द्वन्द्व पीडितहरूको गुनासो – ‘सरकारले वितरण गरेको परिचय पत्रलाई मान्यता दिइएन’

काठमाडौँ । संक्रमणकालीन घटनाका द्वन्द्व पीडितहरूले सरकारबाट वितरण गरिएको परिचय पत्रको मान्यता नपाएको गुनासो गरेका छन् ।

उनीहरुले सरकारले द्वन्द्व पीडितहरूलाई दिएको परिचय पत्रले कुनैपनि स्थानमा मान्यता नपाउने गरेको भन्दै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसँग गुनासो गरेका हुन् ।

बिहीबार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै आयोगमा सचिव लोकराज अधिकारीले पीडितलाई वितरण गरिएको परिचय पत्र देखाएर कहीँ पनि सुविधा र छुट नदिने गरेको गुनासो आयोगमा आइरहेको बताए ।

उनले आयोगले हालसम्म १ हजार ३२१ परिवारका ३ हजार ९ सय ९३ जना व्यक्तिलाई पीडित परिचय पत्र वितरण गरेको बताए । उनले पीडितलाई सेवा, सुविधा, सहुलियत प्रदान गर्न नेपाल सरकारसमक्ष सिफारिस गरेको पनि बताए ।

उनले २०७७ साल चैत्र ६ गते गरेको सिफारिसमा विभिन्न ११ बुँदा समेटिएको भएपनि कार्यान्वयनमा नआएको बताए । उनले परिपूरण सिफारिस सम्बन्धित कार्यविधिको मस्यौदा तयार भएको तर अझै पनि मस्यौदालाई परिष्कृत बनाउनुपर्ने आवश्यकता रहेको बताए ।

उनले भने ‘आयोगले हालसम्म १३२१ परिवारका ३ हजार ९ सय ९३ जना व्यक्तिलाई पीडित परिचय पत्र वितरण गरेको छ । पीडितलाई सेवा, सुविधा, सहुलियत प्रदान गर्न नेपाल सरकारसमक्ष सिफारिस गरेको छ । २०७७ साल चैत्र ६ मा । यो सिफारिस गरेको थियो । त्यो सिफारिसरमा विभिन्न ११ बुँदाहरू छन् । त्यो पनि कार्यान्वयनमा नआएको अवस्था छ । पीडितहरूले के गुनासो हामीलाई गर्नुहुन्छ भने त्यो परिचय पत्र दिएको पीडितहरू जुन हुनुहुन्छ, परिचय पत्रलाई पनि सरकारको कुनैपनि ठाउँमा मान्यता दिइएन भन्ने गुनासो छ । हामीले त्यसलाई देखाउँदा मान्यता भएन । सिंहदरबारभित्र छिर्न पर्दा त्यो देखाएर नहुने भनेर स्वीकार नै गरिएन । अरूतिर पनि त्यो परिचय पत्र देखाउँदा केही पनि मान्यता दिइएन भन्ने छ । परिपूरण सिफारिस सम्बन्धित कार्यविधिको मस्यौदा तयार भएर रहेको छ आयोगमा, त्यो मस्यौदालाई अझै परिष्कृत बनाउनुपर्ने देखिन्छ । अन्तिम रूप दिन बाँकी छ ।’

उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी पूरा भइसकेपछि मात्रै आयोगले आफ्ना कामहरु पूरा गर्नसक्ने भन्दै छिटो भन्दा छिटो आयोगमा पदाधिकारी पठाउन आवश्यक रहेको बताए । उनले आयोग बन्दा सक्षम, उत्तरदायी र स्वतन्त्र आयोग बनाउन संसदीय समितिले भुमिका खेल्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *