चितवन छोडेर गोरखा पुगेका प्रचण्डको चुनावी अभियान कस्तो छ ?

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गाेरखा २ को उम्मेदवार बनेपछि केही दिनदेखि चुनावी प्रचार अभियानमा छन् । गाेरखाका विभिन्न कार्यक्रमहरूमा अध्यक्ष प्रचण्ड सहभागी भएर चुनावी गतिविधि गरिरहेका छन् । शनिबार गोरखा जिल्लाका विभिन्न पेसा व्यवसायमा आवद्ध हुनेसँग भेटघाट गरेका छन् । भेटघाटको क्रममा उनले आफ्नो र गाेरखासँगको सम्बन्ध प्रष्ट पारेका छन् ।

अध्यक्ष प्रचण्डले पञ्चायत कालमा आफू गाेरखाको सफल शिक्षक भएको बताए । उनले भने, ‘जतिबेला म २३ वर्षको थिएँ, त्यतिबेला म यहाँको सफल शिक्षक थिएँ, त्यतिबेला जीतबहादुर नेपाली माननीय हुनुहुन्थ्यो, म उहाँबाट सफल शिक्षक भएर सम्मानित भएको थिएँ ।’ उनले आफ्नो गाेरखासँग पुरानो सम्बन्ध रहेको बताए ।

उनले पञ्चायत कालमा आफू भूमिगत हुँदा गाेरखामा नै हेडक्वार्टर बनाएर राजनीति गतिविधि चलाएको बताए । अध्यक्ष प्रचण्डले भने, ‘क्रान्तिको सुरुवात गर्ने बेलाम पनि अन्तिम बैठक गाेरखामा नै गरेका थियौँ, त्यसले गाेरखासँगको मेरो सम्बन्ध ज्यादै पुरानो र अत्यन्तै घनिष्ठ रहेको छ ।’

चितवन क्षेत्र नं ३ छोडर गाेरखा पुगेका अध्यक्ष प्रचण्डले यतिबेला गाेरखासँगको आफ्नो नाता प्रष्ट पार्दै हिँडेका छन् । यसअघि चितवन ३ मा चुनाव लडेका प्रचण्ड गाेरखामा उनी पहिलो पटक चुनाव लड्दैछन् । हुन त उनी जुनकुनै निर्वाचन क्षेत्रमा दोहोराएर उम्मेदवार बनेका छैनन् । यसलाई उनले गतिशील नेताको रूपमा लिएका छन् ।

एक सातादेखि गाेरखामा रहेका प्रचण्ड कहिले युवा विद्यार्थीहरूसँग छलफल चलाएका छन्, कहिले बुद्धिजीवी पेसाकर्मीसँग भेटघाट गरेका छन् । हरेक छलफल तथा भेटघाट कार्यक्रममा उनले आफ्नो र गोरखाबीचको नाता र सम्बन्ध प्रष्ट नै पारेका हुन्छन् । ‘पाहुना’ उम्मेदवारको रूपमा मात्र गाेरखावासीले नलिऊन भनेर नै अध्यक्ष प्रचण्ड गाेरखा र आफूबिचको नाता प्रष्ट पार्दै चुनावी अभियानमा दौडिरहेका छन् ।

योबिचमा अध्यक्ष प्रचण्डले गाेरखाको ऐतिहासिक स्थलहरूको पनि अवलोकन गरिरहेका छन् । गोरखाको ऐतिहासिक विरासत बोकेको गोरखा दरबार पुगेर यसको प्रचार–प्रसारमा जोड दिनुपर्ने अध्यक्ष प्रचण्डले बताए ।

गाेरखामा उनले पार्टीका केन्द्रीय सदस्यहरूलाई पनि चुनावी अभियानमा होमिन भनेका छन्, जसका कारण गाेरखाका माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रचण्ड सँगसँगै चुनावी अभियानमा छन् । प्रचण्डका कति कार्यक्रममा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ पनि सँगसँगै देखिएका छन् ।

यी दुई नेताकै जोडबलमा प्रचण्ड चितवन ३ छोडेर गाेरखा पुगेका हुनाले कतिपय गाेरखाका कार्यक्रमहरूमा नेता भट्टराई र श्रेष्ठ सँगसँग छन् । ‘क्रान्ति र शान्तिको नेतृत्व पश्चात आर्थिक समृद्धिको नेतृत्व गर्न गोरखा आएको अध्यक्ष प्रचण्डको भनाइ छ ।

प्रचण्डको सचिवालयका अनुसार उम्मेदवार मनोनयन दर्तापछि अध्यक्ष प्रचण्ड गाेरखामा करिब एक दर्जन कार्यक्रमहरूमा सरिक भइसकेका छन्, अध्यक्षको सहभागिता समग्र गाेरखाको विकासको लागि भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *