विकासका योजनाहरू समयमै सम्पन्न हुन नसक्नुको कारण खोजौँ : कांग्रेस सांसद भण्डारी

काठमाडौँ । नेपाली काँग्रेसका सांसद शंकर भण्डारीले विकासका योजनाहरू समयमै सम्पन्न हुन नसक्नुको कारण समाधानका उपायहरू खोज्न आवश्यक रहेको बताएका छन् ।

बिहीवारको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले ठोस नीति र कार्यक्रम बनाउन नसक्दा विकासका योजनाहरू समयमै सम्पन्न नसकेको पनि बताए । उनले अहिलेका राष्ट्रिय गौरवका आयोजनाहरू समयमा नै सम्पन्न हुन नसक्नुमा वन क्षेत्र लगायतका समस्या रहेको भएपनि कतिपय योजनाहरू निर्माण कम्पनीहरूको बद्मासीका कारण सम्पन्न नभएको जिकिर गरे ।

उनले अब कुनैपनि निर्माणका योजनाहरू समय भन्दा पर जाने कुराको अन्त्य हुन आवश्यक रहेको बताए । उनले पूर्वाधार विकासका दृष्टिकोणले सडक सबैभन्दा महत्त्वपूर्ण आवश्यकता भएको पनि उल्लेख गरे । उनले कतिपय अवस्थामा निर्माण व्यवसायीहरूले ठेक्का प्राप्ति गरिसकेपछि शुरुमा केही रकम लिने र समयमा काम नगर्ने अवस्था भइरहेको बताए ।

उनले भने, ‘विकासका योजनाहरू समयमै सम्पन्न हुन नसक्नुको कारणहरू र समाधानका उपायहरूको बारेमा हामी निष्कर्षमा जानुपर्छ । ठोस नीति हामीले बनाउन सकेका छैनौँ । कार्यान्वयन जाने अवस्थामा हामीले वातावरण बनाउन सकेनौँ । अहिलेका राष्ट्रिय गौरवका आयोजनाहरू समयमा नै सम्पन्न हुन नसक्नुमा वन क्षेत्र लगायतका समस्या छन् । हामीले यी सबै समस्या समाधानका लागि आवश्यक वातावरण किन बनाउन सकेनौँ ? यसबारेमा छलफल गर्नुपर्छ । गहन छलफल हुनुपर्छ । अन्तर सरकारी निकायहरूमा समन्वय हुन अनिवार्य छ । अब कुनैपनि निर्माणका योजनाहरू समय भन्दा पर जाने कुराको अन्त्य हुनुपर्छ । पूर्वाधार विकासका दृष्टिकोणले सडक सबैभन्दा महत्त्वपूर्ण आवश्यकता छ । कतिपय अवस्थामा निर्माण व्यवसायीहरूले ठेक्का प्राप्ति गरिसकेपछि शुरुमा केही रकम लिने र समयमा काम नसक्ने काम हुन्छ । हामीले किन निरीक्षण गर्न सकेका छैनौँ । यसमा गम्भीर हुनुपर्छ ।’

सांसद भण्डारीले नियतवश काममा ढिलाइ गर्ने निर्माण व्यवसायीहरूलाई कानूनको दायरामा ल्याउन आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *