पूर्वाधार र सूचना प्रविधिमा उल्लेख्य लगानी गर्ने सरकारको योजना: गुणाकर भट्ट

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले सरकारले पूर्वाधार विकासमा उल्लेख्य लगानी गर्ने योजना बनाएको बताएका छन् ।

शुक्रवार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले उक्त कुरा बताएका हुन्। उपाध्यक्ष भट्टले सूचना प्रविधिको क्षेत्र पनि मुलुकको तुलनात्मक लाभको क्षेत्र भएकाले यसमा पनि लगानी बढाउने कुरालाई सरकारले प्राथमिकता राखेको स्पष्ट पारे ।

उनले भने,‘देशभर नै पूर्वाधारमा उल्लेख्य रकम लगानी गर्ने, त्यो हार्ड र सफ्ट दुवैमा लगानी गर्ने, एउटा सडक, इनर्जीलगायतका क्षेत्रमा लगानी गर्ने अर्को भनेको आजको जमानालाई आइसकेपछि भारत, चीन जस्ता मुलुकहरूले एआईलगायतका क्षेत्रमा लगानी गर्ने अनि हामी पछाडि नपरियोस् भन्नका लागि सरकारले नै लगानी गरेर एउटा प्रारम्भिक अवस्थामा सोभेरेन्ट आर्टिफिसियल इन्टेलिजेन्स कम्प्युटिङ सेन्टर स्थापना गर्ने भन्ने कुरा आयो ।’

उनले पछाडि परेका क्षेत्रलाई अघि बढाउन र गरिबी मुलुकबाट घटाउनका लागि पनि सरकारले पूर्वाधार र सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउने नीति, कार्यक्रम र बजेट ल्याएको दाबी समेत गरे ।

उपाध्यक्ष भट्टले सरकारले उच्च आर्थिक वृद्धिदर गर्नका लागि निजी क्षेत्रको पनि मनोबल बढाउनुपर्ने भएकाले उनीहरूलाई करमा सहुलियत दिने निर्णय लिएको पनि बताए ।

उपाध्यक्ष भट्टले विगतमा सुरु गरिएका सामाजिक क्षेत्रको कामलाई निरन्तरता दिनका लागि पनि आवश्यक बजेटको व्यवस्था गरिएको बताए । त्यस अवसरमा उनले सुदूरपश्चिम प्रदेशको पूर्वाधार विकासमा पनि सरकारले लगानीको अभाव नहुने व्यवस्था गरेको जिकिर पनि गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − five =