशिविर र मेरापिकको पदमार्गमा जोडिन सक्छौँ ।

एभरेस्ट दुधकोशी सांस्कृतिक पदमार्गलाई नमुना गन्तव्य बनाएर लैजाने तयारी सँगै बहु जातीय बसोबास रहेको गाउँपालिकामा सांस्कृतिक कुराहरूमा अध्ययन गर्न, घुम्न को लागि उपयुक्त रहेको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई बताउँछन् । पदमार्ग सँगै सल्लेरी – लुक्ला सडक खण्डमै रक क्लाइम्बिङको पनि उद्घाटन गरिएको छ । माप्य दुधकोशी र ट्रेकिङ एजेन्सीज एसोसिएसन नेपालको सहकार्य र माउन्टेन गाइड एसोसिएसन नेपालको प्राविधिक सहयोगमा उक्त रक क्लाइम्बिङ सेन्टर निर्माण गरिएको हो । उक्त भिर १२० मिटर अग्लो रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *