‘दोष ई: कै हो’

यहाँ हाम्रो दोष छैन । बालेन सरको त झनै छैन ।’

‘दोष ई: कै हो ।

उ हिँड्ने मान्छे भनेर चिनिएको मान्छे । भर्खरै सारा भारत खुट्टैले हिँडेर फर्किएको भनिहिँड्थ्यो रे । त्यसको बारेमा किताब लेख्ने तयारीमा छु पनि सुनाउँथ्यो रे । केही समय पहिला झम्सिखेलको कर्मा क्याफेमा फोटो प्रदर्शनी पनि गरेको थियो भन्ने सुनेका थ्यौँ ।’

अझ ‘मेरो काठमाडौँमा घर छैन । म यहाँ पनि यात्रामा नै छु ।’ भनिहिँड्थ्यो रे । हेर्नु त झुट बोलेको ।’

‘यदि त्यस्तो हो भने खुरुखुरु हिँड्न छोडेर उ किन उभिइरहेको ? त्यो पनि फुटपाथ ओगटेर । उसको खुट्टामा अल्झिएर कोही लड्यो भने त्यसको जिम्मा कसले लिन्छ ?’

‘फुटपाथका व्यवसायीहरूलाई अप्ठ्यारो पर्‍यो पनि भन्ने अनि आफूले चाहिँ फुटपाथ नै ओगट्ने ?’

‘दोष उसकै हो ।’

‘यहाँ सारालाई केही नबोल्दा भएको छ । महानगर प्रहरीले सडकमा व्यवसाय गर्नेलाई लतार्दा । उनीहरूका सामान पछार्दा । सामान पोखेर त्यसलाई लैजाने गाडा टेकुमा लगेर थुपार्दा । मान्छेको जीविका चल्ने साधनहरूलाई कुनै उपाय नदिई लछारपछार पार्दा ।’

‘फेसबुक र ट्विटरमा गाली खाइने डरले कोही नबोल्ने बेलामा उ बोल्नुपर्ने ?’

‘एकाधबाहेक सबै पत्रिका चुप लागेकै बेलामा उसलाई बोल्नुपर्ने ?’

‘हिरो हुन खोजेको ?’

‘सबैलाई बालेन सर ठिक लागिरहेको बेलामा उसलाई ठिक नलाग्नुपर्ने ?’

‘लोकतन्त्रमा ठिक नलागेको कुरामा आवाज उठाउने कुरा नि हुन्छ ?’

‘उ पक्का पनि कोहीबाट सञ्चालित छ ।’

‘उ पक्का पनि डलरवादी हो ।’

‘उसको खासमा कोही अदृश्य नेता छ ।’

‘दोष उसकै हो ।’

‘उसलाई चुनावताका भएका बालेन सरका हरेक भाषण सम्झिनुपर्ने । त्यसमा उहाँले बोलेका हरेक टुक्रा सम्झिनुपर्ने । उहाँले त्यो बेला मान्छेहरूको ध्यान तान्न, आफूलाई फरक देखाउन केही भन्नुभयो होला ।’

‘चुनाव जित्नलाई त्यति कुरा कसले भन्दैन ?’

‘उहाँले कुन गीत गाउँदा सबैतिर चाँडो पुगिन्छ होला भन्ने सोचेर ‘गरिबको चमेली बोलिदिने कोही छैन’ गीत गाउनुभयो होला ।’

‘चुनावको बेलामा गरिबको पक्षमा गीत कसले गाउँदैन ?’

‘अहिले त्यही गीतलाई स्लोगन बनाएर उहाँको बिल्ला गर्ने ?’

‘उहाँले उ बेला सकेसम्म ठाउँमा पुगेर अन्तर्वार्ता दिनुभयो होला । उहाँलाई त्यो बेला पो आफ्नो कुरा सुनाउनु थियो । उहाँलाई त्यो बेला अरूलाई नराम्रो भन्नु थियो । आफू जसरी पनि फरक हुँ देखाउनु थियो ।’

‘चुनावको बेलामा कसले त्यस्तो गर्दैन ।’

‘उहाँले त्यति नगरेको भए सारा मान्छेहरूको सपोर्ट आउँथ्यो । सारा मान्छेहरूले सपना देख्थे ? अनेक सेलिब्रेटीहरूले इन्डोर्स गर्थे ? उहाँलाई त्यतिका धेरै भोट हाल्थे ? उहाँले गलत गर्नै सक्नुहुन्न भनेर पत्याउँथे ?’

‘उहाँको मास्टरस्ट्रोक्सको बारेमा केही प्रशंसा छैन ।’

‘उहाँले भनेको कुरा पुरा गर्नुभएन अरे ।’

‘यहाँ कसले पुरा गरेका छन् ।’

‘सबै चोरहरू त छन् नि ।’

‘उहाँ अरूभन्दा फरक हुनुभएन अरे ।’

‘अनि जनता चाहिँ फरक भएका छन् ?’

‘उहाँलाई फरक हुन त फरक जनता पनि दिनुपर्‍यो नि ।’

‘अहिले त जसलाई नराम्रो भन्नुभएको छ त्यो ठाउँमा उहाँ आफैँ हुनुहुन्छ । कति राम्रो काम गर्नुभएको छ । त्यो केही नदेख्ने । खाली एउटा नराम्रो देख्ने ।’

‘अनि के रे के रे उहाँले जवाफ दिनुपर्‍यो रे ।’

‘हरेक कुरामा जवाफ दिने उहाँको काम त हैन नि ?’

‘दोष त ई: कै हो ।’

‘उसले फेसबुक स्ट्याटसमा मात्र आफ्नो कुरा व्यक्त गर्न रुचाउने उहाँबाट आधिकारिक जवाफ खोज्ने ?’

‘उहाँले मनपरेको कुरा गर्न पाउने अधिकार कुण्ठित गर्ने ?’

‘आधिकारिक नै उहाँको फेसबुक हो ।’

‘ल त्यति कुरा उसलाई चित्त बुझेन अरे । अनि चित्त बुझेन भने त फेसबुक ट्विटरमा पो लेख्ने त । कहाँ प्लेकार्ड बोकेर ‘गरिबको चमेली बोलिदिने कोही छ र?’ भन्दै महानगरपालिकाको कार्यालय अगाडि उभिने ?’

‘त्यत्रा धेरै ट्विटरमा गाली गर्दा पनि अनि मिम पेजहरू लगाएर ‘चमेली ग्याङ’ भनेर धपाउँदा पनि नटेर्ने ?’

‘त्यतिका धेरै धक्कि दिँदा पनि नसुन्ने ?’

‘अटेरी गर्ने ?’

‘आफैँ अटेरी गर्ने अनि अर्कोलाई अटेरी गरेको भनेर आरोप लगाउने ?’

‘यो देशले चाहेको युवा नेतृत्व उहाँ जस्तै हो । उहाँ नबोल्नुभएको हैन । परिस्थिति हेरेर मूल्याङ्कन गर्नुभएको हो ।’

‘काग कराउँदै गर्छ पिना सुक्दै गर्छ ।’

‘यसै पनि यहाँ अहिले कसले सुन्छ र ? सबै जना फोनमा व्यस्त छन् । भएका पनि फेसबुक ट्विटरमा बोलिरहेका हुन्छन् । भिडिरहेका हुन्छन् । त्यस्तो जमातलाई बोलेर सुनाएर के फाइदा ? उनीहरूलाई बेकारमा जवाफ दिएर इरिटेट पार्न त भएन नि ।’

‘उहाँले सुन्न नचाहने युवाहरूको मनको कुरा बुझेर नै नबोल्नुभएको हो ।’

‘त्यस्तो बुज्झकी मान्छेलाई बोलाउन खोज्ने ।’

‘अनि उहाँले सुनेको नसुन्यै गरेको यतिको समय भइसक्यो । उसको यो हर्कत देखेपछि पनि उहाँले सुनेको नसुन्यै गरिरहनुभएको छ । सुनेको नसुन्यै गर्न कम्ता गाह्रो छ ?’

‘अनि त्यति गाह्रो काम गरिरहेको मान्छेलाई नै टार्गेट गरेर फेरी उभिएर आन्दोलन गर्ने ?’

‘आफू मात्र उभिएर हैन अरू मान्छेहरूलाई पनि बोलाउने । अरू त अरू उहाँले नबस्नु भनेका सडक व्यापारीहरूलाई पनि बोलाउने ?’

‘अटेरी गर्ने ?’

‘अनि सुरुमा ७७ घण्टा मात्र उभिने भनेको समय बढाउने ?’

‘धोका दिने ?’

‘अझ हेर न प्लेकार्डमा के के लेखेको ?’

‘समानुभूति चाहियो रे ।’

‘अहिलेको आधुनिक युवा नेतासँग समानुभूति भन्ने पनि हुन्छ ?’

‘अझ गरिब हैन गरिब हटाऊ रे ।’

‘अनि गरिब हटाएपछि गरिबी यसै हटेन ?’

‘सिटी कारको लागि मात्र कि मान्छेको लागि पनि ? रे ।’

‘कार चढ्न नसक्ने त सहरमा आउने नै हैन नि ।’

‘मानवता, समानुभूति, जबाफदेहिता नभएको युवा नेतृत्व कसरी फरक भयो रे ।’

‘लौ यत्तिको फरक नेता पहिला कोही थियो ? प्रमाण छ ?’

‘अनि अनेकथरी स्लोगन त अङ्ग्रेजीमा पनि लेखेको छ । बालेन सर त नेपालीको छोरो हो । उहाँ अङ्ग्रेजीमा लेखेको माग यसै पनि बुझ्नुहुन्न ।’

‘नेपालको माग हो भने नेपालीमा लेख्ने । अङ्ग्रेजी त बोर्डिङ स्कुलमा मात्र चाहिने हो ।’

‘अनि यति कुरा पनि नबुझेर दिन रात गरेर सडकमा उभिने ? यतिमा नै सडकमा उभिने ?’

‘खुट्टा सुन्निएको फोटो हालेर मान्छेको ध्यान तान्न खोजेको हेर त ।’

‘अझ अनुहारमा छाला पनि फुटिसक्यो रे । घाममा उभिएपछि फुट्छ त । त्यो कुन ठुलो कुरा भयो । कालो चस्मा लगाउनुपर्छ बरु ।’

‘हिजो त झन् उ को हो भनेर प्रमाणित भइगयो नि ।’

‘जान्छ होला भनेर सोच्दा सोच्दा पनि नजाने अड्डी लिइरहेपछि वाक्क लागेर बल्ल बल्ल उहाँले लु त न त केही भन्छ भने सुन्छु भन्नुभएको थियो । आफू कुर्सीमा बसेर मान्छे पनि पठाउनुभएको थियो । उहाँको सङ्गतको मान्छे हो बोलाउँदा पनि थोरै झर्कियो होला ।’

‘आन्दोलन नै गर्न बसेको मान्छे त्यस्तो बोलाइबाट बिच्किने ?’

‘त्यस्तो विनम्र हप्किबाट पनि नचेत्ने ।’

‘उल्टै समय चाहिन्छ भनेर आधा घण्टा माग्ने ?’

‘सय घण्टा भन्दा बढी (बेलुका पाँच घण्टा कुर्सीमा बस्ने बाहेक) उभिइसकेको मान्छे बस्न बोलाउँदा नजाने ?’

‘आधा घण्टा ?’ समय माग्ने ?

‘बिना काम सय घण्टा उभिने मान्छेलाई आधा घण्टाको महत्त्व के थाहा ?’

‘अनि तयारी पनि गर्नुपर्ने हुन्छ ?’

‘टिम पनि बनाउनुपर्ने हुन्छ ? बहाना हेर्नु त । को बाट सञ्चालित हो भन्ने यसैबाट थाहा भइगयो नि ।’

‘बालेन सरले बिना नै कति धेरै काम गर्नुभएको छ । उहाँले फुटपाथका व्यापारीहरूलाई हटाउने काम पनि तयारी बिना नै गर्नुभएको छ । तयारी गरेर गर्ने तरिका त पुरानो हो ।’

‘उहाँसँग बोल्ने हो भने उहाँले जस्तै तयारी नगरी बोल्न जान्नुपर्छ ।’

‘उहाँ तयारी गर्नेसँग खासै सजिलो मान्नुहुन्न भन्ने कुरा थाहा नपाउने ?’

‘अनि फेरी महाराजलाई स्वस्ति गरेको व्यङ्गको हाउभाउ कस्ने ?’

‘हैन के सारो सनक चढेको हँ ।’

‘यहाँ हाम्रो दोष छैन । बालेन सरको त झनै छैन ।’

‘दोष ई: कै हो ।’

यो पनि पढ्नुहोस्:

ई: ले पैदल घुम्दा देखेको दक्षिण एसिया (फोटो रिभ्यु)

हाम्रा ‘नयाँ डिक्टेटर’ सम्झाउने ‘द डिक्टेटर’

जब हर्क वा बालेन जस्तै एक मेयर आफ्नै शहरको फुटपाथमा असुरक्षित हुन्छन्

हाम्रो विकास सडक पुर्‍याउन मात्र केन्द्रित भयो : नविन सुब्बा

‘कुरूप’ माइतीघरको पक्षमा

सोच्न नसक्ने मेयरको कथा भन्दै ‘एलिस एण्ड द मेयर’ले गरेको राजनैतिक बहस

प्रतिक्रिया

One thought on “‘दोष ई: कै हो’

Leave a Reply

Your email address will not be published. Required fields are marked *