शरीर, आवाज र संगीतको नयाँ प्रयोगः असार ७ देखि ‘ऐया ! माया’ को मञ्चन शुरू

काठमाडौँ ।  राजधानीको टेकुस्थित कौसी थिएटरमा नाटक ‘ऐया ! माया’ मञ्चन हुने भएको छ ।

सुदाम सिकेको निर्देशनमा बनेको नाटक यही असार ७ गतेदेखि मञ्चन हुने भएको हो । सिकेको निर्देशनमा बनेको यो चौँथो नाटक हो । यसअघि उनको निर्देशनमा ‘च्यातिएको पर्दा’, ‘आन्दोलन’ र ‘पाँच’ जस्ता नाटकहरू मञ्चन भइसकेका छन् । शुरूका दुई नाटक यथार्थपरक शैलीमा बनेका थिए भने तीन वर्षअघि मञ्चन भएको नाटक पाँच भने शारीरिक प्रयोगात्मक नाटक हो । निर्देशक सुदामद्वारा निर्देशित ‘पाँच’ संवादविहीन पहिलो नेपाली नाटक समेत हो।

नाटकमा नौलो प्रयोग गर्न रुचाउने निर्देशक सुदामले यसपटक ‘ऐया ! माया’ मा पनि शरीरसँगै आवाज र संगीतमा समेत नयाँ प्रयोग गरिएको बताएका छन् । यसअघि, शरीरमा मात्रै प्रयोग गरिएको र यसपटक अभिव्यक्तिका बलिया माध्यम शरीरसहित, शब्द र संगीतको संयोजनमा काम गर्ने इच्छाले नाटक ‘ऐया ! माया’ तयार भएको निर्देशक सुदामको भनाइ छ ।

कुनै समस्याको समाधान र समाज रूपान्तरण होस् भनेर यो नाटक गर्न लागिएको होइन । अभिव्यक्त गर्न मन लागेको कुरा यसरी भन्न खोजिएको हो । उनले भनेका छन्, हामी सबै सधैँ हतारमा हुन्छौँ । सधैँ केही न केही पाउनका लागि दौडिरहेका हुन्छौँ । हरेक दिन ठूलाठूला घटना भइरहेका हुन्छन् । जसलाई अर्का घटनाले छायाँमा पारिरहेका हुन्छन् । यस नाटकमार्फत् हामीले बिर्सिरहेका कुराहरू सम्झाउन मात्र खोजिएको हो ।

कथा घेराको प्रस्तुति रहेको नाटकमा अकाश नेपाली, आयान खड्का, पवित्र राई, सरिता कठायत, शिशिर शिवाकोटी र मुक्तिको अभिनय रहेको छ । संगीतमा शिवराज जोशी र शर्मिला गुरुङले काम गरेका छन् भने प्रकाश परिचालनमा क्षितिज पराजुलीले साथ दिएका छन् ।

करिब दुई महिनासम्मको रिहर्शलपछि नाटक मञ्चनका लागि तयार भएको हो । यतिबेला नाटकको अन्तिम चरणको काम भइरहेको छ । असार ७ गतेदेखि मञ्चन शुरू हुने नाटक सोमबार र मंगलबारबाहेक हरेक दिन साँझ साढे ५ बजे असार ३२ सम्म चल्नेछ । साथै, नाटकको अतिरिक्त शो शनिबार दिउँसो २ बजे मञ्चन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *