यो देशमा केही गर्दा पनि नहुने : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले नेपालमा ठूला महल बनाउन दिनु नहुने बताएकी छन् । उनले हरेक मानिसले घर बनाउँदै जाँदा नेपालमा खालि जमिन खेतीका लागि बाँकी नरहने हुँदा अब ठूला महल बनाउने कार्य रोक्नुपर्ने बताएकी हुन् ।
शुक्रबार विश्व शौचालय दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले दुई/तीन जनाका लागि हरेक मानिसले घर बनाउँदै जाने हो भने भविष्यमा नेपाललाई खानका लागि खाद्यान्न अपुग हुने बताइन् । राम्रो काम गर्दा असहयोग गर्ने परिपाटीका कारण नेपालमा जे गरेपनि नहुने अवस्था देखिँदै गएको उनको भनाई छ ।
उपसभामुखले भनिन्, ‘महल बनाउनका लागि जो नक्सा पास गर्न आउँछन् नि त्यो म मेयर भए रोकिदिन्थेँ । सबैले घर बनाउँदै जाने दुई, तीन जनाका लागि भने कहाँ बच्छ, सबै जंगल फाँड्छन् । खानलाई पनि पुग्दैन जस्तो लाग्छ, विश्वको अवस्था हेर्ने हो भने । भारतले चिनी रोकिदिँदा सबै मानिस बाहिर जानुभयो । विदेशी फूललाई ब्याण्ड गर्नुभयो, बालेन्द्र साहले । तर यता नेपालीले मालाको मूल्य नै बढाए । कोरोनाको बेलामा मैले खाना खुवाउँदा दरबारमार्गमा फोहोर भयो भनेर विरोध गरे । मैले खाना खानेहरूलाई पनि बोलाएर त्यहीँ बेस्करी सफा गरेको छु । दरबार स्क्वाएरमा । पानीका कारण मोटरबाइक आउनलाई गाह्रो भयो भनेर मलाई गाली ग¥यो । केही गर्दा नहुने के यो देश, केही गर्दा नहुने । बालेन साह मेयर बनेपछि नयाँ काम सुरु गर्नुभएको थियो तर कतिपय होटलले मानेनन् ।’
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले मेयर बनेलगत्तै काठमाडौँका शौचालय व्यवस्थापनका लागि गरेको पहलमा होटल व्यवसायीहरुले नै असहयोग गरेकोप्रति दुःख व्यक्त गरे । यस वर्षको विश्व शौचालय दिवसको नारा ‘परिवर्तनको गति बढाउँदै’ भन्ने रहेको छ । यस वर्ष पनि संयुक्त राष्ट्र सङ्घको आह्वानमा १९ नोभेम्बरमा विश्वभर शौचालय दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने कार्यक्रम तय गरी कार्यान्वयन गरिरहेको छ ।
दिगो विकास लक्ष्यको छैटौँ लक्ष्यमा स्वच्छ खानेपानी र सरसफाइको विषय समावेश छ । तर सन् २०३० सम्म सबैलाई स्वच्छ र सुरक्षित पानी पु¥याउने र पूर्ण रूपमा सरसफाइको अवस्थामा पु-याउनमा प्रगति भने सुस्त गतिमा छ । राष्ट्र सङ्घकाअनुसार विश्वका साढे ३ अर्ब मानिस अझै पनि शौचालयको सुविधाबाट वञ्चित छन् ।








