राहदानी सेवालाई थप सहज र प्रभावकारी बनाउँदै परराष्ट्र मन्त्रालय

काठमाडौं । परराष्ट्र मन्त्रालयले नेपाली नागरिकलाई सहज, सरल र प्रभावकारी रूपमा राहदानी सेवा उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको जनाएको छ ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले शुक्रवार आयोजित नियमित पत्रकार सम्मेलनमा राहदानी वितरणको पछिल्लो अवस्था र सुधारका प्रयासहरूबारे जानकारी गराएका हुन् । प्रवक्ता क्षेत्रीका अनुसार राहदानीको नयाँ प्रणाली कार्यान्वयनमा आएसँगै सेवा प्रवाहलाई थप व्यवस्थित बनाइएको छ ।
२०८३ असार २९ देखि सुरु भएको नयाँ प्रणालीमार्फत हालसम्म ८ हजार २ सय ६० थान राहदानी छापिसकिएको मन्त्रालयले जनाएको छ । हाल राहदानी विभागसहित देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालय, ६ वटा इलाका प्रशासन कार्यालय र विदेशस्थित ३९ वटा (३१ नियमित र थप ८ वटा) नेपाली नियोगहरूबाट राहदानीका लागि आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।
नयाँ प्रणाली कार्यान्वयनका क्रममा केही प्राविधिक समस्याहरू देखिएको स्वीकार गर्दै प्रवक्ता क्षेत्रीले ती समस्याहरूको समाधान प्राविधिक टोलीबाट भइरहेको बताए । छापिएका राहदानीहरू सम्बन्धित जिल्ला तथा इलाका प्रशासन कार्यालयहरूमा शीघ्र पुर्याउन मन्त्रालयले हुलाक विभागसँग कार्य सम्झौता गरिसकेको छ । यस व्यवस्थाले राहदानी वितरण प्रक्रियामा हुने ढिलाइलाई न्यूनीकरण गर्ने विश्वास लिइएको बताए ।
उनले भने, ‘नेपाली नागरिकलाई सहज, सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउन परराष्ट्र मन्त्रालय तथा मातहतको राहदानी विभाग प्रतिबद्ध छन् । हाल नयाँ प्रणालीमार्फत राहदानी विभाग, सबै ७७ जिल्ला प्रशासन कार्यालय, ६ इलाका प्रशासन कार्यालय तथा विदेशस्थित ३१ नेपाली नियोग र थप ८ नियोगबाट कुनै पनि समयमा इनरोलमेन्ट गर्न सकिने व्यवस्था गरी सेवा सुचारु गरिएको छ। ’
मन्त्रालयले राहदानी सेवामा थप सरलीकरण गर्दै अब नागरिकले जुनसुकै जिल्लाबाट पनि राहदानीका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाउन आवश्यक प्रक्रिया सुरु गरिसकेको जानकारी समेत दिएको छ । यसअघि स्थायी ठेगाना भएका जिल्ला वा काठमाडौंबाट मात्र आवेदन दिन सकिने प्रावधान रहेकोमा नयाँ व्यवस्था लागू भएपछि सेवाग्राहीलाई थप सहज हुनेछ ।








