शिल्पीको ‘ट्रान्जिट’ मा यात्रारत कलाकारसँग

बाहिर गड्याङ्ग गुडुंग गर्दै थियो । पानीले झण्डै झण्डै भिज्दै म शिल्पी नाटक घरतर्फ लागेँ । मलाई त्यहाँ प्रदर्शनको तयारी हुँदै गरेको कुमार नगरकोटी लिखित नाटक ‘ट्रान्जिट’ बारे कुराकानी गर्नु थियो । 

निर्देशक घिमिरे युवराजले भित्रै बोलाए । 

शिल्पी थिएटरभित्र न्यानो थियो । त्यहाँ म पहिलोपल्ट गएकी थिएँ । ब्याक स्टेज हुँदैभित्र पुगेँ । ढोकाबाट पस्नासाथ अगाडि पर्ने स्टेजको भागमा रिहर्सल चलिराखेको थियो । 

कलाकारहरु छरिएर नाटकको अभ्यास गर्दै थिए । म घिमिरेको छेउको कुर्चीमा गएर बसेँ ।

‘एकै छिन है त, अब पाँच–दस मिनेटमा सकिन्छ अनि सुरु गरौँला’ ट्रान्जिटकी कलाकारमध्ये एक आकाङ्क्षा कार्कीले आग्रह गरिन् । उनको आग्रह पनि न्यानो थियो ।   

अभ्यास सकियो । कुरा गर्न मलाई कौतुहलता भइराखेको थियो । मैले निर्देशकबाट नै प्रश्न गर्न सुरु गरेँ । 

‘नाटक आउँदै गर्दा कस्तो महसुस हुँदै छ ?’ मेरो प्रश्न सामान्य र स्वाभाविक थियो । 

‘तैयारी हुँदै छ । अलिअलि तनाव भए पनि त्यसलाई काबु गर्न व्यायाम, खेलहरू, र एक अर्काको हेरचाह गर्ने अभ्यास गरिरहेका छौँ । च्यालेन्जिङ छ सबै कुरा ।’ 

घिमिरे युवराज

‘तर टिमवर्क खतरा छ,’ उनले कलाकारतिर हेरेर हाँस्दै भने । 

‘ट्रान्जिट’ नाटक टाइम ट्राभल गर्ने एउटी युवतीको कथा हो । उनी भविष्यबाट वर्तमानमा आएकी भएर भौतिक रूपमा ‘ट्रान्जिट’ भनिएको हो भने उनी आएको कुरा पनि अर्को मानव नामको पात्रको मनस्थितिमा चलिरहेको हुन्छ । त्यो उसको मानशिक ट्रान्जिट पनि रहेछ । मनोवैज्ञानिक रूपमा मानवको मनस्थिति अलि फरक र सृजनशील भएको कारण यो नाटक साङ्केतिक रूपमा सृजनशील दुनियाँको अनि सोच विचारको पनि ट्रान्जिट पनि हो भनेर घिमिरेले बताए । 

‘तीन स्थान: स्टुडियो, कफी घाट र संग्रालयलाई सेटिङ बनाएर लेखिएको यो नाटक नगरकोटीको तेस्रो नाटक हो । हामीले यहाँ नाटकलाई उत्सव जसरी नै मनाइरहेका छौँ । नगरकोटीले नाटक लेख्दा कलाकारलाई माया गर्नुहुन्छ, एकदम ध्यान दिएर हेर्नुहुन्छ । त्यो हुनाले यो नाटकको आत्मा नै नाटक र कलाकारितालाई मन मिल्ने मान्छेहरू मिलेर गरेको काम हो । साँच्चै मन लागेर गरेका हौँ । ल गरौँ भनेर यत्तिकै गरेको हैन ।’ उनले थपे ।  

मेरो बायाँपट्टि सबै जना कलाकार घेरा बनाएर बसेका थिए । कोही कुर्चीमा बसेका थिए भने कोही भुईँमा । नाटकको त्यस स्टेजमा मलाई पनि बसौँ बसौँ जस्तो लाग्याे । म बाँकी सबैसँग कुरा गर्न पलेँटी कसेर बसेँ । 

मेरो सामु नाटकमा अभिनय गरिरहेका कलाकार  दिव्य देव, आकांक्षा कार्की, वासना र मिल्सन राई थिए । निर्देशक घिमिरे युवराज पनि सँगै जोडिए । 

रिहर्सल सुरु भएको तीन हप्ता भइसकेछ ।

‘यो नाटक अरू नाटकभन्दा विशेष छ ?’ 

‘यो विसङ्गतवादी नाटक हो । अर्थात् अब्सर्डिजममा आधारित । यहाँ धेरै कुरा हुन्छन् जुन अन्य परम्परागत नाटकमा हुँदैनन् ।’ युवराजले जवाफ दिए । 

कथा सिधै नबगेको भएर अलि गारो परेको कुरामा सबैले सहमति जनाए । यस्तो विसङ्गतिमा कसरी दर्शक र कलाकारले सम्बन्ध भेट्टाउने भन्ने कुरा पनि छलफलको विषय बनेछ । अस्वाभाविक नाटक भएको कारण कलाकार पनि सोच्न बाध्य भएको देवले खुलाए । 

दिव्य देव

‘अरू कथाहरूमा कुन पात्रले के भन्छ, के गर्छ भनेर थाहा हुन्छ, भन्न सकिन्छ, तर यहाँ त हामीले अनुमान नै लगाउन सक्दैनौँ । त्यसै कारणले पनि दर्शकलाई रोचक लाग्नेछ हाम्रो नाटक’ उनले थपे ।

निर्देशक युवराजको लागि यो नाटक ठुलो चुनौती बनेको रहेछ । सामाजिक तौरमा गरिने नाटकहरू भन्दा फरक भएको कारणले उनलाई  साँच्चै नै गाह्रो लागेको रे । 

‘नेपालमा हामी जोखिम लिँदैनौँ । बाहिर बाहिर एकदम अपरम्परागत तरिकाले नाटक खेलिने गरिन्छ । यो नाटक एउटा चुनौती हो’ आकांक्षाले पनि उनको कुरामा सहमति जनाइन् ।    

‘गाह्रो चाहिँ किन छ ? कुन हिसाबले ?’ मैले फेरि सोधेँ । 

‘यथार्थवादी नाटक गर्दा एउटा सेट फरम्याट हुन्छ । यो विसङ्गतवादी नाटक भएको कारणले ठ्याक्क यति गर्न पर्छ है भनेर ठम्याउन गाह्रो छ । यहाँ भएका पात्र खेल्नु वा बुझ्नु नै अलिकति चुनौतीपूर्ण छ।’ युवराजले जवाफ दिए ।  

‘तपाईँ कुनै पात्रभित्र कसरी पस्नुहुन्छ ?’ 

‘मानसिकता र भौतिकता, दुवैले मद्दत गर्छ,’ उनी भन्दै गए, ‘जस्तो म कुनै लुगा अथवा घडी पात्र बनेको बेला मात्र लगाउँछु । घडी लगाएपछि म त्यो चरित्र हो जस्तो लग्छ । मञ्चमा पस्ने बित्तिकै पनि जादु हुन्छ के । आफैँ म त्यो पात्र हो भनेर आइहाल्छ।’ यसमा नखेले पनि अरू नाटकमा कलाकार भएर काम गरिसकेका युवराजले भने । 

वासना तिमल्सिनाको लागि भने यो प्रक्रियामा निर्देशकको भूमिका ठुलो हुन्छ । उनी भन्छिन्, ‘निर्देशकको कुरा सुनेर काम गर्दा गर्दै समय लग्छ; बिस्तारै बिस्तारै सिकिन्छ ।’

आकांक्षाको जोड भने चरित्रहरूले बनाउने आपसी सम्बन्धनमा थियो । उनी भन्दै गइन् ‘हामीले मञ्च बाहिर पनि निष्कपट सम्बन्ध बनाउन पर्छ । एक अर्कालाई बुझ्न पर्छ । यो नाटकमा हाम्रो पनि टिम सानो छ । निर्देशक सहित गरेर छ जना मात्र छौँ । आत्मीयता र सम्बन्ध बनाउन जति थोरै टिम भयो उति सहज पनि हुँदो रहेछ । सँगै काम गर्दै जाँदा एक अर्कालाई बुझ्दै जाने अवसर पाइन्छ । त्यसले पनि चरित्र निर्माणमा सहयोग पुर्‍याउँछ ।’ आकांक्षाले थपिन् ।

आकांक्षा कार्की

‘भर्खरै अभिनय सुरु गरेको मान्छे अनि पहिला फिल्म वा नाटकमा जमिसकेका कलाकारलाई निर्देशन गर्दा के फरक हुन्छ ?’ मेरो प्रश्न युवराजलाई थियो । उनी यो नाटकमा दुवैखाले कलाकारसँग काम गर्दैछन् । 

उनले दिएको जवाफ अनुसार अनुभव भएको मान्छे छ भने पात्रको निर्माण र त्यसलाई निभाउने प्रक्रियामा धेरै भनी राख्न पर्दैन, गरिराखेको पात्रको निर्माणमा मात्र ध्यान दिए पुग्छ । नयाँलाई पात्र निर्माणको प्रस्तावमै काम गराउन पर्ने हुन्छ । त्यस कारण अलि समय लाग्ने रहेछ । ‘अनुभव भएको कलाकारलाई कसरी हिँड्ने भनेर सिकाउन पर्दैन । भाव मात्रै भने पनि पुग्छ ।’ युवराजले जबाफ दिए ।  

‘सिनेमा र नाटकमा के गाह्रो लाग्छ ?’ मलाई सबैको उत्तर सुन्न मन लाग्यो। 

नाटकले विनम्र बनाइदिन्छ । ‘जति नाटक गरे पनि हरेक नाटकको सुरुवातमा फेरि शून्यमा जाँदै छु भन्ने आभास गर्नपर्छ नत्र प्रगति नै हुँदैन,’ देवले भने । 

तर शून्यमा जान सजिलो नहुने पनि उनले बताए । ‘स्क्रिप्ट पढ्दा यो त आइहाल्छ नि जस्तो लागे पनि मञ्च मा उक्लेपछि त्यो गर्न सकिँदैन रहेछ ।’ 

त्यसैमा आकांक्षाले थपिन्, ‘अभ्यास र मेहनत गर्न तयार हुनु पर्छ । यहाँ कोही ठुलो सानो भन्ने हुँदैन । एउटा कलाकार अलि चर्चित भएपछि आफूलाई ठुलो मान्ने जस्ता कुरा नाटकमा लागु नै हुँदैन । धेरै वर्षको अनुभव भए पनि नाटक घरमा फेरि आउँदा पहिलो पल्ट नै आएजस्तो हुन्छ ।’

देवलाई पनि नाटक नै सजिलो लाग्दो रहेछ । ‘सिनेमा टुक्राटाक्रीमा खिचिन्छ, नाटकमा सबै एक्कैचोटी गर्न मिल्छ । सिनेमा खेल्दा सचेत भएन भने काम गर्न गाह्रो हुन्छ ।’नाटकमा तह तहमा बुझेर काम गर्न पाइन्छ । सिनेमा गर्दा हतार लाग्दो रहेछ ।  

‘अनि सिनेमामा त झन् काट्न मिल्छ, बिचमा रोकिन मिल्छ, नाटकमा मिल्दैन; त्यस कारणले नाटक गाह्रो हैन र ?’ 

‘बाहिरबाट हेर्दा त्यस्तो लाग्न सक्छ । नाटकको आफ्नै चुनौतीहरू छन्, त्यसको मतलब सजिलो भन्ने हैन, यो छुट्टै हिसाबले गाह्रो हुन्छ । केही बिग्रियो भने पनि मिलाउन सक्छौँ, त्यसैले अहिले देखि नै ७-८ घण्टा खटिएर काम गर्छौ‌ ।’

वासना तिमल्सिना

बाहिर बाहिर त झन् ८-९ घण्टाको नाटक समेत चल्ने गर्छ । त्यसको निरन्तरता ठुलो कुरा हैन, त्यसको रोमाञ्चक कुरा नै त्यै हो, हामी कलाकारलाई गर्न सहज लाग्छ ।’ देवले भने । 

त्यसैमा आकांक्षाले थपिन् , ‘नाटक गर्ने भन्ने बुझाई छ नि त हामी सबैको, नाटक गर्ने भनेको नै नाटक नगर्ने हो । नाटक भनेको त्यो पात्रझैँ  बाच्नु हो । विभिन्न अभ्यासले त्यो कुरा हाम्रो ज्यान र मस्तिष्कमा हाल्दिने हो । अनि मञ्चमा जाँदा त्यो मान्छे जसरी बाँच्न जाने हो, नाटक गर्न जाने हैन । यदि नाटक गर्न जानुभयो भने कसैले महसुस नै गर्दैन । पात्र बनिसकेपछि ज्यानको कोणकोमा म त्यो पात्र हो भन्ने आउँछ । सबैलाई छुने अभिनय हुन चरित्र निभाउँदा इमानदारिता चाहिन्छ ।’ 

‘मिल्सन, तपाईँको त पहिलो नाटक हो, कस्तो लागिराखेको छ त ?,’ मैले डेब्यु गर्न थालेका कलाकार मिल्सनलाई सोधेँ । 

अहिलेसम्म आफू आराममा भएको उनले बताए । नाटकको दिन नजिकिँदै गर्दा मनमा हल्का हल्का डर पनि मनमा पलाएको छ रे । ‘सिक्दै छु, भत्किँदै छु, कति कुरा भत्काउनु नि छ, कति निर्माण पनि गर्नु छ । यो प्रक्रिया नै कस्तो मिठो लागिराखेको छ ।’ उनले काव्यिक उत्तर दिए । 

रियालिटी शाे ‘पोएट आइडल’ हुँदा देवले उनलाई नाटकबारे भनेका रहेछन् । कुमार नगरकोटकीद्वारा लिखित नाटक हेर्न पाइन्छ भनेर उनी खुसी नै थिए । एक सबेरै देवले फोन गरेर नाटक खेल्ने प्रस्ताव राखेपछि नाइँ भन्ने विकल्प नै थिएन । टिममा हुनुभएको सबै कलाकारको पहिल्यैदेखि काम देख्दै आएको कारण उनी सबैलाई रुचाउने गर्छन् । उनीहरू सँगै काम गर्न पाउँदा मिल्सन निकै हर्षित देखिन्थे ।  

उनले बोलिसक्नासाथ युवराजले थपे, ‘यो नाटकबाट दुई जना अभिनेताले चुरोट खान छाड्दै छन् ।’ 

‘यो नाटकमा मेरो पात्रले काल्पनिक चुरोट पिउँछ, काल्पनिक धुवाँ उडाउँछ । म चाहन्छु कि मेरो वरपरका मित्रहरूले पनि काल्पनिक चुरोट पिऊन् र काल्पनिक धुवाँ उडाऊन् । काल्पनिक चुरोट पिउनुस् खास्सै फरक हुँदैन ।’ देवले नाटकीय शैलीमा थपे ।  

वासनालाई त झन् चुरोटको धुवाले माइग्रेन हुँदो रहेछ । 

‘के गर्नुहुन्छ त रिहर्सलको बेला अप्ठ्यारो पर्दा ?’

मिल्सन राई

उनको अनुहारमा नै देखिँदो रहेछ गाह्रो हुँदा । सबैले धेरै माया र चिन्ता गरेपनि कतै कतै आफैँलाई नरमाइलो लाग्दो रहेछ ।

‘जहिले पनि टाउको दुखेको मान्छे भनेर भन्छन् कि जस्तो पनि लाग्छ। भन्न नपाए हुन्थ्यो नि जस्तो पनि लाग्छ ।’

आफूलाई गाह्रो हुँदा पनि गाह्रो भएको भन्दा अरूलाई अप्ठ्यारो नहोस् भनेर कतिले नभन्ने पनि गर्छन् । तर उनी त्यसो नगर्दी रहिछन् । भनिन् ‘म चाही भन्ने गर्छु। भन्न पर्दो रहेछ । गाह्रो भयो भने दबाई दिएर आराम गर भन्नु हुन्छ । अलिकति सजिलो पनि हुन्छ ।’ 

यति रमाइलो छलफल भइराखेको बेला मेरो आँखा ठ्याक्क फोनमा पुग्यो । यसो हेरेको त पचास मिनेट कटिसकेछ । लगभग कुराकानी सकिइसकेको थियो । 

मैले सबैसँग बिदा लिएँ । बाहिर झमक्क साँझ परिसकेको थियो । 

मेरो शिल्पी थिएटरको ट्रान्जिट सकिइसकेको थियो । त्यसपछि पठाओ चढेर अर्को ट्रान्जिट घर पुग्नु थियो । 

ट्रान्जिट नाटक शिल्पी नाटक घरमा श्रावण ५ गतेबाट मञ्चन हुँदै छ । तपाईँका पनि अनेक ट्रान्जिट होलान् । यस्सो समय मिलाएर शिल्पी थिएटरलाई पनि ट्रान्जिट बनाउनुहोला है ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *