मकालु अन्तर्वार्ता

‘दि रेड सुटकेस’ साधारण कथाको इमानदार कथावाचन हो : फिडेल देवकोटा

भेनिस फिल्म फेस्टिभलले उनको फिल्म ‘द रेड सुटकेस’ छानेको थाहा पाउँदा फिडेल देवकोटा बर्लिनमा थिए । 

उनी त्यहाँ नै बस्थे । भिज्युअल एन्थ्रोपोलोजी पढाउँथे । नियमित दैनिकीको एक हिस्सा चल्दै थियो । उनी स्टडी रुममा थिए । त्यस बेलै उनको फिल्म अफिसियल रूपमा छानिएको व्होराको इमेल आयो । 

त्यस बेला उनले आफ्नो सिनेमालाई फेरी सम्झे । जुन दिन त्यो कथाको जन्म भएको थियो त्यो बेला उनलाई लागेको कुरा नै सम्झिए । उनलाई जुन कथा विश्वले सुन्नुपर्छ भन्ने लागेको थियो त्यो कथा विश्वले सुन्ने ठाउँमध्येको एउटा ठाउँ पुगेको थियो । उनीहरूको कथालाई पनि न्याय पाएजस्तै उनलाई महशूस भयो । 

अनि सम्झिए त्यो फोटोलाई जसले उनलाई फिल्म लेख्ने बनाएको थियो । 

नेपाल लाइभमा उनले त्यो फोटो देखेका थिए । निमेष राई नामक पत्रकारले खिचेका रहेछन् । विदेशबाट आएको शव आउनेबेलाको फोटो थियो । कफिन छेउमा रातो सुटकेस थियो पनि थियो ।

त्यो रातो सुटकेसभित्र के होला भन्ने कुरा उनको मनमा खेल्न थाल्यो । उनले त्यसमा एउटा सपनाको अवसान भएको देखे । त्यही कुरा खेलाउँदै उनले सर्ट फिल्म लेखे । 

आफ्नो डिरेक्टर साथी सौरभ राई लाई स्क्रिप्ट देखाए । उनीहरू प्राय आफ्नो कामहरू सेयर गरिरहेका हुन्थे । सौरभले उनलाई ‘तपाईँको स्टाइलमा यो त सजिलै फिचर फिल्म बन्छ दाइ’ भनिदिए । 

दुई हप्ता टाइम लिए । दिनरात गरेर लेखे । फिचर फिल्मको खाका तयार भयो । त्यसमा तीन चार महिना काम गरेपछि फाइनल भयो । 

उनको छलफल गर्ने समूहमा राम कृष्ण पोखरेल पहिलादेखि नै थिए । फिल्म कलेज पढ्दादेखि नै उनीहरूको चिनजान थियो । उनीहरू निर शाहले खोलेको नेपाल फिल्म स्टडिज् भन्ने कलेजको पहिलो कक्षामा सँगै पढेका थिए । त्यहाँ पढ्न आउनुभन्दा पहिला फिडेलको अलमल धेरै थियो । उनी पहिला साइन्स पढेका थिए । पछि व्यवस्थापन ।

सिंगापुरमा पढिरहेका थिए । पढेको विषयले छोइरहेको थिएन । उनले त्यो बेला दुई वटा फिल्म हेरे । ‘रोड होम’ र ‘रोड होम’ । ती फिल्मले उनलाई फिल्ममेकिङतिर तान्यो । केही समय पढेपछि बाटो बिराएछु भन्ने लागेर उनी पुन फिल्ममेकिङतिर नै फर्किन खोजिरहेका थिए । पढ्नलाई भारत जाने कि भनेर सोचिरहेको बेलामा नेपालमा निर शाहको कलेज खोलेपछि उनी यतै बसेका थिए ।

कथा सुनेपछि राम झनै तम्सिए । यो कथा छिट्टै भन्नुपर्छ भन्ने भयो । स्क्रिप्ट ल्याबहरूमा पठाउने योजना पनि हुन सक्थ्यो । तर उनीहरूलाई कतारमा विश्वकप चलिरहेकै बेला भन्यो भने झन् सार्थक हुन्छ जस्तो भयो । 

राम कृष्ण पोखरेल

काम सुरु भयो । पैसाको जोरजाम गर्ने जिम्मा रामले लिए । फिल्म बनाउन उनले आफ्नो गाडी नै बेचे ।

कास्टिङको लागि गाह्रो भएन । सौगात मल्ल, विपिन कार्की, प्रविण खतिवडा पनि उनको पुरानो साथी थिए । सन् २००७ मा नै उनले सौगातसँग ‘आइरोनी’ नामको सर्ट फिल्म गरेका थिए । स्क्रिप्ट लेख्दै गर्दा नै उनीहरू उनको माइन्डमा थिए । 

तर साथी भएको समय र उनले फिल्म बनाइरहेको समयमा फरक थियो । उनीहरू स्टार भइसकेका थिए । उनले बनाउन खोजेको फिल्मसँग पैसा धेरै थिएन । त्यसैले उनले साथीहरूलाई भने ‘तिमिहरू स्टार भइसक्यौ । म पैसा दिन सक्दिनँ । खेल्ने नखेल्ने कुरा स्क्रिप्ट पढेपछि मात्र निर्णय गर ।’

उनीहरूले स्क्रिप्ट पढे । मनपराए । उनको लागि त्यो सुखको क्षण थियो । विपिनले त अझ ‘म यो फिल्म त सित्तैमा पनि खेल्छु’ भनिदिएका थिए । शृष्टि पनि जोडिइन् ।

सुटिङको लागि लोकेसन सिन्धुली छाने । काठमाडौँ देखि सिन्धुलीसम्मको यात्रा थियो त्यो । भिज्युअल एस्थेटिक्स राम्रो हुन्छ भनेर छानेका थिए । 

तर फिल्मको लागि चाहिने घर भेट्न भने सङ्घर्ष चल्यो । एउटा निश्चित खालको घर चाहिने थियो । त्यहाँ उनीहरू कफिन बोकेर जानुपर्‍यो । त्यो घर खोज्दै जाँदा उनीहरूले वैदेशिक रोजगारीमा मान्छे नगएको कुनै घर पनि भेटेनन् । कि त कसैको छोरा कि त कसैको बुढा विदेशमा थिए । विदेशमा मान्छे भएको परिवारलाई विदेशबाट आएको कफिन लैजाने भन्नु गाह्रो काम थियो । 

उनीहरूले धेरै बाटो नापे । पटक पटक मानिसहरूलाई भेटिरहे । 

बल्ल घर भेटे । त्यो घरको दुई छोरा पनि विदेशमा रहेछन् । बाबु पनि कतार बसेरै फर्किएका रहेछन् । धन्न धेरै मनाएपछि उनी माने । 

तर पनि खिच्ने बेलामा मनमा अशान्ति भइरह्यो । 

यति कथा उनीबाट सुनिसकेपछि मैले भर्खरै भेनिस फिल्म फेस्टिभलमा छानिएको उनको फिल्म ‘द रेड सुटकेस’को बारेमा सोध्न थालेँ । 

+++++

तपाईँले बनाएको फिल्ममार्फत फेस्टिभलमा कस्तो कथा गइरहेको जस्तो लाग्छ ? 

यो कुरा मैले अध्ययन र अध्यापन गर्ने कुरासँग पनि जोडिन्छ । म भिज्युअल एन्थ्रोपोलोजिस्ट र फिल्ममेकर मात्र हैन एक शिक्षकको रूपमा पनि के सिकाइरहेको हुन्छु भने हरेक संस्कृतिको आफ्नै भिज्युअल ल्याङ्गबेज हुन्छ । त्यसलाई हामीले खोजी गर्नुपर्छ भन्ने कुरा म प्राक्टिस पनि गर्छु र त्यही कुरा सिकाउँछु पनि । तपाईँले कुनै तीन कोरियन निर्देशकको फिल्म हेर्नुभयो भने तीनको काम गर्ने शैली फरक फरक देखिन्छ । तर तीन वटै फिल्मको साउन्ड म्युट गरेर हेर्‍यो भने ती कोरियन फिल्म हुन् भनेर भन्न सकिन्छ । त्यसो हुनुको एउटै कारण हो कि तीनमा कोरियन संस्कृति मिसिएको छ । भारतकै कतिपय निर्देशकहरूको हकमा पनि फिल्म फरक हुन्छ तर तीनमा हिन्दी फिल्म हो है भन्ने संकेत हुन्छ । हिन्दी फिल्म यो हो है भन्ने कलर हुन्छ । तीनमा जानेर नजानेर भारतीय संस्कृति आइरहेको छ ।

तर हामीले अधिकांश नेपाली फिल्म हेर्दा कि त हिन्दी जस्तो वा कुनै अरू जस्तो भयो भनेर किन भनिरहेका छौँ भन्दा हामीले हाम्रो भिज्युअल कल्चरलाई पर्याप्त खोजी गरेका छैनौँ । त्यसो नगरेको भएर ‘नेपाली’ नभएको हो कि भन्ने जस्तो मलाई लाग्छ । यो फिल्ममार्फत हामीले श्रव्य र दृश्य भाषामा नेपाली पन वा संस्कृतिलाई कसरी खोजी गर्ने भनेर प्रयास गरेका छौँ । हाम्रो सांस्कृतिक चिनारी के हुन्छ भनेर हेर्ने प्रयत्न गरिरहेका छौँ । हुनसक्छ आजको बिस तिस वर्षमा त्यो हामीले पाउन सक्छौँ । 

कस्तो कथा गइरहेको छ भन्ने प्रश्नको जवाफमा भने हाम्रो आफ्नो संस्कृति बोल्ने नेपालीपनको एक टुक्रा गइरहेको छ जस्तो मलाई लाग्छ । जुन कुरामा हामी अभ्यस्त छौँ, जुन कुरा हामीलाई थाहा छ त्यही चिज गइरहेको हो । तपाईँले फिल्म हेर्नेबित्तिकै ए यो त मैले देखिरहेको हो, भोगिरहेको हो, बाँचिरहेको हो भन्ने नै कुरा देख्न सक्नुहुन्छ । यो साधारण कथाको अनेस्ट स्टोरिटेलिङ हो । सानो स्केलमा हामीले अनेस्ट र सिन्सियर भएर एउटा सानो कथा भनेका छौँ ।

एउटा कथालाई इमानदारितापूर्वक किन भन्नुपर्छ ? 

तपाईँको आँखामा प्रेम छ भने त्यो कुरा अभिव्यक्त नगरे पनि झल्किन्छ । स्टोरिटेलर अनेस्ट भएन भने त्यसले अडियन्सलाई छुँदै छुँदैन । सायद त्यसैले ।  

वैदेशिक रोजगारी वाला विषयलाई थोरै हेरौँ । तपाईँले माथि सुनाएको कथा अनि फिल्मको पोस्टर हेर्‍यो भने पनि त्यहाँ वैदेशिक रोजगारीले ल्याएको सोसियल कस्ट अर्थात् सामाजिक मूल्य देखिन्छ । यो कुरामा तपाईँलाई केही भन्न मन छ ? 

अल्फ्रेड लर्ड टेनिसनको एउटा ‘होम दे ब्रट हर वारियर’ शीर्षकको कविता छ । त्यसमा इङ्ल्याण्डको लागि लड्दाखेरि एक सिपाही मर्छ । उनका साथीहरूले सिपाहीको लाशलाई श्रीमतीसम्म पुर्‍याउँछन् । त्यो कविताले भनेको बेलाको सन्दर्भ देशभक्तिको थियो । सिपाहीहरू देशको सिमाना रक्षाका लागि लड्थे । 

अहिले वैदेशिक रोजगारीको लागि गइरहेका नेपाली दाजुभाइ दिदीबहिनीहरू हाम्रो इकोनोमिक वारियर्स हुन् । हाम्रो देशको रक्तसञ्चार उनीहरूको कारणले चलेको छ । पहिलाका सिपाहीले जसरी आफ्नो देशको सिमाना डिफेन्ड गर्थे, अहिले नेपालीहरूले देशको अर्थतन्त्रको टेरिटोरी डिफेन्ड गरिरहेका छन् । यो कुरा सबैले बुझ्नुपर्छ जस्तो मलाई लाग्छ । 

यो कुरा बुझाउन भनिने कथा ट्राजिक नै हुनुपर्छ कि अरू तरिकाले पनि भन्न सकिन्छ ? वा हामीले अझै बढी ट्राजिक स्टोरीहरू किन भन्नु जरुरी हुन्छ ?

मैले कथा खोल्न चाहिन । तर यो फिल्म नेगेटिभ वा पोजेटिभ केहीमा पनि छैन । यो रियालिटीमा आधारित छ अनि यसको जानरा म्याजिकल रियालिजम हो जसलाई हामीले नियो रियालिस्ट सेटिङमा खिचेका छौँ । 

तपाईँको दोस्रो प्रश्नको हकमा भने मान्छेको नेचर नै ट्राेजेडी मनपराउने हो । त्यसलाई सेटिसफाइ गर्नलाई बनाइरहेको पनि हुन सक्छ । तर मेरो लागि यो कुराहरू हैन । मलाई भने म्युजिक रियालिजममा काम गर्न मनपर्छ । मलाई आफ्नै सिनेमा संसार बनाएर त्यसैमा हराउन मनपर्छ । मैले गर्ने अरू काम पनि यसमा नै छ । त्यसैले पनि म अरूले के गरिरहेको छ भन्ने कुरामा धेरै ख्याल गर्दिन । म एक सर्जकले उसलाई जे गर्न मन लाग्छ त्यो गर्न सक्छ भन्ने कुरामा विश्वास गर्छु । 

भिज्युअल एन्थ्रोपोलोजि पढाइरहेको मान्छे तपाईँ । तपाईँले फिल्म बनाउँदा के फरक पर्छ जस्तो तपाईँलाई लाग्छ ? 

भिज्युअल एन्थ्रोपोलोजिमा पनि हामीले फिल्म नै बनाउने हो । त्यसमा हामीले साइन्टिफिक फिल्म बनाउँछौँ । त्यो फिल्म साइन्सको पार्ट हो । त्यसमा गर्न मिल्ने वा नमिल्ने कुरा हुन्छन् । नियम हुन्छ । फिक्सनल फिल्ममेकिङमा भने त्यस्तो हुँदैन । यसमा त मन लागेको गर्न पाइन्छ ।

यो फिल्म भेनिसमा किन छानियो होला ? 

यो कुरालाई थोरै पृष्ठभूमिसहित बुझ्नुपर्छ । विदेशी फिल्म फेस्टिभलमा गएका अरू कथाहरू हेर्नुभयो भने त्यहाँ निर्देशक बाहेक प्रोड्युसर, डिओपी अर्थात् सिनेमाटोग्राफर लगायत महत्त्वपूर्ण जिम्मेवारीमा विदेशीहरू थिए । ‘कालोपोथि’, हाइवे, ‘सेतो सूर्य’ सबैमा त्यही नै थियो । 

त्यो भन्दा फरक हाम्रो यो फिल्म तर यसका प्रोड्युसर पनि नेपाली हो । डिओपी पनि नेपाली नै हो । उसले पहिलोपल्ट विदेशी फिल्म फेस्टिभलमा डेब्यु गर्दैछ । यसको बाबजुद पनि हामी छानियौँ भने पक्कै पनि कथामा नै केही छ कि । वा प्रिजेन्टेसनमा नै केही छ कि । हामी कसरी पुग्यौ होला भन्ने कुरा हामी आफैलाई पनि कौतुहलताको विषय छ । यो मेरो पहिलो फिल्म हो । मैले अब आउने पाँच वटा फिल्म नै यो लेबलमा बनाउन सकेँ भने मात्र म केही हुँ भनुँला । एउटा फिल्मको आधारमा मैले आफूले आफूलाई जज गर्नै मिल्दैन । कसैले पनि मलाई त्यसरी जज गर्न मिल्दैन । यो हाम्रो समूहको कारणले सम्भव भएको हो ।  

विदेशी फिल्म फेस्टिभलमा छानिनलाई उतैको प्रोड्युसर नभई गाह्रो छ भन्ने कुरा फिल्म वृत्तमा आइरहेको हुन्छ । तपाईँको फिल्मले त्यो बिना नै भेनिस पुग्न सफल भएको छ । यो घटनाको प्रभाव आगामी दिनमा कस्तो हुनसक्छ जस्तो तपाईँलाई लाग्छ ?

म र हाम्रो टिमसँग थुप्रै मेरा विद्यार्थीहरूको समूह छ । अरू धेरै अपकमिङ फिल्ममेकरहरूको टिम पनि छ । हाम्रो उदाहरणले यदि साँच्चिकै अनेस्ट भएर काम गर्ने हो भने केही कुराले पनि नछेक्ने रहेछ भन्ने कुरा थाहा हुनसक्छ । यो घटनाले कथालाई अनेस्ट तरिकाले देखाउन सकियो भने हामीले पनि आफ्नै ल्याकतमा फेस्टिभल पुग्ने क्षमता राख्छौँ भन्ने पनि देखिएको छ । 

तर फिल्म भर्खरै छानिएको छ । यसले फिल्म फेस्टिभलमा के गर्छ हेर्न बाँकी छ । म एक डेब्यु डिरेक्टर भएकाले यो ठुलोकुरा हो । तर हिँड्नुपर्ने त अझै बाँकी नै छ नि । 

प्रोड्यसरको बारेमा वा यो फिल्म बनाउँदाको प्रसङ्गको बारेमा केही भन्नु छ ? 

यो फिल्म कसरी प्रोड्युस गरियो भन्ने कुराले नेपाली वा साउथ एसियन कम्युनिटीलाई उदाहरण दिन सक्छ । फिल्मको कथा सुनेको बेलामा आरकेसँग पुग्दो पैसा थिएन । त्यसको लागि उसले गाडी बेच्यो । यो कथालाई ढिलो नगरी भन्नुपर्छ भनेर हुटहुटी दियो । हिम्मत राख्यो । यदि उसले गरेको जस्तै काम गर्ने कुनै प्लेटफर्म स्टेटबाट पनि भइदियो भने हामीजस्ता इन्डिपेन्डेन्ट फिल्ममेकरहरूलाई सजिलो हुन्छ । 

मैले त आरकेले इन्डिपेन्डेन्टली काम गर्दा गर्दा चान्स पाएँ । तर चान्स नपाएका म जस्ता अरू हजारौँ निर्देशक छन् । हामीले त्यस्ता ट्यालेन्टहरूलाई फैलिने बाटो बनायौँ भने भेनिसमा जाने म जस्ता अरू सयौँ हुन सक्छन् । अनि सँधैभरी फिल्मको लागि करोड नै पनि चाहिन्न । कहिलेकाहीँ पाँच वा दश लाखले पनि हामीजस्ता फिल्ममेकरलाई धेरै कुरा फरक पार्छ । 

किनकि भेनिस त्यति टाढा पनि रैनछ । 

+++++

हाम्रो कुराकानी सकियो । कुराकानी सकिएपछि पनि हामी केही बेर अफ द रेकर्ड गफ गरिरह्यौँ । 

अनि नेपालमा भएका कथाको विविधता सम्झिए । त्यसलाई यहाँकै साधन स्रोत प्रयोग गरेर यहाँकै मानिसहरूले भन्नुपर्छ भन्नेमा पनि जोड दिए । 

उनले त्यसपछि पनि पटक पटक रामकृष्णलाई धन्यवाद दिए  । कलाकारहरूले उनलाई गरेको विश्वास सम्झिए । उनीहरूले कमिटमेन्ट नदिएको भए यो सम्भव हुने थिएन भने । 

उनले पटक पटक ‘म केही हैन के’ भनेर दोहोर्‍याइरहे । 

अनि भनिरहे ‘यो अन्तर्वार्तामा पनि म धेरै नआऊँ । मेरो टिम आओस् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *