एमालेको सदस्य बन्न ऐन महरलाई मेसेजको ओइरो

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले पार्टीप्रतिको विश्वास र आकर्षण दिनप्रतिदिन बढ्दै गएको दाबी गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टी सदस्यता नवीकरण सम्बन्धी आफ्नो पोस्टपछि देश तथा विदेशमा रहेका सयौं युवाले सदस्यता नवीकरण गर्ने तथा केहीले नयाँ सदस्यता लिने प्रतिबद्धता व्यक्त गरेको बताएका छन् । उनले आफूलाई फेसबुक म्यासेन्जरमार्फत प्राप्त केही सन्देशका स्क्रिनसट सार्वजनिक गर्दै त्यसलाई एमालेप्रतिको बढ्दो आकर्षणको उदाहरणका रूपमा प्रस्तुत गरेका छन् ।
महरले नेकपा एमाले नै संविधान, लोकतन्त्र, राष्ट्रियता र जनजीविकाको पक्षमा दृढतापूर्वक उभिने पार्टीका रूपमा स्थापित हुँदै गएको दाबी गरेका छन् । उनले पार्टीभित्र सुदृढ एकता आवश्यक रहेको उल्लेख गर्दै यसले पार्टीप्रतिको जनविश्वास अझ मजबुत बनाउने बताएका छन् ।
उनले प्रविधिको विकाससँगै संसारको जुनसुकै स्थानमा रहेका नेपालीले सहज रूपमा पार्टी सदस्यता नवीकरण गर्न र नयाँ सदस्यता लिन सक्ने व्यवस्था मिलाउन पार्टीको संगठन विभागको ध्यानाकर्षणसमेत गराएका छन् ।










