दार्चुला घटना : अनिभालाई झ्यासले पुरेर छोरी लखेटे, पछि फर्किएर जिउँदै जलाए

काठमाडाैँ । जेठ २५ गते सबेरै पश्चिम नेपालको दार्चुलामा एउटा दर्दनाक घटना घट्यो । एक क्रूर अपराधीले एकल महिलालाई बलात्कार गरे । बलात्कारको प्रतिकार गर्दा ढुङ्गाले टाउकोमा हाने । गम्भीर घाइते बनाएपछि झ्यासले पुरेर हिँडे । उनैको घरमा पुगेर १६ वर्षीया छोरीलाई लखेट्न थाले । पछि फर्किएर जिउँदै आगो लगाएर गाउँ छाडे ।

घटना दार्चुलाको शैल्यशिखर नगरपालिका १ को हो । त्यसदिन चार पुस्ताभित्रकै देवरबाट ४३ वर्षीया अनिभा खडायत शुरुमा बलात्कृत भइन् । राति २ बजे घरमा पुगेर जरुरी काम छ भन्दै लिएर गएका देवर भोजराज खडायतले ५० मिटर टाढा लगेर जबरजस्तीकरणी गरे । त्यसको प्रतिकार गर्दा अनिभा मारिनु पर्‍यो । ढुङ्गाले टाउकोमा हानेर गम्भीर घाइते बनाएर झ्यासले पुरेर हिँडेका भोजराजले पछि फर्किएर आगो लगाइदिएको खुलेको छ ।

प्रहरीले घटनाको अनुसन्धान सम्पन्न गरेसँगै यस्तो खुलासा भएको हाे । अहिले भोजराज पुर्पक्षका लागि थुनामा छन्। उनले घटना बारे आफ्नो संलग्नता स्वीकार गरे र बयानका क्रममा घटना कसरी भयो भन्ने बताएका छन् ।

यसरी भयो घटना
२४ गते बेलुका भोजराज र अरू दुई जना रक्सी खान बैतडीको सिमार बजार पुग्छन् । त्यहाँ उनीहरूले दुई बोतल रक्सी खान्छन् र राति १२ बजेतिर घर फर्किन्छन् । यो नगरपालिकामा रक्सी किनबेच र खान प्रतिबन्ध छ ।

अर्कै जिल्ला पुगेर रक्सी खाएर आएका उनीहरू गाउँ आइसकेपछि आ आफ्नो घरतर्फ बाटो लाग्छन् । अनिभाको घर हुँदै भोजराज फर्किन्छन् । अनिभाकोमा आइपुग्दा ढोका खुल्ला देख्छन् । भित्र बत्ती बलिरहेको हुन्छ । अनिभा कोठामा एक्लै हुन्छिन्। दुइटी छोरीहरूभित्र अर्को कोठामा निदाएका छन् । भित्रै पसेर उनले अनिभालाई जरुरी काम छ भन्दै बाहिर लैजान्छन् । पछि यो कुरा अनिभाकी १६ वर्षीया छोरी गोमतीले झ्यालबाट देख्छिन् । यतिबेला रातको २ बजेको थियो ।

भोजराजले अलिक टाढै लैजान खोजेका थिए । तर अनिभा मान्दिनन् । त्यसपछि त्यही उखुबारीको छेउमा लगेर जबरजस्ती करणी गरेका थिए । त्यसक्रममा अनिभाले गालिगर्दै प्रतिकार गरेपछि त्यसैक्रममा आफूले ढुङ्गाले टाउकोमा प्रहार गरेको भोजराजले बताएका छन् ।

दुई पटक ढुङ्गाले हानेपछि अनिभा छटपटाएकी थिइन् । भोजराज भने नजिकै रहेको झ्यासले छोपेर अनिभाको घरमा आफ्ना लुगा खोज्न गए । भोजराजले घटनास्थलमै फुकालेको भएपनि पाइन्ट र एउटा चप्पल मात्रै भेटेका थिए । बाँकी लुगा अनिभाकै घरमा छाडेछु भन्ठानेर फर्किएको उनले अनुसन्धानका क्रममा बताएका छन् ।
तर त्यहाँ पनि लुगा भेटेनन्। हातमा लागेको रगत पखाले । घर नजिकै डिलमा बसेर गोमती भने आमाको मोबाइलमा फोन गरिरहेकी थिइन् । घर वरपर खोज्दा नभेटेपछि उनले फोन गर्न थालिन् । सुरुमा फोन लागे पनि पछि मोबाइल स्वीचअफ भन्यो ।

तर भोजराजले ठाने गोमतीले घटना बारे थाहा पाइछन् र प्रहरीलाई खबर गर्दैछिन्। त्यसपछि भोजराजले गोमतीको मोबाइल खोस्ने योजना बनाए। उनी भएठाउँमा गएर दुवै हात समात्न खोजे । तर गोमती भागिन् । भाग्दै खोला पारी भाउजुको घरमा पुगेपछि खोलाबाट भोजराज फर्किए ।

अनिभाले लगाएका सुनका गहना उनले पहिले नै गोजीमा राखिसकेका थिए । उनको गोजीमा सलाई पनि थियो। फर्किएर फेरि खर र गहुँको नल थपे। त्यतिबेला पनि अनिभाको प्राण गइनसकेको र छटपटाइरहेको भोजराजले नै बयानमा बताएका छन् । छटपटाउँदै गरेकी भाउजूलाई आगो लगाएर भोजराज भागेका थिए ।

पाइन्ट मात्रै लगाएर खालिखुट्टै भागेका भोजराज आफ्नो घरबाहिर पुगेर चप्पल र सर्ट लगाएर गएका थिए । उनी गएको परिवारले चाल पाएनन् ।

यता गोमती अत्तालिँदै भाउजुको घरमा पुगेपछि हो हल्ला हुन थाल्यो । त्यति नै बेला पर आगो बलिरहेको देखे। गोमती र गाउँकै केही मान्छे पुगे । बलिरहेको आगोको बाहिर हात देखियो । अनिभालाई त्यहीँ जलाएको थाहा भयो । त्यसपछि छोरी गोमती भने बेहोस भइन् ।

गाउँलेले प्रहरीलाई खबर गरे। प्रहरी पुगेर अनुसन्धान सुरु ग¥यो । घटनामा संलग्न व्यक्ति पहिले नै जानकारी भएकाले त्यो मान्छेको बारेमा जानकारी दिए । तर भोजराज गाउँबाट भागिसकेकाले त्यो दिन भेट्टाउन सकेनन्। शव पोस्टमार्टम र अभियुक्तको खोजीसँगै सुरु भयो । त्यही दिन गाउँलेले शव पोस्टमार्टमका लागि सदरमुकाम लगे । प्रहरीले अघिल्लो दिन भोजराजसँगै रक्सी खाने दुई जनालाई पक्राउ ग¥यो । तर अनुसन्धानका क्रममा उनीहरूको संलग्नता नदेखिएपछि छाडियो ।

भोजराज भने त्यो दिनभरि बैतडीको गन्नाको बाटो हुँदै पुर्तौडी हाटतर्फ गए । त्यहाँबाट ढोल्या मोडको नजिकको गाउँमा पुगे। तर आफूलाई पक्राउ गर्ने डरले उनी गाउँतिर गएनन् । जंगलतिरै फर्किए। त्यसरात जंगलमै रुखमा बसे । भोलिपल्ट बझाङतिर जाँदै गर्दा उनी सडकमा निस्किए । दिउँसो १२ बजेतिर सडकमा निस्किनासाथ उनलाई प्रहरीले पक्राउ ग-यो ।

उनलाई दार्चुलामा ल्याएर प्रहरीले अनुसन्धान सुरु गरेको थियो । ५० दिन लामो अनुसन्धान पछि प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझायो । भोजराजले पनि उक्त क्रूर हत्यामा अरू कसैको पनि संलग्नता नरहेको बताए। रक्सीले मात्तिएका भोजराजले यसरी आफ्नै भाउजूमाथि क्रूर अपराध गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *