महानगरभित्र सञ्चालित अनधिकृत औषधि पसललाई २९ गतेसम्मको अल्टिमेटम

काठमाडौं । महानगरपालिकाले कानुनअनुसार औषधि पसल सञ्चालन गर्न निर्देशन दिएको छ । मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत् मंसिर २९ गतेभित्र नियमानुसार दर्ता, चिकित्सकको प्रेस्किप्सनबाट मात्रै औषधिको कारोबार गर्न निर्देशन दिएका हुन् ।

‘हामी काठमाडौं महानगरपालिकामा बसोबास गर्ने आम मानिसको स्वास्थ्यको लागि निकै संवेदनशील छौं । यस महानगरपालिकाले नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन विभिन्न सुधारात्मक कार्यहरू गर्दै आइरहेको तपाईंहरूलाई थाहा नै छ । तर आम मानिसको जनस्वास्थ्यमा लापरबाही भएको पाइएको छ,’ मेयर शाहले भनेका छन्, ‘काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका औषधि पसलहरूमा अनधिकृत व्यक्तिहरूबाट औषधि बिक्री वितरण भइरहेको, औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिसमेत बिक्री वितरण भइरहेको, चिकित्सकको प्रेस्किप्सनबिना औषधि बिक्री वितरण भइरहेको महानगरमा गुनासो आइरहेको छ ।’

मेयर शाहले नार्कोटिक औषधिहरूको प्रचलित ऐन कानुन अनुसार बिक्री वितरण नगरिएको र उक्त औषधिहरूको आवश्यक अभिलेख नराख्ने गरिएको, औषधि पसल व्यवस्थापन नगरिएको, काठमाडौं महानगरपालिका स्वास्थ्य विभागबाट इजाजत पत्र नलिई सञ्चालनमा रहेको विभिन्न गुनासो आएको बताएका छन् । ‘काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागबाट अनुगमन गर्दासमेत उल्लेख भए अनुसार भएको पाइएको छ यसमा हामी गम्भीर छौं । त्यसैले हामीले यही महिनाको २९ गतेभित्र माथि उल्लेखित सम्पूर्ण कार्यहरू कानुन बमोजिम गर्न यसै सूचनाद्वारा जानकारी गराउन चाहन्छौं,’ उनले भनेका छन् ।

मंसिर २९ भित्र काठमाडौँ महानगरपालिका क्षेत्र भित्र सञ्चालित औषधि पसलहरूले सुधारात्मक कार्यहरू गरेको नपाइएमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (क) ९ तथा काठमाडौं महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा २६ (घ) अनुसार स्वास्थ्य विभागबाट अनुगमन भई काठमाडौं महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा ५३ अनुसार औषधि पसल बन्द गर्नेसम्मको कारबाही गरिने पनि मेयर शाहले बताएका छन् ।

प्रतिक्रिया

One thought on “महानगरभित्र सञ्चालित अनधिकृत औषधि पसललाई २९ गतेसम्मको अल्टिमेटम

Leave a Reply

Your email address will not be published. Required fields are marked *