मकालु अन्तर्वार्ता

यो कथा हामीलाई भन्नु थियो, वर्ल्डकप भएकै बेला भन्नु थियो : रामकृष्ण पोखरेल

राम कृष्ण पोखरेल ठमेलस्थित आइसफल प्रोडक्सनको अफिसमा थिए । विदेशको नम्बरबाट फोन आयो । 

‘तपाईँलाई इमेल आउँदै छ । धेरै बधाई छ ।’

त्यो भेनिस फिल्म फेस्टिभलबाट आएको फोन थियो । उनीहरूको ‘द रेड सुटकेस’ फिल्म विश्वकै प्रतिष्ठित मध्येको एक मानिने उक्त फेस्टिभलमा छानिएको थियो । फोन राखेपछि पनि एकछिन त उनलाई विश्वास नै भएन । 

खुसीको खबर कसलाई पहिला सुनाउने ? नाम याद आयो फिडेलको । अर्थात् उनको फिल्मको निर्देशकको । 

‘ल ब्रदर वि आर गोइङ टु भेनिस् ।’ उनले भने । 

‘के भन्छ ?’ फिडेललाई पनि विश्वास भएन । 

दुबैजनामा त्यो खबर पुगेसँगै फिल्म बनाउँदाका अनेक कुरा उनीहरूको आँखामा आइदियो ।

पहिला यो सर्टफिल्म थियो । तर त्यसमा फिडेलले धेरै चिज हाल्न खोजेका थिए । वैदेशिक रोजगारीमा जाने कुरा मात्र हैन नेपालमा भएका अन्य घटनाहरूलाई पनि मिसाएका थिए । हरेक घटनाको प्रभावले मान्छेको सपनालाई कसरी कुण्ठित पारेको छ भन्ने कुरा पनि समेटिएको थियो । त्यसरी ट्राइ गर्दै गर्दा एलिमेन्ट थपिन थाल्यो । फिल्म जत्रो हुन्छ भन्ने सोचेको हो त्यो भन्दा लामो हुने भयो । 

कि त सर्ट फिल्म बनाउने हुँदा विषय घटाउनुपर्‍यो । कि त फिचर फिल्म बनाउनुपर्‍यो । 

उनीहरूले सल्लाह गरे । अर्को निर्देशक सौरभ राई सँग पनि छलफल गरे । 

फिचर फिल्म बन्ने भयो । 

फिल्म बनाउनुभन्दा पहिला कथाको जरा खोज्न थाले । वैदेशिक रोजगारीमा गएको मान्छेको कथा भएकाले इतिहासदेखि अहिलेसम्म कस्ता कस्ता फिल्महरू बनिरहेका छन् भन्ने कुरा हेरे । नेपालबाट मान्छे विदेश जाने कारणहरू खोजे ।  त्यसमार्फत केही चरित्रहरू निस्किए । त्यसरी स्क्रिप्ट फिचर फिल्मसम्म लम्बियो । 

निर्देशक फिडेल देवकोटा

यो सबै प्रक्रियामा उनी पनि सहभागी थिए । एक प्रोड्युसरले कथा बुझ्नु अपरिहार्य हुन्छ । त्यसको जरा पहिल्याउनु झनै महत्त्वपूर्ण हुन्छ । प्रोड्युसरले त्यसो गर्नुपर्छ भन्ने उनलाई लाग्छ । 

रामले खासमा पढेका क्यामेरा हो । निर शाहले खोलेको नेपाल फिल्म स्टडिज कलेजमा उनी र फिडेलले सँगै पढेका थिए । तर विभिन्न प्रोजेक्टहरूमा काम गर्दै गर्दा उनको झुकाव प्रोड्युसर बन्ने तर्फ जान थाल्यो । उनलाई पर्दापछाडि बसेर फिल्म बनाउने र सोच्नेहरूलाई सघाउने काममा मजा आउन थाल्यो । 

उनले त्यो क्रममा धेरै विदेशी प्रोजेक्टहरूमा काम गरे । त्यो अनुभवलाई कसरी नेपालमा ल्याउने भन्ने कुरा हुँदै गर्दा आफैँले प्रोड्युस गर्ने कुरा भयो । सन् २००८ तिर आफ्नै कम्पनी ‘आइसफल प्रोडक्सन्स’ सुरु गरे । पहिलो फिल्मको रूपमा विनोद पौडेलको ‘अवेकन आइज’ गरे । जसलाई पछि बढाएर उनीहरूले ‘साँघुरो बनाए ।’ त्यसपछि मनोजबाबु पन्तको ‘ह्वेर इज द स्टोरी’ बनाए ।

त्यस दौरानमा उनीहरूले धेरै अरू कामहरू गरे । त्यो बाहेक प्रोडक्सन सर्भिसहरूमा काम गरे । धेरै डकुमेन्ट्रीहरू बनाए । बिबिसी टप गियर देखि राउटेको कथासम्ममा जोडिए । न्यासनल जोग्राफीको लागि पनि काम गरे । अहिले नेटफ्लिक्समा भएको ‘द क्लाइम’ भन्ने डकुमेन्ट्रीमा पनि काम गरे । सँगै अर्को ‘टु द टप’ भन्ने फिल्मको पनि नेपाली भागको काम गरे । जापनिज फिल्म ‘एभरेष्ट समिट अफ द गड्स’ भन्ने पनि गरे । त्यो बाहेक फिफामा भएको भ्रष्ट्राचारको बारेमा बनाइएको ‘फिफा अनकभर्ड’ डकुमेन्ट्रीमा पनि नेपालको पार्ट हेरे ।

फिक्सन फिचरमा अक्षर कुमारको ‘बेबी’ को काम पनि हेरिदिए ।

उनी त्यसबेला जे काम आउँछ त्यही गरिरहेका थिए । आफूले भेटेको र खोजेको काम गर्नुपर्छ भन्ने सधैँ मनमा थियो । 

विदेशतिरको काम गर्दा धेरै कुरा फरक हुन्थ्यो । पहिलो त उनीहरूले गरेको जसरी काम गर्नुपर्थ्यो । उनीहरूको आफ्नै दृष्टिकोण र बुझाइ हुन्थ्यो । यदि कुनै चिज एभरेष्टमा दुर्घटना भएर डकुमेन्ट्री गर्‍यो भने पनि उनीहरूको भने त्यसमा आफ्नो कोही मान्छे छ कि छैन भन्ने मा गइरहेको हुन्थ्यो । एभरेष्ट नै चढेको समूह हुँदा पनि उनीहरूलाई त्यहाँ कुनै विदेशी छ कि छैन भनेर ढल्किन थालिहाल्थे । 

उनीहरूलाई त्यो कुरा पनि फेर्नु थियो । आफ्नो कोणबाट पनि धेरै कुरा भन्न सकिन्छ भन्ने देखाउनु थियो ।

त्यसैले पनि व्यक्तिगत अनुभवबाट आएका ओरिजिनल आइडियाहरू उनीहरू खोजिरहेका हुन्थे । आफ्नो फिल्म बनाउने कुरा पनि त्यसरी नै आएको थियो । उनको त्यो प्याटर्न पनि अहिले देखिन थालेको छ । उनले बनाएका फिल्महरूका अधिकांश सबै निर्देशक पहिलोपल्ट फिल्म बनाइरहेका निर्देशक छन् । नयाँ निर्देशकलाई चाहिने राइटिङ टिम लगायत सपोर्ट टिम बनाइदिइरहेका हुन्छन् । 

‘यति धेरै फरक फरक पृष्ठभूमिबाट आएका मान्छेहरू हामी छौँ । नेपाल यति विविध छ । ती कथा भन्ने मोटिभेसन फ्याक्टर हामीले दिने भयौँ भने पक्कै पनि ठुलो काम हुन्छ’ उनी भन्छन् । 

दुई वर्षको कोभिड लकडाउनले धेरै असर गर्‍यो । उनीहरूले काम गर्ने अवस्था आएन । आफूसँग जोडिएको टिमलाई उनले त्यो बेलामा सबैभन्दा ठुलो सहायता चाहिने बुझे । त्यसैले आफ्नो कम्पनीको हायस गाडी बेचेर पनि उनीहरूको पैसालाई नियमित बनाइरहे । उनीहरूले हरेक हप्ता पेमेन्ट गर्ने सिस्टम बनाएका थिए । त्यो कुरा कुनै दिन पनि टुट्न दिएनन् । 

फिल्मको सप्पै सुटिङमा बस्न भने पाएनन् । उनी त्यो बेला रोलेक्सको एउटा फिल्म गरिरहेका थिए । त्यसमा व्यस्त थिए । तर केहीदिन भने पुगे । लोकेसन रेकी गर्ने कुरामा भने थिए । उनको सीप भएको क्षेत्र त्यो थियो । 

निर्देशक फिडेल देवकोटा सहित ‘द रेड सुटकेस’को लागि लोकेसन हेर्दै ।

उनीसँग पृष्ठभूमिमा यति गफ गरिसकेपछि हामी फिल्मको विषयमा केन्द्रित हुन थाल्यौँ ।

यो फिल्मलाई प्रोड्युस गर्दै गर्दा कथालाई हेर्ने दृष्टिकोण कस्तो भएको जस्तो लाग्छ ? यहाँ पनि शहरले गाउँलाई हेर्ने पोइन्ट अफ भ्यु फरक छ नि हैन ? 

त्यही भएर पनि हामीले यसलाई व्यक्तिको भन्दा पनि सपनाको कुरा गर्‍यौँ । यो संसार भन्दा पनि बाहिरको संसारमा जान खोज्यौँ । यो म्याजिकल रियालिजममा भएको भएर पनि थोरै आध्यात्मिक छ भन्दा हुन्छ । त्यो दृष्टिकोण अहिलेको भौतिकवादभन्दा माथि छ । त्यसरी हेर्दा हामी सबै समान हो जस्तो लाग्छ । त्यसैले पनि को शहरको को गाउँको वा को धनी वा को गरिब भन्ने कुरा नै हुँदैन ।

त्यसमा पनि कथा त समाजकै आउने हो नि । 

रिसर्चको कुरा त्यसपछि आयो । हामीले त्यसमा तयारी गर्‍यौँ । चरित्रको नाम के राख्ने देखि लिएर कस्तो चरित्र बनाउने भन्ने कुरामा मेहनत गर्‍यौँ । शहरीया दृष्टिकोण नहोस् भन्ने हामीले सोचेका हौँ । हाम्रो आइसफलको अरू काममा त अझ व्यावसायिक कलाकार नै कम हुन्थे । जुन जीवन उनीहरूले बाँचेका नै छैनन् त्यो कुरा निभाउन या त एकदमै ठुलो व्यावसायिक हो भने देखाउन सक्छ हैन भने सक्दैन भन्ने हाम्रो स्पष्ट बुझाई नै थियो । तर गैर व्यावसायिक कलाकारसँग काम गर्दा भने धेरै समय बिताउनुपर्ने भने हुन्छ । त्यसले सुटिङ सेड्युल लामो हुन सक्छ ।

यसमा व्यावसायिक कलाकार भएर पनि यसलाई फर्म फरक बनाएका छौँ । हामीसँग समय धेरै थिएन । लिमिटेड क्रु अनि बजेटमा सिद्ध्याउनुपर्छ भन्ने थियो । तर केही लिड चरित्र बाहेक बाँकी जति पनि चरित्रहरू छन् ती सबै सुटिङ गर्दै गर्दा भेटिएका त्यही जिन्दगी बाँचिरहेका मान्छेहरू नै हुन् ।

कस्तो कथा खोजिरहेको हुन्छ जस्तो लाग्यो फेस्टिभलले ?

मैले अहिलेसम्म बुझे अनुसार मुद्दा भन्दा पनि त्यसलाई मेकरले कति इमानदार भएर बनाइरहेको छ वा त्यसमा उसको व्यक्तिगत अनुभव कसरी जोडिएको छ भन्ने कुरा महत्त्वपूर्ण हो । त्यसपछि विवेचनाको कुरा आउँछ । सबैतिर अलग अलग खालको फिल्महरू छन् । हाम्रो मुख्य मुद्दा त लगभग उस्तै हो । अहिलेको समयमा माइग्रेसनले नेपाललाई धेरै प्रभाव पनि पारिरहेको छ । यसको बारेमा कसरी भनियो भन्ने कुरा धेरै हेर्छ जस्तो लाग्छ । निर्देशकको दृष्टिकोण नै महत्त्वपूर्ण हुन्छ ।

एक प्रोड्युसरको रूपमा तपाईँ के खोज्नुहुन्छ ? 

म पनि सरल कथा नै खोज्छु । साधारण आइडिया नै देख्दा सिम्पल भए पनि इम्प्लिमेन्ट गर्न गाह्रो हुन्छ । म निर्देशकलाई त्यो कथा भन्ने के ले बनायो भन्ने पनि खोजिरहेको हुन्छु । उसले पैसा कमाउन खोजेको हो कि यो कथा मैले भन्नैपर्छ भन्ने भएर भनेको हो त्यसलाई पनि ध्यान दिन्छु ।

यो कथा चाहिँ कस्तो हो ? 

यो कथा भन्नैपर्छ भन्ने भएर हो । वर्ल्डकप सकियो । तर त्यहाँ स्टेडियम बनाउँदा बितेका कयौँ मान्छेको सपना हरायो । कतिले ज्यान गुमाए । कतिपय मान्छेहरू अझै पनि काम गरिरहेका छन् । त्यो एउटा प्रोजेक्ट सकियो होला त्यस्ता प्रोजेक्ट त्यहाँ अरू कयौँ होलान् । हामीले यी मान्छेहरूको सपना वा जो मान्छेले त्यहाँ ज्यान गुमाए ती मान्छेहरूको सपना त सकिएको छैन नि त । अझै पनि कति परिवार घरमा कुरेर बसिरहेका छन् । उनीहरूको अवस्था जुन पहिला थियो त्यो भन्दा अझै नराम्रो हुँदै पो गयो कि ? वा राम्रो पनि भयो कि ।

यो कुरा हामीलाई भन्नु थियो ।

अब के हुँदैछ ?

पहिला फिल्म कसरी बनाइसक्ने भन्ने चुनौती थियो । अहिले वर्ल्ड प्रिमियरमा फिल्मको क्रुलाई कसरी पुर्‍याउने भन्ने चिन्ता परिरहेको छ । कम्तीमा सबै हेड अफ डिपार्टमेन्टलाई त्यहाँको अनुभव पुर्‍याउन पाए हुने भन्ने भइरहेको छ । सँगै फिल्मको वितरणको कुरा पनि छ ।

यो पनि पढ्नुहोस्:

‘दि रेड सुटकेस’ साधारण कथाको इमानदार कथावाचन हो : फिडेल देवकोटा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *