होल्डिङ सेन्टरबाट हटाउन खोजेको भन्दै सुकुम्बासी आन्दोलित

काठमाडौं । होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूको वैकल्पिक व्यवस्थापन नगरी स्थान खाली गर्न सूचना जारी गरिएको भन्दै सुकुम्बासीहरूले शुक्रवार काठमाडौंको माईतीघरमा विरोध प्रदर्शन गरेका छन् ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानका बस्ती विस्थापित गरी होल्डिङ सेन्टरमा राखिएका नागरिकको उचित पुनःस्थापना नगरी सेन्टर छाड्न निर्देशन दिइएको भन्दै सुकुम्बासी केन्द्रीय संयुक्त संघर्ष समितिको नेतृत्वमा प्रदर्शन गरिएको हो ।

प्रदर्शनका क्रममा बोल्दै क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता केदार खतिवडाले सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएर विस्थापित गरेपनि वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरबाट हट्न सूचना जारी गरेको भन्दै आपत्ति जनाए ।

उनले सुकुम्बासी नागरिकको उचित वैकल्पिक व्यवस्थापन नगरी लखेट्ने सरकारको कार्य स्वीकार्य नहुने चेतावनी दिए । उनले सुकुम्बासी, भूमिहीन र गरिब नागरिकमाथि सरकारले अन्यायपूर्ण व्यवहार गरिरहेको आरोप पनि लगाए ।

खतिवडाले सुकुम्बासीहरूको समस्या केवल उनीहरूको मात्र नभई समग्र समाजको सरोकारको विषय भएको उल्लेख गर्दै मध्यमवर्ग, बुद्धिजीवी, सञ्चारमाध्यम र राजनीतिक दलहरूलाई पनि यस विषयमा आवाज उठाउन आग्रह गरे ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रवार सूचना जारी गर्दै १९ असारसम्म होल्डिङ सेन्टर छाड्न समय थप गरेको छ । गत वैशाखमा उपत्यकाभित्रका नदीकिनारका सुकुम्बासी बस्ती हटाएसँगै उनीहरूलाई होल्डिङ सेन्टरमा राखिएको थियो ।

प्रदर्शनकारीहरुले सरकारविरुद्धका नारा लेखिएका प्लेकार्ड समेत बोकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =