लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने तयारी

काठमाडौं । सरकारले लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने तयारी गरेको छ ।
लागुऔषध नियन्त्रण तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर शुक्रवार गृह मन्त्रालयका आयोजित एक कार्यक्रममा बोल्दै गृहसचिव राजकुमार श्रेष्ठले उक्त कुरा बताएका हुन् ।
उनले लागुऔषध नियन्त्रण र रोकथामका लागि संघ, प्रदेश र स्थानीय तहको कामलाई नीतिगत रूपमा नै जागरूक गराउन उक्त विभाग स्थापना गर्ने तयारीमा सरकार अघि बढ्नुपरेको पनि स्पष्ट पारे ।
गृहसचिव श्रेष्ठले लागुऔषध दुव्र्यसनीको सुधार तथा उपचारका लागि पुनः स्थापना केन्द्र सञ्चालन गर्दा न्युनतम मापदण्ड पूरा गर्न पनि सम्बन्धित पक्षलाई निर्देशन दिए ।
उनले लागुऔषध नियन्त्रण तथा रोकथामको क्षेत्रमा आबद्ध सबै संस्थाहरूलाई सरकारसँग आबद्ध हुन पनि सचेत गराए ।
गृहसचिव श्रेष्ठले प्रदेश र स्थानीय तहलाई पनि लागुऔषध नियन्त्रण तथा रोकथामको अभियानमा सक्रियतापूर्वक लाग्न पनि आग्रह गरे ।










