सप्तकोशी गाउँ पस्नेबारे पहिल्यै जानकार थिए स्थानीय (भिडिओसहित)

डुबेकै ठाउँमा फर्किन खोज्दैछन् विस्थापित

उदयपुर । उदयपुरको बेलका नगरपालिका वडा नं. ३ एकता टोलकी चिजमाया वान्तवा उमेरले ६५ वर्ष पुगिन् । मंगलबार साँझ घरमा बसिरहेकी उनलाई एक्कासी माथिबाट कसैले सप्तकोशी नदीले धार परिर्वतन गरेर आफ्नो वस्ती भएकोतिर आउँदैछ भन्ने सूचना दियाे । गाउँका मान्छे एक अर्कोसँग कुरा गर्दै आत्तिन थाले । होचा क्षेत्रमा घर भएकाहरू तत्काल भाग्नुपर्ने अवस्थामा पुगे । चिजमायाकाे परिवार पनि बाँच्नकै लागि आफूले लगाएको एकसरो सामान बोकेर घर छाड्ने अवस्थामा पुग्यो ।

उनको परिवार के गर्ने, के नगर्ने भन्ने बिलखबन्दमा पर्‍याे । घरमा रहेको ८ जनाको परिवार सबै घरमा भएको सर-सामान घरमै छाडेर कपडाको भरमा मंगलबार साँझ नै रामपुरमा पुगे । कहाँ बस्ने के गर्ने भन्ने अन्यौलबीच एउटा कोठा खोजे । त्यो बेलासम्म गाउँमा बाढी पुगिसकेको थिएन ।

बाढी आए पनि भएको सरसामान नबगाउला भन्ने लागेर बाख्रा, कुखुरा, सुँगुर सबै घरमा छाडेर रामपुर पुगेको उनले सुनाइन् । एकसरो कपडाको भरमा घर छोडेर हिँडेको यो परिवार आज ३ दिनदेखि आफ्नो घरमा पुग्न पाएका छैनन् । आजै घर जान पाए हुन्थ्यो, के भयो होला भन्ने पिरमा छिन् वान्तवा । नजिकै रहेको खोला किनारमा पुगेर एकै पटक भए पनि घर गएर आउन पाए हुन्थ्यो भन्ने साेचले खोलाको किनारमा पुगिन् । पानी मात्र देखेर फेरि फर्किएर स्कूलमा गाउँलेसँग कुरा गर्न थालिन् ।

भिडिओ

‘खोलाको पानी घट्यो होला भन्ने लागेर खोला किनारमा पुगेको थिएँ,’ उनले पिर पाेखिन्, ‘त्यहाँ पुगेपछि पानी जान सक्ने नै अवस्था थिएन, फेरि फर्किएर आएँ । खै घर के भयो कुन्नी, भएको अन्नबाली पनि खै के भयो भयो ।’

सप्तकोशीको पानी गाउँमा पसेपछि बुधबार बिहान घर छाडेकी मिना माझी बिहीबार दिउँसो १ बजे घर फर्किन खोज्दै थिइन् । बुधबार बाँसघारी हुँदै आँगनमा पानी आउन थालेपछि उनी र उनको परिवार घर छाडेर भागेको थियो । आज पानी घट्यो भन्ने छिमेकीले सुनाएपछि उनी घर जानका लागि भाटेपुलमा पुगेकी थिइन् । त्यहाँ रहेको नेपाली सेनाको टोलीले केहीलाई उद्वार गर्दै गरेको थियो भने केही घर गएर सामान ल्याउन चाहनेलाई घर पुर्‍याउने र ल्याउने काम गर्दै थियो । उनी त्यही डुंगामा चढिन् र घरको अवस्था बुझ्न सप्तकोशी पसेको आफ्नो घर एबिसी टोलतर्फ गइन् । उनकाअनुसार, २०४८ सालदेखि यो ठाउँमा बस्दै आएका छन् । शुरू-शुरूमा घर बनाउन थाल्दा पनि सप्तकोशीको पानी थोरै थोरै आउने गरको उनी सुनाउँछिन् ।

बुधबार घर छाडेकी उनी अरुको घरमा कहाँ बस्ने के गर्ने भनेर फेरि घर फर्किन लागेको बताइन् ।

‘बिरामी छु, उपचार गरेर आएको घर डुबेको छैन होला । एक पटक घरमा गएर हेर्न पाए घरमै बस्ने थिएँ,’ उनी भन्छिन्, ‘अरुको घरमा बस्नुभन्दा घर नबगाएको भए आफ्नै घरमा बस्ने सोचेर घर फर्किन लागेकी हुँ ।’

सप्तकोशीको कारण विस्थापित भएकी रामकुमारी कार्कीलाई सप्तकोशीले धार परिवर्तन गर्दैछ भन्ने पहिला देखि नै थाहा थियो । स्थानीयले सरकारलाई भन्दै आएका थिए, ‘सप्तकोशी गाउँ पस्न लागेको छ तटबन्ध बनाइनुपर्छ ।’

स्थानीयको कुरा केही हदसम्म सुनुवाइ पालिकाले गरेको भएपनि त्यो दीर्घकालको समस्याको समाधान भएन । गत वर्ष केही रोकिएको सप्तकोशीको बहाव यो वर्ष बाँध छिचोल्दै आफ्नै धारमा पुग्यो । २ वर्ष अघि मात्र २५ लाख खर्चिएर घर बनाएकी रामकुमारीलाई सप्तकोशीले विस्थापित गरिहाल्ला भन्ने लागेकै थिएन । ‘भङ्गालो नै आए पनि त्यसले क्षति गर्ला भन्ने लागेको थिएन । पहिलादेखि नै सप्तकोशी आउँछ भन्ने हल्ला हुँदै सेलाउँदै गरेको थियो, घर छाडेर हिँड्नुपर्ला र यति क्षति गर्लाभन्ने साेचेकाे थिइनँ,’ उनी सुनाउँछिन् ।

अहिले सप्तकोशी घरैबाट बगेपछि उनी १४ वर्षीय छोरा च्यापेर विस्थापित जीवन बिताउँदै छिन् । उनी पनि अहिले कोठा भाडामा बसेको बताउँछिन् ।

विद्यालयमा २५० परिवार

यी प्रतिनिधि घटनाले सप्तकोशीको बहाव एकाएक वस्तीमा पसेको नभई पहिलादेखि नै यसैगरी आउँछ भन्ने धेरैलाई थाहा थियो । तर ढिलो चाँडो भन्ने मात्र थियो । बुधबार बिहान करिब ३ बजे सप्तकोशीको पानी वस्तीमा पुगेपछि भने धेरैमा भागदौड मच्चियाे । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारका मन्त्री र सरकार प्रमुखहरूले यो उद्वार र राहतको लागि चासो दिए । बाढी आउँदैछ भनेर अघिल्लो दिन नै भाग्नेहरू कोही आफन्तकोमा गएका थिए भने कोही कोठा भाडा खोज्दै रामपुर बजार पुगेका थिए ।

बुधबार नै घर छाडेकाहरू अहिले पनि आफन्त र कोठामा बसेका छन् यसमा राज्यको चासो पुगेको छैन । उनीहरू अहिले पनि बस्नको लागि कोठा भए पनि के खाने भन्ने चिन्तामा देखिएका छन् । बुधबार उद्दार र भएकाहरूलाई भने स्थानीय सरकारको सहयोगमा विद्यालयहरूमा राखिएको छ । बेलका नगरपालिकाकी उपप्रमुख जिरा राईले २५० परिवार विस्थापित भएको बताइन् । विस्थापितहरूलाई तत्कालको लागि चक्रपुर मावि, कोशी जनता मावि, सातपत्रे निमावि र निजी गाई फार्ममा राखिएको उपप्रमुख राईले जानकारी दिइन् ।

कति विस्थापित भए भन्ने बारेमा अझै स्थानीय सरकार अन्याेलमा देखिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले ५ सय घर परिवार विस्थापित भएको जनाएको छ । उदयपुरको बेलका नगरपालिका–८ डुब्रिबोटेबाट सप्तकोशी नदीले धार परिवर्तन गरी मंगलबार राति पश्चिमतर्फ जाँदा सयौँ घरहरू डुबेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *