नाटक समीक्षा

संगीतको संयोजनमा शरीरले व्यक्त गरेको त्यो दुखाइ- ऐया! माया

अपेक्षा गरेभन्दा फरक स्वाद पाउनु भनेको अपेक्षितभन्दा मिठो र नमिठो दुवै हुनसक्छ । तर कथा घेराको कौसी थिएटरमा मञ्चन भइरहेको नाटक ‘ऐया ! माया’ले भने अपेक्षा गरेकोभन्दा केही नयाँ दियो ।

हो, कौसी थिएटरमा असार ७ गतेदेखि ऐया ! माया मञ्चन भइरहेको छ । नाटकका निर्देशक सुदाम सिके हुन् । सुदाम सिकेले नाटकमा गरेको नयाँ प्रयोगले हँसाउने र रुवाउने मात्रै गर्दैन, शरीरमा काँडासमेत उमारिदिन्छ । नाटकमा संगीत र थोरै संवादमा पवित्र राईको आँखाको डिलबाट खसेका आँशुका थोपा मनसम्मै पुग्छन् । नेपथ्यमा गुञ्जिने शर्मिला के गुरुङ र शिवराज जोशीको आवाज तथा संगीतले हृदय हुँदै मस्तिष्कसम्मै तरङ्ग पैदा गर्छ । 

नाटक ‘ऐया ! माया’ संगीत र शरीरको संयोजनले बोल्ने दुःखको कथा हो । यसमा पात्रहरूले कुनै एउटा मात्रै कथा बोक्दैनन् । एउटा मात्रै लयमा ढल्दैनन् । उनीहरूले नाटकको खण्ड-खण्डमा समाजको विभिन्न रूप र विसंगतिलाई साङ्गीतिक बिम्बमार्फत् देखाउँछन् । आफैँलाई चिन्न नसक्नु र आफैँलाई खोज्दै हिँड्नुलाई नाटक र पात्रहरूले अति कलात्मक तरिकाले प्रस्तुत गर्छन् । जसले दर्शकलाई भावुक र मौन बनाउँछ । आफैलाई खोज्नु, चिन्न नसक्नु कता-कता आफूसँगै मेल खाएजस्तो अनुभूति हुन्छ ।


नाटकमा कतै बलात्कार, कतै लैङ्गिक असमानता, कतै जातीय विभेद, कतै यौनिक अल्पसंख्यकबीचको प्रेममाथिको प्रश्नजस्ता विषयलाई उठाइएको छ । पवित्र राईको गीत ‘फरक हुनु भनेकै एक्लो हुनु हो कि एक्लो हुनु भनेकै फरक हुनु हो एक्लो हुनु हो ?’ ले जन्माएको प्रश्नको उत्तर कहीँ-कतै फेला पर्दैन । यसले सोही कुरा वास्तविक जीवनमा झेलिरहेका मानिसको द्विविधा बोल्छ । अन्तर्मनको द्वन्द्व बोल्छ । त्यसले जीवन बाँच्नकै लागि आइपरेका अवरोधहरू बोल्छ । 

मुख्यगरी, समाजमा प्रेमका अनेकौं अवरोधहरू छन् भन्ने विषयलाई नाटकले उठान गरेको छ । त्योसँगै एउटा मानिस अथवा एउटा व्यवस्थाले पूरै समूहलाई कसरी आफ्नो इसारामा नचाइरहेको छ भन्ने कुरा नाटकले स्पष्ट देखाएको छ । कसैको पैतालाको गर्जनमा कसरी उसले एउटा समूहलाई नै कुल्चिरहेको छ भन्ने दृश्यलाई पात्रहरूले अति मिठो तरिकाले पस्किएका छन् ।

जीवनका बाटाहरू सधैँ सजिलो हुँदैन र सजिलै टुङ्गिँदैन भन्ने कुरालाई सेतो कुर्सी कहिले उल्टो त कहिले सुल्टो तरिकाले ओछ्याइ त्यसमाथि हिँडेर देखाइएको छ । कहिले उल्टो त कहिले सुल्टो कुर्सी ओछ्याएको दृश्यले सोचनीय बनाउँछ, मथिङ्गल हल्लाउँछ । संगीतसँग पात्रहरूले देखाएका हाउभाउले छटपटी हुन्छ, बेचैनी हुन्छ । पात्रलाई आफूमा नै पाएको महसुस हुन्छ । मायाले दिएको त्यो दुखाइ स्मरण हुन्छ । 

ऐया ! मायाको दृश्यले दर्शकलाई कथा आफ्नो सहजताअनुसार बुझ्ने स्वतन्त्रता दिएको छ । विषयवस्तुलाई धेरैवटा दृष्टिकोणबाट बुझ्न सकिन्छ ।  यो अर्थमा पनि नाटक अति नै फरक छ । तर, पेट मिचिमिची हाँस्न र कुनै एक विषयको मात्र गहिराइ हेर्न जानेहरूलाई ‘ऐया ! माया’ खल्लो लाग्न सक्छ । यसमा प्रयोग गरिएको संगीतले नछुन सक्छ । धेरै विषयलाई उठाउन खोजे पनि एउटा विषय पनि स्पष्ट नभएको जस्तो महसुस पनि हुनसक्छ । 

तर, नाटकमा नयाँ प्रयोग र पात्रहरूको प्रयासलाई सम्मान गर्ने हो भने नाटक ऐया ! माया हेर्न एकपटक कौसी थिएटर पुग्नैपर्ने हुन्छ । कौसीमा ऐया ! माया असार ३२ गतेसम्म मञ्चन हुनेछ । सोमबार र मंगलबारबाहेक प्रत्येक दिन साँझको ५ः३० देखि ६ः३० बजेसम्म नाटक हेर्न सकिन्छ ।


नाटकको मञ्चमा कलाकारहरू आकास नेपाली, आयान खड्का, पवित्र राई, शिशिर सिवाकोटी, सरिता कठायत र मुक्तिलाई देख्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.