‘वामपन्थी दलहरू राजनीतिक विकृतिबाट मुक्त छैनन्, विगतको आत्मसमीक्षा आवश्यक छ’

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले मुलुकको राजनीतिमा देखिएका विकृति विसंगतिबाट वामपन्थी दलहरू समेत अछुतो रहन नसकेको बताएका छन् ।

शुक्रवार पुष्पलाल स्मृति दिवसको सन्दर्भमा काठमाडौंमा आयोजित ‘वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थी दलहरुको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् । वामपन्थी शक्तिहरूले आफ्नै विगतको भूमिका, नीति र व्यवहारको गम्भीर आत्मसमीक्षा नगरिकन कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पु¥याउन नसकिने उनको भनाइ छ ।

उनले मुलुकको राजनीति बिग्रनुमा अरूलाई दोषारोपण गरेर मात्र नपुग्ने भन्दै आफूहरुले अपनाएका नीति, गतिविधि, व्यवहार, र जनसम्पर्कका कमजोरीहरूको समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए । सहसंयोजक नेपालले शासन सत्तामा पुगेपछि विदेशी शक्तिसामु झुक्नैपर्ने वामपन्थी दलहरुको नीति अनुपयुक्त रहेको टिप्पणी गरे । सहसंयोजक नेपालले विदेशीलाई खुसी पार्नकै लागि राष्ट्रहित विपरितका विषय समेत स्वीकार गरिएको तर्क गरे ।

उनले भने, ‘नेपालको राजनीतिमा रहेका विकृति विसंगतिहरुबाट वामपन्थीहरू पनि मुक्त छैनन् । वामपन्थीहरुले पनि विगतमा खेलेको भूमिकाको आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता रहेको छ । कहाँ हामी चुक्यौँ ? अरूलाई आरोप मात्र लगाएर पुग्दैन । हाम्रा सोचहरुमा, नीतिहरुमा, गतिविधिहरुमा, व्यवहारहरुमा, जीवनशैलीहरुमा, हाम्रो जनसम्पर्कहरुमा कहाँ–कहाँ त्रुटीहरु रहे यी सबै कुरामा पनि आत्मसमिक्षा गर्नुपर्ने आवश्यकता छ ।’

नेता नेपालले अतिवाद र आत्मसमर्पणवादी दुवै प्रवृत्तिबाट त्यागेर देश र जनतालाई केन्द्रमा राखेर कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 8 =