मकालु फिचर

नाटकको नाम फेर्नु भनिएपछि उनलाई लाग्यो ‘एक लिम्बुको छोराले ब्राह्मणको कथा भन्नै नपाउने रहेछ कि?’

शिल्पी थिएटरमा धेरै पहिले एक चोटि दिदीको नाटक हेर्न भनी गएको स्मरण छ मलाई । नाटक हेरिरहने भएता पनि त्यसपश्चात् शिल्पी पुगेको रहेनछु । 

म बानेश्वरको जाममा थिएँ । घडीको सुई आफ्नै गतिमा दौडिरहेको थियो । चार बजे भेट्ने भनी तोकिएको समय बाट पनि बिस मिनेट ढिला भइसकेकी थिएँ म । आफू जत्ति नै आत्तिए पनि चलिरहेको शिक्षकहरूको आन्दोलनले भने बिट मार्ने कुनै सोच बनाएको थिएन ।  

जसोतसो ट्याम्पुले चार बजेर पैँतालिस मिनेटमा शिल्पी नजिकै झारिदियो । म हतासिँदै गल्तीतिर छिरेँ । निर्देशक बारत लिम्बु मलाई बाहिरै कुरिरहेका रहेछन् । मैले लाजले डल्लो पर्दै माफी मागे । उनी मिजासिला रहेछन् । माफी सहर्ष स्वीकारे । 

हामी उनले निर्देशन गरेको नाटक ‘ह बिन्दु राम पण्डित’ (यसको नाम पहिला ह.राम पण्डित थियो । तर हिन्दु धार्मिक अतिवादीहरूले फेर्न बाध्य बनाए । बाँकी कथा केही बेरमा आउँछ) बारे कुरा गर्न बस्यौँ ।   

त्यो भन्दा पहिला मलाई उनको जीवनको बारेमा केही बुझ्न मन लाग्यो ।                            

बि. स. २०६५ मा पूर्वाञ्चल नाट्य महोत्सव भइरहेको थियो । त्यसमा उनले पहिलोपल्ट ‘ताराबाजी लै लै’ भन्ने नाटक हेरे । 

त्यो अवसर विशेष बन्यो । नाटकसँगको पहिलो भेट उनलाई सहज लाग्यो । नाटकले आफैमा भिन्न जीवन बोकेको देखेर उनी चकित थिए भने नाट्य कर्मीहरूले वास्तविक संसारबाट अलग भई काल्पनिक संसारमा गहिरो डुबेर त्यसमै शान्ति पाएको देख्दा मन्त्रमुग्ध । आफैमा जीवन्त र संवेदना बोकेको नाटक हेर्दा उनलाई थेरापीजस्तै लाग्यो । उनी आकर्षित भए । 

त्यस रात धेरै छटपटाए । 

त्यसपश्चात् त उनलाई नाटक हेर्ने रस नै बस्यो । भेसभुसा, सङ्गीत, अभिनय, प्रप्स, र लाइटको त्यस्तो मिश्रण उनले पहिले कहीँ देखेका थिएनन् । आफू सानो हुँदा कलाका कुनै विधामा त्यस्तो रुचि भएको सम्झँदैनन् । तर नाटकले भने उनलाई कहीँ न कहिबाट आकर्षण गरिरहेको थियो । 

हरेक चोटि नाटक हेरे पछि आफूले पनि यस क्षेत्रमा केही गर्ने चाहाना उनमा तीव्र गतिमा बढ्ने गर्थ्यो । यही हुटहुटीले उनलाई काठमाडौँ ल्याइ पुरायो । 

त्यो बेलासम्म उनलाई नेपालमा नै बस्ने कि विदेश जाने भन्ने द्विविधा पनि नभएको हैन । तर बाहिर जान भनी तम्सिएका उनी मण्डला थिएटरमा तीन महिने प्रशिक्षण लिन पुगे । 

त्यो कोर्स सकिन साथ ‘अन्धो युग’ भन्ने नाटक खेले । नाटक प्रदर्शन भएको दोस्रो दिन नागरिक पत्रिकामा उनको फोटो आयो । खुसीले भुईँमा खुट्टा थिएन । त्यसबाट उत्साहित हुँदै उनी अनामनगरबाट भक्तपुरसम्म हिँडेरै पुगे ।

त्यसपछि उनले ब्याक स्टेज र अन स्टेज दुवैमा काम गर्न थाले । दर्जनौँ नाटक गरिसके पछि उनलाई यस क्षत्रमा आफूले पनि केही योगदान दिन सक्नेरहेछु भन्ने अनुभूति भयो । 

त्यस क्रममा विभिन्न विद्यालयका कार्यक्रमहरूमा नाटकका सोहरू बनाउन थाले।  हरेक नाटक बनाउँदा केही नयाँ सिक्ने मौका पाउँथे ।

उनी यस क्षेत्रमा लागेको एक दशक भन्दा बढी भइसकेको थियो । हरेक दिन आफूलाई पनि भन्न मन लागेको धेरै कुरा छ भन्ने बोध भइरहेको हुन्थ्यो । हरेक नाटक हेर्दा पनि उनलाई त्यो ठाउँमा यदि आफू भइदिएको भए पात्रलाई यसरी चित्रण गर्थेँ होला भन्ने भइरहन्थ्यो । यो विषयलाई यसरी औँल्याउँथे होला भन्ने परिकल्पना गरिरहन्थे । 

यही क्रममा उनलाई ती परिकल्पनाहरूलाई आफूमा मात्रै सीमित नगरेर सबैसामु ल्याउनुपर्छ भन्ने लाग्यो । त्यसपछि नाटक बनाउने निर्णय गरे । 

नाटकको विषयवस्तु छान्न उनलाई सोचे जस्तो गाह्रो भएन । सरकारी प्रणाली, कर्मचारीतन्त्र र सम्पूर्ण कार्यालयहरूको भत्किएको अवस्थाको एक भुक्तभोगी उनी पनि थिए । के विषयमा नाटक बनाउने भनेर सोच्दै गर्दा उनको मस्तिष्कलाई आफूले वर्षौँ अगाडि सरकारी कार्यालयमा भोग्नु परेको एउटा पीडाले घचघच्यायो ।

स्थानीय सरकार आइसकेपछिको कुरा हो । 

उनी आफ्नो दाइको छोरीको जन्म दर्ता लिन भनी वडा कार्यालय गएका थिए । बुबा र आमाको सम्बन्ध विच्छेद भएकाले छोरीको बुबा मात्रै त्यहाँ उपस्थित थिए । तर एक बच्चाले पाउने जन्मसिद्ध अधिकार पाउन पनि उनीहरूलाई धेरै पापड बेल्नु पर्‍यो । ‘आमा नभई जन्म दर्ता पाउँदैन, आमा ल्याउनुस्’ भने पछि उनीहरू अन्योलमा परे । एक घण्टामा सकिने काम एक कोठा बाट अर्को कोठा चाहर्दै दिन भरि लाग्यो । एक त कर्मचारी ढिलो आए । अनि अर्को घुस दिनु पर्‍यो । अनि उनीहरू प्रविधिमा पछाडि रहेको पनि देख्नु पर्‍यो । 

उनले सरकारी कार्यालयको त्यही दुरावस्थालाई नाटकमा देखाउने निधो गरे । नाटक आफैले लेख्ने भन्दा पनि यही विषयमा भएका अरूका कथा रूपान्तरण गर्ने उनले सोचे । त्यस्तो कथा कसको होला ? त्यस्तो कसले लेखेको होला ?

त्यसपछि सम्झनामा आए भैरव अर्याल । समय सापेक्ष रूपमा सटीक र मार्मिक निबन्ध लेखि मानिसका खराब आचरण र दुर्व्यवहार तिखो व्यङ्ग्यको वाण प्रहार गर्ने स्वर्गीय भैरव अर्यालबारे उनी अपरिचित थिएनन् । उनका हरेक निबन्धले आफूले भन्न चाहेको कुरा व्यङ्ग्यात्मक हिसाबले छर्लङ्ग व्यक्त गरिदिएको पाएपछि उनैको निबन्धलाई नाट्य रूपान्तरण गर्ने सोच बनाए । 

काम पन्छाउने, टार्ने या ठग्ने मानिसको प्रवृत्तिलाई यति कलात्मक र व्यङ्ग्यात्मक तरिकाले भन्न सकिन्छ भन्ने कुरा उनले भैरव अर्यालका निबन्ध पढेरै थाहा पाए । अर्यालका ‘मपाईँ’, ‘जय भोली’ र ‘हराम प्याडे हजुर’ गरी तिन निबन्धलाई मिश्रण गरी नाटकको आलेख पनि तयार पारे । 

निबन्धलाई नाटक रूपान्तरण गर्ने काम आफैमा सहज भने थिएन । तर उनका दिग्गजहरूले उनलाई घचघच्याई रहे । लेख्न प्रोत्साहन गरिरहे । निबन्ध र  नाटक यी दुई बिदा नै फरक हुन्। निबन्ध आफैमा जानकारीमूलक र पढ्न रमाइलो हुन्छ । तर यसलाई श्रव्य दृश्यमा उतार्न भने चुनौतीपूर्ण हुन्छ। उनलाई पनि यो नाटक बनाउने प्रक्रिया चुनौतीपूर्ण लाग्यो तर यसलाई उनले एक अवसरका रूपमा लिए । 

नाटक, ‘ह बिन्दु राम पण्डित’ हिन्दु पौराणिक कथाको सेरोफेरोमा छ । नाटक यमराजका चेला चित्रगुप्त को स्थानमा सेट हुन्छ । मुख्य पात्र हराम पण्डितको मृत्युपछि पनि सरकारी कार्यालयको अव्यवस्थाले उनलाई छोड्दैन । उनले मरेपछि पनि नाम बिग्रिएर पीडा पाउँछन् । मरेपछि पनि घूस खुवाउनुपर्छ । 

नाटकले व्यङ्ग्यात्मक ढङ्गले नेपाली सरकारी कार्यालय प्रणालीलाई चुनौती दिएको छ ।

यो उनको पहिलो निर्देशन हो । पहिलो कामलाई भाग्यले पनि साथ दिन्छ भन्ने कुरा उनको यस नाटकमा भने मेल खाएन । नाटकको नामलाई लिएर थुप्रै विवादित टिप्पणीहरू आए । नाट्य लेखन गर्दा खेरि नै उनले होस् त पुर्‍याएका थिए । अर्यालको  ‘हराम प्याडे’ निबन्ध विवादित हुन्छ भन्ने ठानेरै ‘हराम’ हैन त्यसलाई टुक्राएर ‘ह.राम पण्डित’ राखेका थिए । जसको अर्थ हवलदार राम पण्डित हो । 

कथाको मुख्य द्वन्द्व नै नामको अगाडि आएको त्यही ह र विन्दुमा अड्किएको हुनाले उनले त्यस्तो राखेका थिए । तर त्यो कुरा विवादमुक्त भएन । हिन्दु जागरण पार्टी र शिव सेनाका सदस्यहरूले उनलाई नाटकको शीर्षक फेर्न धम्किनै दिए । ‘ह.राम पण्डित’ नाम भैरव पुरस्कार  गुठी र अर्याल परिवारको सहमति मै राखिएको थियो । तर पनि समस्याले छोडेन ।

 उनले यस्ता धेरै विवाद आउन थालेपछि हिन्दु जागरण पार्टी र शिव सेनाका सदस्यहरूलाई संवादका लागी डाकेका थिए ।  हिन्दु जागरण पार्टीका दस्ता नै आए । संवादको सिलसिलामै उनीहरू बिच घम्साघम्सी नै पर्‍यो । उनलाई यी सबै विवादित टीकाटिप्पणी भइरहँदा एक लिम्बुको छोराले ब्राह्मणको कथा भन्न नपाउने रहेछ कि भन्ने प्रश्न मनमा आइरह्यो ।  नाटक नै नहेरी मानिसहरूले पूर्वकल्पित धारणा राखेको कुराले उनलाई नराम्ररी बिझ्यो । 

कुनै पनि मुद्दामा मतभेद हुनु स्वाभाविक कुरा हो भन्ने उनलाई लाग्छ । तर आफूले गरेको काममा भने आफू जबाफदेही हुनुपर्छ भन्ने उनी विश्वास राख्छन् । आफू जबाफदेही रहेका पनि बताउँछन् । यस विषयमा यस्तो विवाद हुनु यो नाटकमाथि मात्र नभएर सम्पूर्ण कला क्षेत्रलाई नै भएको आक्रमण हो भन्ने उनलाई लाग्छ । 

 ‘यो एक हिसाबको हस्तक्षेप हो । बन्देज हो ।’ उनी दुख व्यक्त गर्दै भन्छन् । 

अहिलेको समाजमा धार्मिक समानता हुनु पर्ने कुरामा उनी जोड दिन्छन् । अन्यथा यसले नराम्रो दुर्घटना निम्ताउने सम्भावना रहेको उनलाई लाग्छ । एउटा धर्मले अर्को धर्मलाई सम्मान नगरे साम्प्रदायिक द्वन्द्व निम्तिने र त्यसले धार्मिक युद्धलाई निम्त्याउने खतरा भएकाले सबै सचेत हुनुपर्ने उनको भनाई छ । 

जे होस् , छ दशक अगाडि लेखिएका भैरव अर्यालका निबन्ध आज पनि उतिकै सान्दर्भिक छन् । सरकारी काममा उही ढिला सुस्ती छ । नयाँ व्यवस्था आएको भनिएता पनि राज्य व्यवस्था, कर्मचारीतन्त्र धेरै फेरिएको छैन । शिक्षा प्रणाली भताभुङ्ग छ । र पञ्चायती बेलामा झैँ कला साहित्यमा बन्देज लगाउने क्रम देखिन खोजेको छ । आफ्नो नाटकले ती सबै कुरालाई देखाउँदै अहिलेको संवेदनालाई पक्डिएको छ भन्ने उनलाई लाग्छ । 

आफ्नो नाट्य प्रेम अभिनय बाटै सुरु भएर होला उनी निर्देशक वा नाटककार भन्दा पनि कलाकारका रूपमा नै आफू धेरै भिजेको पाउँछन् ।  तर नाटक बनाउने प्रक्रियामा भने सिक्ने मैदान ठुलो भएको उनले उनको पहिलो निर्देशन गरेपछि बोध गरे । यस नाटक बनाउँदा उनले धेरै कुरा सिकेका छन् र आगामी दिनहरूमा पनि नाटक बनाउने प्रक्रियालाई आत्मसाथ गर्ने उनको दृढ सोच छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *