जाजरकोट भूकम्पपछिको पुनर्निर्माण तत्काल अगाडि बढाउन काँग्रेसको माग

काठमाडौं । नेपाली काँग्रेसका सांसद कृष्णबहादुर रोकायाले जाजरकोट केन्द्रबिन्दु भइ गएको भूकम्प प्रभावित जिल्लामा तत्काल पुनर्निर्माणको कार्य शुरु गर्न सरकारसमक्ष माग गरेका छन् ।

राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले भूकम्प गएको साढे दुई वर्षसम्म पनि पुनर्निमाणको कार्य अघि बढ्न नसक्नु अत्यन्त दुःखद् भएको बताए ।

‘२०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई भूकम्प गएको साढे दुई वर्ष पुरा हुँदा समेत जाजरकोट र रुकुमपश्चिम भूकम्पपीडित परिवारको लागि पुनर्निर्माणको कार्य शुरु हुन नसक्नु दुःखद् कुरा हो’ उनले भने ।

उनले सरकारले अगामी आर्थिक वर्षको बजेटमा समेत भूकम्पपछिको पुनर्निर्माणको लागि आवश्यक बजेट विनियोजन नगरेको भन्दै आपत्ति जनाए ।

उनले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा पुनर्निमाणको लागि करिव २२ अर्ब लागत लाग्ने अनुमान गरिएको उल्लेख गर्दै स्रोतको सुनिश्चितता गर्न समेत सरकारको ध्यानाकर्षण गराए । ‘पुनर्निमाणको लागि जम्मा २२ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । हाल विपद् व्यवस्थापन कोषमा दुई करोड ७० लाख रुपैयाँ मौज्दात रहेको छ । माननीय अर्थमन्त्रीज्युले भूकम्पपछिको पुनर्निर्माणको लागि स्रोत व्यवस्थापन गरेको छु भनेपनि अंकमा बजेट देखिँदैन । रुकुमपश्चिममा मात्रै डिडिएपछि करिव १९ हजार लाभग्राही कायम भएका छन् । जाजरकोट र रुकुमपश्चिममा भूकम्पपछिको पुनर्निमाणको कार्य अगाडि बढाउन सम्माननीय अध्यक्षमार्फत सरकारसँग जोडदार माग गर्दछु’ उनले भने ।

प्रभावित जिल्लाहरुको विस्तृत क्षति आकलन (डीडीए) सम्पन्न गरी वडाहरुले विवरण पठाइसकेको भएपनि पुनर्निर्माणले गति लिन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − ten =