आगामी आर्थिक वर्षको बजेट १७ खर्बमाथि जानु हुँदैन : पूर्वअर्थमन्त्री पौडेल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट शुरुकै दिनमा बजेटको अस्तित्वमाथि प्रश्नचिन्ह उठ्नेगरी ल्याउन नहुने बताएका छन् ।

शुक्रवार नेपाल बुद्धिजीवी परिषद्ले आर्थिक वर्ष २०८१/०८२ को बजेटको कार्यदिशा बारेको छलफलमा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

उनले सरकारले ल्याउने बजेट शुरुकै दिनमा बजेट कार्यान्वयनमा चुनौति रहेको सन्देश दिनेगरी ल्याउन नहुने बताए । पूर्वअर्थमन्त्री पौडेलले सरकारले बजेटको आकार मुलुकको अर्थतन्त्रको वास्तविकता र लिमिट क्रस गर्न नहुने उल्लेख गरे ।

उनले १७ देखि २० खर्बको आकारमा बजेट ल्याउने सुनिएको भन्दै सरकारले असिमित ढङ्गले ठूलो आकारको बजेट बनाउन नहुने सुझाव दिए ।

उनले बजेट राजश्व,अन्तर्राष्ट्रिय ऋण र आन्तरिक ऋण परिचालनको आधारलाई नहेरी बजेटको आकार वृद्धि गर्ने छुट नभएको बताए । उनले माग बढी भएकाले ठूलो आकारको बजेट बनाउने अवस्था नभएको उल्लेख गरे ।

पौडेलले सरकारले १७ खर्ब भन्दा माथिको बजेट जान नहुनेमा जोड दिए । उनले आगामी आर्थिक वर्षको बजेट हाम्रो मनोगत आकांक्षामा बजेट बन्न नसक्ने दाबी गरे । उनले मुलुकको वस्तुगत र आर्थिक अवस्थालाई हेरी आर्थिक अवस्थाको सापेक्षतामा सरकारले बजेट निर्माण गर्ने उल्लेख गरे ।

उनले १६ औँ योजना,दिगो विकास लक्ष्य,अल्पविकसित मुलुकबाट विकाउन्मुख देशमा स्तरउन्नती हुँदाका अवसर र चुनौतीको आधारका साथै सरकारमा सहभागी भएका राजनीतिक दलहरूको नीतिगत प्राथमिकता र साझा सङ्कल्पका आधारमा बजेट आउनमा जोड दिए । उनले मुख्यतया बजेट निर्माणको आधारसरकारको नीति तथा कार्यक्रम भएको पनि उल्लेख गरे ।

उनले मुलुकको स्रोत,साधन र सम्भावनाहरूको सापेक्षतामा बजेट निर्माण गरिने जानकारी दिए । मानिसहरूका सुन्दर चाहानाहरू बजेट बन्न नसक्ने भन्दै सुन्दर चाहानालाई परिस्थितिको सीमाभित्र रहेर कार्यान्वयन गर्दै अगाडि बढ्नुपर्ने अवस्था रहेको पूर्वअर्थमन्त्री पौडेलले भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *