‘कुरूप’ माइतीघरको पक्षमा

हुन त एउटै कुरालाई हेर्ने दृष्टिकोण फरक फरक हुन सक्छन् । 

कसैलाई सही लागेको कुरा कसैलाई खराब लाग्न सक्छ । कसैलाई प्यारो लागेको मान्छे कसैलाई रिस उठ्दो लाग्न सक्छ । कसैले गरेको विरोध कसैलाई षड्यन्त्र लाग्न सक्छ । कसैले गरेको षड्यन्त्र कसैलाई स्वाभाविक लाग्न सक्छ । 

संसारमा यति धेरै मान्छे छन् । यति धेरै देश छन् । ती सबैलाई भएका हरेक कुरा फरक फरक लाग्न सक्छन् । लागिरहेका नै पनि छन् ।

सबैलाई एउटै लाग्नुपर्छ भन्ने के छ र ?

यही जवाफ ‘रुटिन अफ नेपाल बन्द’ पेजले पनि दिन सक्छ । 

भन्न सक्छ ‘हामीले माइतीघरमा भएको भिडलाई कुरूप देख्यौँ । त्यहाँ आन्दोलन गर्न आएका मान्छेहरू कति कुरूप । पाल टाँगेर त्यतै बसेका कति नराम्रो । खाना पकाउने र लुगा सुकाउने धरी गरिरहेका मान्छेहरूलाई कस्तो लाज पनि नलागेको ।’ 

‘तीनले त्यो बाटो कम्ता बिगारेका छन् र ? त्यहाँ सर्वसाधारणलाई हिँड्न कम्ता गाह्रो भएको छ र ?’

‘हामीलाई त्यस्तो लाग्यो ।’ 

‘प्रजातन्त्र भएको देशमा कुनै कुरा लाग्न पाउँछ ।’

‘यतिको लागि नै प्रजातन्त्र ल्याएको हैन र ?’

‘अनि त्यसमा पनि हामी त एउटा फेसबुक पेज हो । हामीले भएको कुरा भन्दा के बिग्रिन्छ ?’

‘त्यहाँ बाटो बन्द भएको छैन भने भन्नु ।’ 

‘त्यहाँ हेर्दा नराम्रो देखिएको छैन भने भन्नु ।’

तर त्यस्तो जवाफ आउँछ भन्ने थाहा हुँदाहुँदै पनि  त्यो थाहा हुँदाहुँदै पनि मलाई यति बेला उसले (त्यो पेजले) बिहान गरेको त्यो पोस्टले बिझाइरहेको छ । 

म पनि दैनिक जस्तो त्यो बाटो हिँड्छु । त्यहाँ टाँगिएको पाललाई देखिरहेको हुन्छु । त्यहाँ बसेका मान्छे देखिरहेको हुन्छु । त्यहाँ बेलाबेला आन्दोलन हुन्छ । त्यहाँ सरिक भइरहेको हुन्छु । त्यहाँ अनसन बसेका मान्छेलाई नजिकैबाट हेरिरहेको हुन्छु । त्यहाँ राखिएका मागहरूलाई नजिकैबाट सुनिरहेको हुन्छु । 

त्यहाँको आएका छैनन् । डाक्टर केसीको आन्दोलनमा समर्थन गर्नेदेखि मिटर ब्याज पीडित भएकासम्म । उखुको मूल्य नपाएकादेखि निर्मला पन्तको लागि न्याय खोज्नेहरूसम्म । 

तर मलाई त्यहाँ भएको भिडले कहिल्यै त्यो ठाउँ फोहोर भएको पिर भएन । कुरूप भएको पिर भएन । मैले त्यहाँ मान्छे बसेर बनेको अस्तव्यस्ततालाई अस्तव्यस्त नै देखिनँ । 

बरु त्यसमा त उनीहरूलाई त्यसरी अस्तव्यस्त भएर बस्न बाध्य पार्ने अस्तव्यस्त प्रणाली पो देखेँ । उनीहरू अझै त्यसरी बस्न बाध्य पार्ने लाचार राज्यव्यवस्था पो देखेँ । 

मैले किन त्यस्तो देखेँ ? 

मैले त्यहाँ बस्ने मान्छेहरूलाई देख्नासाथ उनीहरूको मुद्दामा ऐक्यबद्धता जनाउनुपर्ने देखेँ । किनकि कसैलाई पनि सडकमा गएर यसै बस्न मन हुँदैन ।

मैले किन त्यस्तो देखेँ ?

मैले त्यहाँ बस्ने मान्छेहरू देख्दा आफूले केही गर्न नसक्नुको लाचारी पनि देखेँ । किनकि कसैको बिजोक अवस्था देखेर केही गर्न नसक्नेगरी लाचार हुनु जति पीडादायी कुरा केही पनि हुँदैन । 

मैले किन त्यस्तो देखेँ ?

मैले यो पोष्ट देखेपछि पनि त्यसलाई कुनै सामान्य पोष्टजसरी बिर्सिन सक्थेँ । तर किन बिर्सिइनँ ?

किन भने रुटिन अफ नेपाल बन्द अब ठूलो पब्लिक न्यारेटिभ बनाउन सक्ने स्थानमा छ । उसले हालेका धेरै पोष्टहरू जति मान्छेसम्म पुग्छन् त्यति नेपालका मिडियाबाट पनि पुग्दैनन् । मेरो यो लेख छाप्ने प्लेटफर्मबाट पनि पुग्दैन । 

तर पनि किन मलाई लेखुँ भइरहेको ?

त्यसको जवाफ सोचेभन्दा सामान्य भयो । म फिल्मको रिभ्यु गरिरहने मान्छे । त्यहाँका अनेक चरित्रहरूको विवेचना गर्न मलाई रुचि लाग्छ । तीनले कुनै काम गरे भने किन गरे ? त्यस्तो गर्न उनीहरूलाई केले बाध्य बनायो ? कोही त्यस्तो हुनुमा उनीहरूको कुनै पुरानो भूमिका पो जिम्मेवार छ कि ? 

मैले रुटिन अफ नेपाल बन्दको त्यो पोष्टलाई एक फिल्मको चरित्रको रूपमा देखेँ । 

अनि उसले पछिल्लो क्रममा नयाँ पुस्ताका राजनितिज्ञलाई जिताउन नजानिँदो तरिकाले जुन खाले राजनैतिक भूमिका खेलेको छ त्यसले पनि उनीहरूले लेखिरहेको कुरा कहाँबाट आयो भन्ने थाहा पाउन गाह्रो छैन । उनीहरू बालेनलाई जिताउन खुलेर नै लागेका थिए । अहिले बालेन शहरलाई सफा बनाउने नाममा मानिसको जीविकोपार्जनको विषयलाई परबाट बसेर हेर्ने क्रममा लागेका छन् । 

त्यसैले बालेनले शहर सफा गर्ने नाममा अर्को व्यवस्था नगरीकन जसरी तल्लो वर्गका मानिसलाई व्यवहार गरिरहेका छन् त्यो कुरा यो पोष्टमा देखिएको छ । 

केही समय पहिला बालेनको उक्त कदमविरुद्ध केही युवाले महानगरको गेटबाहिर प्रदर्शन गरेका थिए । उनीहरूको माग सामान्य थियो । यही कि सडकमा सामान बेचेर गुजारा गर्नेहरूप्रति समानुभूतिको दृष्टिकोणले हेर । नेतालाई त्यो कुरा सुहाउँछ । 

तर त्यो आन्दोलनको घोषणा हुँदै गर्दा विरोध भयो । विशेषगरी बालेन समर्थित पेजहरूले खुलेर त्यसको विरोध गरे । कतिले पुरानो गन्जागोल भएको सडकपेटीलाई देखाएर यस्तै बनाउन खोजेको हो पनि भने । तर त्यो आन्दोलनमा युवाहरूले उठाएका मागहरूलाई सामान्यीकरण गरे । तीनले समानूभूतिको हिसाबले सोचेनन् । प्रजातन्त्र पहुँच हुनेहरूका लागि मात्र हो भन्ने भाष्यलाई तीनले मलजल गरे । 

यदि रुटिन अफ नेपाल बन्दलाई अहिलेको सामाजिक सञ्जालको युगको एक नेता मान्ने हो भने उसको यो पोष्टमा त्यो सामानुभूति देखिन्न । उसले केवल मान्छेले बाटो छेकेको देखेको छ तर त्यो अवस्थामा कोही पुग्नुपर्ने कारण देखेको छैन । 

उनीहरूले सहरको सौन्दर्यलाई बाहिरबाट देखिने भौतिक सौन्दर्यको रूपमा मात्र हेरे । 

यदि सामाजिक सञ्जाललाई फिल्म मान्ने हो भने रुटिन अफ नेपाल बन्द भन्ने चरित्रले बोलेको यो डायलगलाई उसको संवेदनशील मुद्राप्रतिको गैरजिम्मेवारी भन्न मिल्छ । 

अनि त्यसलाई उसको बालेनसँगको सम्बन्धलाई पनि लिएर हेर्ने हो भने यसलाई महानगरको पछिल्लो समयको कदमको अर्को एउटा रिफ्लेक्सन हो भन्न मिल्छ । 

र यो रिफ्लेक्सन घातक छ किनकि त्यसले प्रजातन्त्रमा चाहिने विरोध गर्ने स्थानको विपक्षमा बोलेको छ ।

यो घातक छ किनकि त्यसले कसैको लँडाइलाई सामान्यीकरण गरेको छ । 

यो घातक छ किनकि त्यसले शहरको सौन्दर्यलाई विरोधबिनाको सौन्दर्य हो भनेर कल्पना गरेको छ ।  

यो घातक छ किनकि यसले कसैको पीडालाई संवेदनारहित भएर हेरको छ । 

यो घातक छ किनकि यसले आफ्नो ठूलो अडियन्स रहेको नयाँ पुस्तालाई पनि त्यस्तै कुरा मात्र सिकाइरहेको छ । 

तर एउटा कुरा के हो भने उसले जे नै लेखे पनि त्यो ठाउँ मेरो लागि सुन्दर छ । त्यसले लँडाई लड्ने ठाउँ बचाइरहेको छ । त्यसले सरकारलाई खबरदारी गर्ने ठाउँ बनाइरहेको छ । 

त्यो ठाउँ त्यस्तो भइदिएर अन्यायमा परेकाहरूलाई जाने ठाउँ भएको छ । उनीहरूको समर्थनमा हुनेहरूलाई जाने ठाउँ भएको छ । 

त्यो ठाउँको एउटा लेन मिचिएर पटक पटक वरपर कतै नहेरी हुइँकिने पुस्तालाई कम्तीमा के भएको रहेछ भन्ने बनाएको छ । ‘कति बस्न सकेका हुन्’ भनेर दिक्क मान्दै पनि उनीहरू भएको कुरालाई सम्झिने बनाएको छ । 

तीव्र रफ्तारमा दौडिने मान्छेले दुर्घटना गराउने ठाउँ हुन्छ । त्यो ठाउँमा त्यस्ता शासकहरूलाई रोक्ने स्पिड ब्रेकरको काम गरेको छ । 

र गज्जब कुरा त के भने, भलै यस्तो नहोस् तर भोलि यदि कुनै सनकी शासकलाई अहिले रुटिन अफ नेपाल बन्दलाई माइतीघर कुरूप भएको जस्तै भोली रुटिन अफ नेपाल बन्द नै कुरूप लागेर बन्द गर्‍यो भने पनि त्यसको विरोधमा जनता ओर्लिने ठाउँ त्यही कुरूप हुँदै गरेको माइतीघर नै हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *