गुरुङका चित्रले भन्दैछन्– ‘गाउँमा युवा रित्तिँदैछन्’

कलाका धेरै पक्ष हुन्छन् । तीनलाई मानिस आफ्नो परिस्थिति र सोचाई अनुसार फरक दृष्टिकोणले हेर्ने गर्दछन् । 

हरेक मान्छे कुनै न कुनै तरिकाले कलाकार हुन्छ । फरक यही हो, कोही आफ्नो प्रदर्शनी गर्न सक्छन् र सबैको सामुन्ने देखाउँछन् ।  कोही मनको दराजमा पोको पारी गुटमुटाएर राख्छन् ।  

म पनि आफूलाई सानोतिनो कलाकार ठान्ने गर्छु । प्रदर्शनी गर्ने क्षमता नभए पनि अरू कलाकारहरूले प्रदर्शित गरेका कलाले मलाई खुशी बनाउँछन् । त्यसैले पनि कसैले कतै आफ्नो मनको पोकाबाट कलाका टुक्रा बाँड्दै छन् कि भनेर खोजिरहेको हुन्छु ।

त्यही क्रममा म केही दिन पहिला बबरमहल पुगेँ । त्यहाँ एउटा प्रदर्शनी भइरहेको थियो । जसको शीर्षक थियो, ‘लस्ट इन ट्रान्जिसन ।’

बबरमहल भित्र पुग्नासाथ एउटा पोस्टर देखियो । त्यो निकै सरल थियो, जसमा तीन जना महिला ओढनी ओढेर टाढा केही हेरिराखेका जस्तो देखिन्थे । झलक्क हेर्दा त्यो धेरै वर्षअघि खिचिएको फोटोजस्तो लाग्थ्यो । खैरो रङ्ग; सादा देखिने मान्छे । कलाकार मन गुरुङले बनाएको चित्र थियो त्यो । 

त्यो चित्रले भित्र खैरो रङ विशेष केही हुनेवाला छ भन्ने संकेत गर्‍यो । 

हामी भित्र पस्यौँ । त्यहाँ राखिएका चित्रको एक झलक देख्नासाथ मलाई उकुसमुकुस भयो । एउटा ठुलो चित्र थियो । त्यहाँ विभिन्न महिला र बच्चा बच्ची थिए । पृष्ठभूमिमा टन्ने मनि ट्रान्सफरको लोगो राखिएको थियो । अगाडिका मान्छेको खैरो रङ पछाडिका लोगोहरूको चम्किलो रङ । मान्छेको खैरो रङ्ग छाडेर पछाडिको रङ्गिन लोगोले सबैको ध्यान आकर्षण गर्थ्यो । रेमिटको उज्यालोको चक्करमा कति धेरै अनुहारको रङ उडेको छ भन्ने कुरा त्यसले बताएजस्तो लाग्थ्यो । 

ती महिलाले एकै किसिमका पहिरन लगाएका थिए । कसैको जिउमा एउटा मालाबाहेक गरगहना देखिन्थेन । सँगै उभिएका फुच्चीहरू पनि निकै साधारण देखिन्थे । कसैले सुरुवाल लगाएका थिए भने कसैले फ्रक । निकै बेर नियाल्दा साना साना कुराहरू कति सुन्दर रूपमा बनाइएको थियो । लुगाको खुम्चाई, अनुहारमा परेको चाउरी र आँखामा लुकेका पीडा, सबै प्रस्ट रूपमा देखिन्थ्यो । 

त्यो पीडा उनीहरूलाई वैदेशिक रोजगारीले दिएको थियो । किनकि पछाडि भएका लोगोहरूमा रेमिटको लोगो थिए । रेमिट अर्थात् पैसा पठाउने लोगो । त्यो तस्बिर एउटा अधुरो परिवारको खिचिएको फोटो जस्तो थियो।  फरक यो मात्र थियो कि परिवारका पुरुष सदस्यको ठाउँ ती लोगो उभिएका थिए । 

एकैछिन् नियाल्दा मनमनै खल्लो लगेर आयो । ती आमाका आँखाहरू आफ्नो छोरालाई दसैँमा टिका लगाउन नपाएर कति रोए होलान् । ती फुच्चीहरूले बाबालाई नदेखेर अनुहारको आकार नै बिर्सिने हुन् कि जस्ता प्रश्नले दिमाग खटखटाई राखे । रेमिटको चम्किलोले उनीहरू बिस्तारै बेरङ्ग, खल्लो हुँदै गइराखेका छन्। 

खैरो रङमात्र प्रयोग गरेर त यति स्पष्ट तस्बिर बनाउन सक्ने मान्छेले अरू रङ्गहरू किन नचलाएका होलान् जस्तो पनि लागेको थियो । तर फेरि यो चित्रबारे सबैभन्दा उत्कृष्ट कुरा नै यसको रङ्ग थियो । एउटै रङ वा त्यसको सेडबाट चित्र बनाउने कला । अर्थात् मोनोक्रोम ।

चुम्बकझैँ त्यस चित्रमा अडिएकी म बिस्तारै अरू तस्बिरतर्फ लोभिँदै गए ।   

बाँकी तस्बिरहरू पनि उस्तै शैलीका थिए । सबैका चरित्र उस्तै । सबै मानिसहरू एउटै गाउँका मान्छे पो हुन् कि ? तर कतैतिर पनि युवाहरू थिएनन् । वैदेशिक रोजगारीले कसरी गाउँ खाली बनाइरहेको छ भन्न त्यो पर्याप्त थियो । 

त्यसरी निक्कैबेर चित्रमा अल्झिएर म फर्किएँ । त्यो दिन चित्रकार मन गुरुङ ग्यालरीमा थिएनन् । उनको बारेमा बुझ्ने कौतुहलता जागेर आएपछि मैले इन्स्टाग्राममा म्यासेज गरेँ । 

‘यस शृङ्खलाको शीर्षक ‘लस्ट इन ट्रान्जिसन नै किन राख्नुभएको ?’ मैले सोधेँ । 

उनले जवाफमा आफ्नो आदिवासी संस्कृति, परम्परा, ज्ञान, र जीवनशैलीको पतन वा लोप भइराखेकोमा चिन्ता व्यक्त गरे । 

समाज पश्चिमीकरण हुँदै आधुनिकतातर्फ लागिराखेको बताए ।  केही दशक पहिलेको समाज आफ्ना अग्रजहरूको रूपमा अझै पनि साक्षी रहेको भए पनि त्यो हराउँदै गएकोमा दुःख मान्दै भने,’ ‘अहिलेको परिवेशमा गाउँघरतिर युवाहरू पाउन गाह्रो हुन्छ । सबै जना रोजगारीको लागि विदेश जाने गर्दछन् । गाउँमा बाकी केवल वृद्ध वृद्धा, महिला र केटाकेटीहरू मात्र छन् जो बिस्तारै पछाडि परेका छन् । यी मानिसहरू न परिवर्तन स्वीकार सक्छन् भने न बेवास्ता नै गर्न सक्छन् । जसरी पुस्ताहरू बदलिँदै जान्छन्, त्यसरी नै हाम्रो सांस्कृतिक पहिचान पनि गुम्दै जान्छ । लस्ट इन ट्रान्जिसन’ मार्फत, म यहाँका जनताको कमजोर अवस्थालाई दृश्यात्मक रूपमा खिच्न चाहन्छु ।’

‘चित्रमा भएका चरित्रहरू कसरी छान्नु भयो ?’ मलाई ती पात्रहरू उनको दिमागमा कसरी आए होला भन्ने कुरा बुझ्न मन थियो । 

उनले पात्र बनेका ती व्यक्तिहरू अनुभूतिलाई कैद गर्न विशेष ध्यान दिएछन् । दुर्गम गाउँका मानिसहरू मार्फत आफ्नो चित्रलाई दृश्यरूपमा सङ्ग्रह गरेछन् । यी अनुभूतिहरूको अवलोकन गर्न, एक गाउँबाट अर्को गाउँमा ढोका ढोका ढकढक्याउँदै र दृश्यहरू सङ्कलन गर्दै पुगेछन् । 

‘किन त ?’

‘किनभने तिनीहरू हाम्रो संस्कृति, परम्परा र पहिचान जोगाउने पुस्ता हुन् । यो प्रदर्शनीमा खोर्ला, उहिया, सिंगला, लाप्राक, यमगाउँ, र बूढीगण्डकी नदीको किनारमा उत्तरी गोरखाको रुन्चेट लगायतका गाउँका मानिसहरूको प्रतिनिधित्व रहेको छ  । हाल यस प्रदर्शनीमा प्रस्तुत भएका केही पात्रहरू हामी माझ छैनन् ।’ उनले जवाफ दिए । 

मन गुरुङ गोर्खाका खोर्ला नामक दुर्गम गाउँमा जन्मेका थिए । उनी पढ्ने विद्यालय त्यहाँबाट टाढा गोर्खा बजारमा थियो; जहाँ जान दुई दिन लाग्थ्यो । समयको बाध्यताले गर्दा सात वर्षको कलिलो उमेरबाट नै उनी कोठा भाडामा लिएर बस्न पर्ने अवस्था आयो । 

कोही आफन्तहरू नजिक नभएपछि उनले कलालाई आफ्नो साथी बनाए । सुपर हिरो, देवीदेवता र चराचुरुङ्गीका चित्र कोरेर आफ्नो एक्लोपनलाई मेटाए । त्यसक्रममा बनेका कलाको सबैले प्रशंसा गरेपछि झन् बनाऊँ बनाऊँ हुन थाल्यो । 

तर त्यो बेला चित्रकलालाई कसैले पनि भविष्यमा पेशा बन्न सक्ने काम ठान्दैन थिए । स्कुल सकेर औरघाट बजारमा उनी ११ कक्षा पढ्न थालिसक्दा पनि चित्रकलालाई समय खेर फालेको भन्नेहरू थिए । काठमाडौँ आएपछि पनि चित्रकला पढ्नु ठुलो चुनौती भइरह्यो । ललितकला क्याम्पसमा भर्ना हुन कलाको बारेमा पारिभाषिक ज्ञान चाहिन्थ्यो । भर्खरै आफ्नो सानो गाउँबाट काठमाडौँ आएका उनलाई प्रवेश परीक्षा पास गर्न पनि हम्मे हम्मे पर्‍यो । तर पास भएपछि भने उनले पछाडि फर्किनु परेन । उनले ब्याचलर्समा टप नै गरे । 

यथार्थवादी चित्र बनाउने मनले अमेरिकी सरकारबाट रियल आर्ट्स पढ्न पूर्ण छात्रवृत्ति पाए । दोस्रो पटक ब्याचलर्स गर्ने क्रममा त्यहाँ भएका अरू कैयौँ कला संस्थाहरूमा पनि अध्ययन गरे । यो प्रदर्शिनीमा उतारेको शैली उनले त्यही अकाडेमी अफ रियल आर्ट्समा सिकेका हुन् । अहिले गुरुङ ललितकला क्याम्पसमा पार्ट टाइम चित्रकारिता सिकाइरहेका गुरुङको ‘लस्ट इन ट्रान्जिसन’ प्रदर्शनी सिद्धार्थ आर्ट ग्यालरीमा जुलाई १८ सम्म जारी रहने छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *