उपराष्ट्रपति यादवसँग इजरायलका राजदूत गोल्डबर्गरको भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि इजरायलका राजदूत हानान गोडर गोल्डबर्गरले शिष्टाचार भेटवार्ता गरेका छन् ।

उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा उनीहरूबिच दुई पक्षीय सम्बन्ध, कृषि तथा श्रम क्षेत्रमा सहयोगलगायत आपसी हित र चासोका विषयमा छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

सो अवसरमा उपराष्ट्रपति यादवले नेपाल र इजरायलबीच १ जुन १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएयता मित्रता, सद्भाव, समझदारी र सहयोगको सम्बन्ध रही आएको उल्लेख गरे ।

‘इजरायलले विभिन्न विषयमा छात्रवृत्ति, रोजगारी, कृषि तथा सहकारी क्षेत्रमा नेपाललाई गरेको सहयोग प्रशंसनीय छन्’, उनले भने, ‘नेपाल–इजरायल सम्बन्ध आपसी सहयोग र सहकार्यको माध्यमबाट निरन्तर अघि बढ्ने विश्वास लिएको छु ।’ उनले द्विपक्षीय व्यापार अभिवृद्धिका लागि थप प्रयत्नशील हुन आवश्यक रहेको समेत बताए ।

उपराष्ट्रपति यादवले भने, ‘इजरायल सरकारले नेपाली युवाहरू (खासगरी महिला) लाई ‘केयरगिभर’ सेवा क्षेत्रमा रोजगारीका अवसर उपलब्ध गराएकामा धन्यवाद दिएका थिए ।’ उनले बहुपक्षीय सम्बन्धको चर्चा गर्दै नेपाल मध्यपूर्वमा शान्ति, अमनचयन र स्थिरताको पक्षमा सधैँ रहिआएको बताए ।

इजरायलका राजदूत गोल्डबर्गरले नेपाल र इजरायलबीच विभिन्न क्षेत्रमा समानता रहेको उल्लेख गर्दै दुई देशको सम्बन्ध वर्षौंयता सुमधुर र प्रगाढ रहेको बताए ।

‘जहाँसम्म विपिन जोशीको रिहाइको विषय छ, त्यसका लागि इजरायल सरकार हरसम्भव प्रयासरत छ’, उनले भने, ‘इजरायलबाट एउटा प्रतिनिधिमण्डल नेपाल आएर विपिनको घरमै गई परिवारलाई भेट्ने कार्यक्रम पनि छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *