प्रतिपक्ष विरोधाभाषमा फस्ने र सत्तापक्ष निरंकुश हुने प्रवृत्ति त्यागौँ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिपक्ष विरोधभाषमा फस्ने र सत्तापक्ष निरंकुश बन्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका छन् ।
सहीलाई सही र गलतलाई गलत भन्ने पक्षमा प्रतिपक्ष र सत्तापक्ष तयार नभएसम्म मुलुकमा सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थालाई सही ढङ्गले अघि बढाउन नसकिने भएकाले पनि प्रतिपक्ष विरोधमा र सत्तापक्ष निरंकुश बन्न नहुने उनको तर्क थियो । आइतबार प्रतिनिधिसभा बैठकमा गृह मन्त्रालय अन्तरगतको विनियोजन शीर्षकमाथि सांसदहरूले राखेका प्रश्नहरूको जवाफ दिने क्रममा उपप्रधानमन्त्री श्रेष्ठले सहीलाई सही भन्न सक्ने गरी राजनीतिक दलहरू अघि बढे मात्रै मुलुकको लोकतन्त्रको औचित्य पुष्टि गर्न सकिने समेत स्पष्ट पारे ।
उनले प्रतिपक्षका केही सांसदहरूले प्रहरी बढुवामा पैसाको चलखेल भएको आरोप लगाएको उल्लेख गर्दै त्यसलाई आफूले शून्यमा झारिदिएको दाबी गरे । उपप्रधानमन्त्री श्रेष्ठले नेपालको लोकतन्त्र मौलिक खालको भएको उल्लेख गर्दै त्यसलाई उन्नत ढङ्गले अघि बढाउने विषयमा राजनीतिक दलहरूले गम्भीर आत्मसमिक्षा गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।
उपप्रधानमन्त्री श्रेष्ठले वर्षातका कारण हुने विपद् जोखिम न्यूनीकरणका लागि सरकारले सम्बन्धित निकायहरूलाई तयारी अवस्थामा राखेको दाबी समेत गरे । त्यसका लागि आवश्यक लगानी र साधनको व्यवस्थापन गर्ने कार्यलाई पनि सरकारले तीव्रता दिएको उनको भनाई थियो ।
उपप्रधानमन्त्री श्रेष्ठले विपद् व्यवस्थापनका लागि स्थानीय तहमा रहेका विपद् व्यवस्थापन समितिहरूलाई पनि सक्रिय बनाइएको बताए ।
यस्ताे छ उपप्रधानमन्त्री श्रेष्ठको धारणा
‘हामीले नेपालमा  बलिदानी पछाडि निरंकुश तन्त्र अन्त्य गरेर लोकतन्त्रको स्थापना गरेका छौँ । तर त्यो लोकतन्त्र बहुदलीय प्रतिस्पर्धामा आधारित लोकतान्त्रिक शासन प्रणाली हो । त्यसको मूल पक्ष यो रहेको छ । बहुदलीय प्रतिस्पर्धामा आधारित शासन प्रणालीको सकारात्मक पक्षहरूकै कारणले हामीले त्यसलाई आत्मासात गरेका हौँ । त्यसलाई संस्थागत गर्ने संविधान बनाएका हौँ । र, त्यसलाई कार्यान्वयनको प्रक्रियामा अघि बढाएका हौँ । त्यसकारण यसको सकारात्मक पक्षहरूको बारेमा थप चर्चा हामीले गर्न परेन । यसलाई रक्षा गर्ने, सुदृढ गर्ने पक्षमा हामी त्यसकारणले छौ पनि । तर बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीको कुरा गर्दा यससँग जोडिने कमजोरीहरूको बारेमा पनि हाम्रो ध्यान जान जरुरी छ । यहाँ पनि हामीले देखिसकेका छौँ । यहाँ पनि के देखिएको छ भने पार्टीहरूबिच प्रतिस्पर्धाको कारणले गर्दा ठिकलाई ठिक, बेठिकलाई बेठिक, सहीलाई सही, गलतलाई गलत भन्ने कामबाट विचलित हुने कमजोरी यसमा अन्तर्निहित हुन सक्छ । यो खतरा छ । सरकारको विरोध गर्नुपर्ने भएको कारणले प्रतिपक्षमा रहेकाहरूले प्रतिपक्ष शक्ति वा प्रतिपक्षमा रहेका माननीय सदस्य वा राजनीतिक नेता, कार्यकर्ताहरूले जस्तोसुकै ठिक काम गरेपनि विरोध गर्ने र विरोधवाद फस्ने, निषेधवादमा फस्ने खतरा रहन्छ । यो प्रतिपक्षमा मात्रै समस्या होइन । यो सरकारको पनि, सत्तापक्षमा पनि समस्या हुन्छ । सरकार सत्तापक्षसँग जोडिने स्वाभाविक चरित्रका कारण निरंकुश बन्ने, असहिष्णु बन्ने खतरा रहन्छ । यो लोकतन्त्रलाई हामीले साँच्चै सही ढङ्गले अभ्यास गराउने, लोकतान्त्रिक अभ्यासको औचित्य पुष्टि गर्ने र लोकतन्त्रलाई अझ उन्नत बनाउँदै जाने हो भने हामी सबैले आत्मसमिक्षा गर्न जरुरी छ ।
प्रतिपक्ष विरोधवादमा नफसौँ । सरकार सत्ताको स्वभावजन्य चरित्रका कारण निरंकुशताको सिकार नबनोस् । यसमा हामी सबै गम्भीर भएर आत्म समीक्षा गर्न जरुरी छ । त्यसो भयो भने मात्रै हाम्रो लोकतन्त्र वास्तविक लोकतन्त्र हुन सक्छ । यद्यपि हाम्रो नेपालले आफ्नै मौलिक ढाँचाको लोकतन्त्र स्थापना गरेकोमा हामी गर्व गर्न सक्छौँ । नेपालमा अहिले जुन लोकतन्त्र स्थापित छ । त्यो परम्परागत लोकतान्त्रिक गणतन्त्र होइन । यो राजनीतिक प्रणालीको रूपमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रूपमा छ । यो लोकतन्त्रमा सामाजिक अन्तरबस्तुको हिसाबले समाजवाद उन्मुख समाजवादी व्यवस्थाको रूपमा संविधानमा उल्लेख गरिएको छ । यो लोकतन्त्र मौलिक चरित्रको छ । कम्तीमा संविधानमा यसलाई नयाँ लोकतन्त्रको रूपमा स्थापित गरिएको छ । र, त्यही पक्षमा हामीले व्यवहारिक कार्यान्वयनमा पनि गरिरहेका छौँ । त्यसकारण यसमाथि आउने खतराबाट बचाउने प्रयास गर्याै भने मात्रै हामीले हाम्रो लोकतन्त्रलाई नमुना लोकतन्त्रको रूपमा उन्नत अभ्यासको रूपमा अगाडि बढाउन सक्छौँ । त्यसमा सबैले छातीमा हात राखेर सोचौँ ।
छलफल गर्दा जाँदा एक जना माननीयजीले के भन्नु भयो भने अहिलेको गृह मन्त्रालय अपराध र भ्रष्टाचारको केन्द्र बनेको छ । के भन्नु भएको होला ? यो समाजले, यो सदनले, बाह्य समुदायले पनि त्यसलाई स्वीकार गर्ला ? त्यो स्वतः अस्वीकार्य छ भन्ने स्पष्ट नै छ  । तर पनि भनिदिनुपर्ने । त्यसकाले के परिणाम ल्याउँछ ? भन्ने कुरा हामीले विचार गर्नु पर्दैन ? अर्को एक जना माननीयले भन्नु भयो–अहिलेको प्रहरीहरूको पदोन्नतिमा आर्थिक चलखेल समेत भएको चर्चा छ भन्नु भयो । त्यो शून्यमा झारिएको छ । म त्यो दावीका साथ भन्न सक्छु । म ग्यारेन्टी गर्छु । त्यसकारणले विरोधको नाममा विरोध होइन । अहिलेको प्रतिपक्ष मात्रै त्यसको सिकार भएको छ भन्ने होइन । हामी पनि त्यसको सिकार भएका छौँ । जतिखेर हामी प्रतिपक्षमा थियौँ । हाम्रो पार्टी नै हो यहाँ बजेट प्रस्तुत गर्ने सन्दर्भमा एक जना अर्थमन्त्रीले बजेट प्रस्तुत गर्दै हुनुहुन्थ्यो ।
हामीले बजेटको ब्रिफकेश नै फोडिदियौँ । त्यस्तो बहादुरी गर्ने काम पनि हामीबाट भएको छ । त्यो पनि ठिक होइन । गलत त गलत नै हुन्छ । अर्को पटक हाम्रो अर्थमन्त्रीले बजेट ल्याउन खोज्नु भएको थियो । त्यतिखेर बजेट जसरी पनि ल्याउनुपर्छ भन्ने साथीहरूले अर्को पटक हाम्रो अर्थमन्त्रीलाई बजेट ल्याउनै दिनु भएन । यो डबल स्टयाण्डर्ड हामी काम कायम राख्न गइरहेका छौ कि यसको आत्म आलोचक बन्छौँ ? सत्तामा हुँदा एउटा कुरा, प्रतिपक्षमा हुँदा एउटा कुरा । प्रतिपक्षमा भएपछि सबै विरोध गर्ने, सत्तामा भएपछि सबै ठिक भन्ने, अझ निरंकुश बन्ने । यो प्रवृत्तिले हाम्रो लोकतन्त्रको रक्षा हुन सक्दैन । लोकतान्त्रिक अभ्यासलाई अगाडि बढाउन सकिँदैन । र, लोकतन्त्रमार्फत नेपालको सामाजिक, आर्थिक रूपान्तरण र समृद्धिको लक्ष्यमा पुग्न सकिन्न । त्यसकारण मेरो विनम्रतापूर्वक अनुरोध छ–हामी सोचौँ ।  नयाँ अभ्यासमा जाऊ ।
अहिले यहाँ चर्चा चल्यो । मैले त्यो चर्चा र बहसलाई उन्नत ठानेको छु । नेपालको संसदमा अहिले जुन ढङ्गले लोकतन्त्रको बहस भएको छ । त्यो धेरै उन्नत दिशातिर अघि बढ्न खोज्दैछ । बजेटको बहस । बजेटको छलफल गर्ने । सबैले बोल्ने । र फलिष्टव र कमा पनि परिवर्तन हुन्न नै भनेर पूर्व निर्धारित निर्णय लागू हुने । अनि, बजेटको बारेमा छलफल गर्ने, अझ छलफलका क्रममा विभिन्न विनियोजन शीर्षकमा पुगेन यो पैसा बढाउनु पर्छ भन्ने त्यही वक्तव्य दिइरहँदा । लास्टमा खर्च कटौती गरेर एक रुपैयाँ भनेर पनि प्रस्ताव राख्ने । यो परम्परागत रूढ बिरालो काम हो कि यो लोकतन्त्र हो कि भन्ने जुन प्रश्न उठेको छ । यो उचित प्रश्न उठेको छ । यसबारेमा पनि हामी गम्भीर बहस गरौँ ।
विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक लगानी र साधन स्रोतको व्यवस्थापन गर्ने क्रम समेत जारी छ । सबै सरोकारवाला सङ्घीय निकाय एवं सुरक्षा निकायहरूको भूमिका र जिम्मेवारी निर्धारण गरी जारी गरिएको मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्य योजना २०८० जारी भई तदनुरूप काम कारबाही अगाडि बढिरहेको छ । सबै जिल्ला प्रशासन कार्यालयहरूलाई सुरक्षा निकायसहित सरोकारवाला निकायहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिई सकिएको छ । र, सोही बमोजिम खोज, उद्धार तथा राहत व्यवस्थापन भईपनि रहेको छ । विपद् उत्थानमैत्री शासन व्यवस्थाको सुदृढीकरण गर्न विपद् सम्बन्धी कार्य हेर्नका लागि छुट्टै संस्थाको रूपमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण स्थापना भई विपद् व्यवस्थापनका विभिन्न कार्यहरू अगाडि बढिरहेको छ । सम्माननीय प्रधानमन्त्रीजीको अध्यक्षतामा राष्ट्रिय परिषद्, गृहमन्त्रीको अध्यक्षतामा कार्यकारी परिषद्, प्रदेशमा प्रदेश परिषद् र कार्यकारी समिति, जिल्ला र स्थानीय विपद् व्यवस्थापन समितिहरू विपद् उत्थानशील शासन पद्धतिको सुदृढीकरणमा संस्थागत रूपमै क्रियाशील छन् ।’
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *