मनिष झाको प्रतिक्रिया: ‘परिणाम स्वीकार्छु, विपिनलाई सकेसम्म सहयोग गर्छु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदको निर्वाचनमा पराजित भएका केन्द्रीय सदस्य तथा सांसद मनिष झाले निर्वाचनको परिणाम स्वीकार गर्दै निर्वाचित महामन्त्री विपिन आचार्यलाई बधाई दिएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै झाले आफ्नो उम्मेदवारी पार्टीभित्र गुट र टिके राजनीतिक अभ्यास नहोस् भन्ने उद्देश्यका साथ रहेको बताएका छन् । नेतृत्वले निर्वाचन प्रक्रियालाई स्वीकार गरी अघि बढाएकोमा उनले आभारसमेत व्यक्त गरेका छन् ।
‘मेरो लागि निर्वाचन लोकतान्त्रिक प्रक्रिया हो । रास्वपामा गुट र टिके राजनीतिक अभ्यास नहोस् भनेर गरिएको एक प्रयास थियो । नेतृत्वले स्वीकार गरेर निर्वाचन प्रक्रियालाई अगाडि बढाइदिनु भयो, आभारी छु,’ उनले लेखेका छन् ।
निर्वाचनको परिणाम स्वीकार गर्दै उनले निर्वाचित महामन्त्री विपिन आचार्यलाई बधाई दिएका छन् । ‘मेरो मित्र विपिनलाई बधाई छ । मेरो अनुभव र क्षमताले सकेसम्म सहयोग गर्ने छु,’ उनले भनेका छन् ।
झाले अब आफू केन्द्रीय सदस्य र सांसदको भूमिकामा मात्रै सक्रिय रहने उल्लेख गरेका छन् ।










