‘भिआइपी विभेद’ बाँकी नै छ : यशकुमार

गायक, सङ्गीतकार तथा नायक यशकुमारको ‘मैले छोएको पानी चल्दैन’ गीत २२ वर्षको भएको छ । वि.स. २०५८ सालमा  सार्वजनिक ‘यो संसार’ भन्ने एल्बममा समावेश उक्त गीत तत्कालीन समयमा दलित समुदायको लागि एउटा आवाज बनेको थियो । यसै गीतले उनलाई ‘सुरेशकुमार नेपाल परियार’ बाट यशकुमारमा रूपान्तरण गर्‍यो । त्यसपछि उनी नायक, लेखक तथा प्रोडुसरका रूपमा सिनेमातिर उदाए । 

यशकुमारलाई आफ्नो यो गीत अहिले पनि उत्तिकै सान्दर्भिक रहँदै दलित समुदायका लागि आवाज बनिरहेको छ भन्ने लाग्छ । समय, पुस्ता र सामाजिक रूपान्तरणको स्वरूपमा परिवर्तन भए झैँ दलित समुदायमाथि गरिने व्यवहारमा स्वरूप मात्र फेरिएको तर विभेद अझै कायम रहेको उनको अनुभवहरूले बताउँछन् । जतिखेर दलित समुदायमाथि समाजको धारणा साँघुरो थियो त्यति बेला प्रत्यक्ष रूपमै सामाजिक विभेदका अनेक स्वरूपहरू देखिन्थे । विभेद विरुद्ध राज्य तहमै नीति तथा ऐनहरू बनेपछि पनि दलित समुदायमाथि गरिने विभेदपूर्ण व्यवहारमा कुनै कमी नआएको यशसँग थुप्रै तिता अनुभवहरू छन् । कानुनको भयले समाजले गर्ने विभेदमा स्तर परिवर्तन मात्र भएको उनी सुनाउँछन् । ‘मैले प्रत्यक्ष रूपमा नभोगेपनि लाखौँ मानिसले अहिले विभेद भोगिरहेका छन्’, उनी मुस्कुराउँदै सुनाउँछन् । त्यो मुस्कानमा गहिरो व्यङ्ग छ । थप्छन् ‘पहिला–पहिला पानी प्यास लागेमा दुई हात थाप भनेर हालिदिन्थे अहिले बोतल पूरै दिन्छन् । बोतल नै दिएपछि फेरि प्रयोग गर्नुपरेन नि ।’ 

उनका अनुसार अहिले मान्छेलाई समाज र मिडियाको ठुलो डर छ । भयकै कारणले समाजले सकारात्मक पाटोलाई अँगालेको जस्तो देखिन्छ । तर अप्रत्यक्ष रूपमा विभेद जारी नै छ । यसलाई उनी ‘भिआइपी विभेद’का रूपमा परिभाषित गर्छन् ।

भन्छन्, ‘कतै पार्टीमा जाँदा लाइन बस्न खोज्दा हजुर किन दुःख गर्नुपर्‍यो म ल्याइदिइहाल्छु नि भनेर हत्त न पत्त ल्याइदिन्छन् । झट्ट हेर्दा त्यहाँ विभेद होइन, सम्मान र माया गरेको जस्तो देखिन्छ । तर यो पनि विभेदकै पाटो हो ।’

मन्दिरमा हिजोआज पुजारीहरू आफैँ बाहिर आएर ‘किन दुःख गर्नुहुन्छ’ भन्ने शब्दका साथ प्रसाद र टीका लगाइदिन्छन् । त्यसो गर्दा अगाडि छुच्चो हुनु परेन र सम्मान गरे जस्तो पनि भयो । तर त्यसो गर्नुमा उनीहरूलाई नजिकै पुग्न नदिने निहित स्वार्थ भने छ भन्ने उनलाई लाग्छ ।

भन्छन्, ‘यसरी समाजले आफ्नो संस्कारलाई उसले बनाएको ‘अछुत’बाट जोगाइ राखेको छ । यो ‘भिआइपी विभेद’ हो ।’

हुन त जातीय विभेद तथा छुवाछुतजन्य व्यवहारलाई २०२० सालको मुलुकी ऐनले नै प्रतिबन्ध लगाएको थियो । २०४७ सालमा जारी संविधानमा पनि जात, जाति, लिङ्ग र धर्मका आधारमा भेदभाव गर्न नपाइने भनिएको छ । नेपाल सरकारले २०६३ जेठ २१ गते मुकुललाई छुवाछुत मुक्त घोषणा गरेर ‘जातीय तथा अन्य सामाजिक छुवाछुत भेदभाव (कसुर र सजाय) ऐन २०६८’ लागु गरेको छ । उक्त ऐनले जातीय विभेद गर्नेलाई कैद सजाय, जरिवाना र पीडितलाई उचित क्षतिपूर्तिको समेत व्यवस्था गरेको छ ।

संविधानले त अझ जातीय विभेद र छुवाछुतलाई अन्त्य गर्ने र भेदभाव जन्य कार्यलाई अपराधका रूपमा दण्डनीय तथा पीडितले क्षतिपूर्ति पाउने व्यवस्था उल्लेख गरेको छ । यी सबै घोषणाहरू कागजी रूपमा त दस्ताबेज भयो तर व्यवहारिक पक्षको सन्दर्भमा भने समाज पुरानै लयतिर ढल्किरहेको जस्तो उनलाई लाग्छ । फलस्वरूप दलित समुदायमा विभेदपूर्ण व्यवहार अझै यथावत् नै छ । 

तर यस्तो भन्दै गर्दा दलितप्रति हेर्ने दृष्टिकोण र विभेदपूर्ण व्यवहारमा केही सकारात्मक परिवर्तन भएको उनी स्विकार्छन् । साढे दुई दशकको साङ्गीतिक यात्रामा बटुलेका अनुभवले पनि ती कुरा बताउँछन् । दुई दशकअघि दलितका मुक्ति र आवाजका कुरा सङ्गीतमा पर्दैनथे । ‘यो संसार’ एल्बममा १० वटा गीतमध्ये ‘मैले छोएको पानी चल्दैन’ गीतलाई कसैले गाउन नमानेपछि नै यशले गाएका थिए । जब कि त्यो एल्बममा उनी कम्पोजरका रूपमा मात्र थिए । खेमराज गुरुङको ‘बेहाल भयो जिन्दगी यो’ सहित कुन्ती मोक्तान, रामकृष्ण ढकाल लगायतका दिग्गज सर्जकहरूका स्वर समावेश गीतहरू उक्त एल्बममा थिए । आफैँले बनाएको ‘यो मनले तिमीलाई नै रोजेको छ’ र ‘मैले छोएको पानी चल्दैन’ भन्ने गीतहरूमा भने यशले स्वर दिए । तर त्यो योजनाअनुसार थिएन ।

उनी भन्छन्, ‘मैले मलाई भनेर दुई वटै गीत बनाएको होइन । म त सङ्गीतकारका रूपमा थिएँ । त्यो गीतको शब्दले गर्दा कसैले गाउन मान्नु भएन । कसैले नगाएपछि मैले गाएँ र हेला गरेर बि साइडको पछाडि लगेर राखियो । तर त्यही गीत त्यो एल्बमको सर्वाधिक हिट भयो’ उनी स्मरण गर्छन् ।

कम्पनीबाट एल्बमको पोस्टर बाहिर आइसकेको थियो । छिटो काम सकाउने दबाब समेत आइरहेको थियो । त्यसपछि एरेन्जरले यशको स्वर ‘मीठै छ, गाइदेऊ’ भन्ने आग्रह आएपछि उनले दुई गीतमा स्वर भरेका थिए । गीत दुवै हिट भए । तर सर्वाधिक हिट हुँदापनि मिडियामा गीतलाई बजाउन निषेध गरिएको थियो । 

मिडियामा धेरै नबजे पनि तर उपत्यकाभित्र र बाहिर चल्ने बसहरूमा ‘मैले छोएको पानी चल्दैन’ गीत निरन्तर बजिरह्यो । त्यसपश्चात् नै गाउने मान्छे को हो भनेर यशको चौतर्फी खोजी र प्रशंसा चुलियो ।

उनी थप्छन्,‘त्यतिखेर त्यो गीतलाई बसहरूले हिट बनायो । नाइट बसहरूमा यति बज्यो कि गीत नेपाल छोडेर दार्जिलिङ सिक्किमसम्म पुग्यो । एल्बम सर्वाधिक विक्री पनि भयो ।’

त्यति बेला दलितका लागि राष्ट्रिय गीत नै भएको उनी जिकिर गर्छन् ।

भन्छन्,‘जो मान्छेले देखेर पनि नदेखे झैँ गरिरहेको छ, सुनेर पनि नसुने झैँ गरिरहेको छ,तिनै समाजमा पिल्सिरहेका मान्छेका लागि आवाज हो, यो गीत ।’ जसले समाजमा विभेद गरिरहेको छ उसलाई पनि आफूले अन्याय गरिरहेको छु कि भन्ने महसुस गराउन गीत सफल भएको थियो । 

जबसम्म विभेद संस्कारको रूपमा स्थापित हुन्छ तबसम्म समाज परिवर्तन हुँदैन भन्ने उनलाई लाग्छ । भन्छन्, ‘विभेद गर्न हुन्न है भन्नेको मुखमा पनि विभेदकारी शब्दहरू निस्किन्छन् ।’ उनको अनुसार अहिलेका पुस्ताहरू अग्रज पुस्तालाई दोष दिएर विभेदलाई अङ्गालिरहेका छन् ।

‘हाम्रै वरपर साथीभाइहरू हजुरबा–आमा अथवा बाउआमाले मान्दैनन् भन्दै अर्कोलाई दोष दिइरहेका छन् र विभेद गर्न अघि सरेका छन् । किनकि उनीहरू पनि त्यही एउटै संस्कारबाट आएका हुन्’ उनी तिक्तता पोख्छन् । हामीले किन्ने मोबाइलमा डाउनलोड गरेका सबै कुराहरू डिलिट गर्न सकिन्छ तर कम्पनीले नै फिक्स गरी पठाएका कुराहरू डिलिट गर्न सकिँदैन । हाम्रो मानवीय समाजमा पनि त्यही संरचना हाबी भएकाले ‘विभेद’ भन्ने शब्द दिमागबाट हट्न कठिन रहेको उनको मत छ । 

तर हाल विभेद कायम रहे पनि अहिले २०/२५ वर्षअघिको जस्तो समय छैन । गीतसङ्गीतको माध्यम पनि स्वतन्त्र रूपमा विचार राख्ने र धारणा अभिव्यक्त गर्ने आधार बनेको छ । कुनै पार्टी र सरकार स्थापनामा गीतसङ्गीतको भूमिका ठुलो छ । परिवर्तनका लागि बन्दुक नै उठाउनुपर्छ भन्ने छैन । गीतबाट पनि समाजमा चेतना र परिवर्तन ल्याउन सकिन्छ भन्ने यशको धारणा छ । गीतैबाट कसैलाई घोच्नु, गाली गर्नु र कसैलाई मार्नुपर्दैन । यसैबाट पनि समाजलाई प्रेरित समेत गर्न सकिन्छ भन्नेमा उनी विश्वस्त छन् ।  

Twitter: @SushilaTamang13

प्रतिक्रिया

One thought on “‘भिआइपी विभेद’ बाँकी नै छ : यशकुमार

Leave a Reply

Your email address will not be published. Required fields are marked *