सबै मतदान केन्द्रमा कर्मचारी पुगिसके, मतदान केन्द्र धेरै हुँदा भिड नियन्त्रणमा समस्या

विराटनगर । मोरङ जिल्लामा निर्वाचन सम्पन्न गराउनका लागि ४ हजार १ सय कर्मचारी परिचालित भएका छन्।

भोलि शुक्रबार बिहान ७ बजेदेखि हुने निर्वाचनका लागि सबै मतदान केन्द्रमा कर्मचारी परिचालन गरसकिएको छ। देशकै सबैभन्दा धेरै ७ लाख १५ हजार २२३ जना मतदाता रहेको मोरङमा ३०० मतदान स्थलको ८२० मतदान केन्द्रबाट मतदान हुँदैछ। यी सबै केन्द्रहरूमा कर्मचारीसहितको टोलीले मतदातालाई मतदान गर्न मात्र सिकाएका छैनन् कसरी हुन्छ मतदानलाई भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि गर्नुपर्ने सबै भूमिका निभाइरहेका पनि छन्।

प्रदेश १ को एक मात्र महानगरपालिका रहेको मोरङमा निर्वाचनको तयारी कसरी हुँदैछ भन्ने बारेमा मकालुखबरकर्मी सुमन सुस्केराले मोरङका मुख्य निर्वाचन अधिकृत भरत लम्सालसँग कुराकानी गरेका छन्। यस्तो छ उनीसँग गरिएको कुराकानीको सारः

मतदानको तयारी कसरी हुँदैछ?
मतदानको लागि सबै तयारी पूरा भएको छ। सबै कर्मचारी पुगिसक्नुभएको छ। मतदान केन्द्र बनाउने, मतदाता शिक्षा दिने लगायतको कामहरू भइसकेकाछन्। बिहान ७ बजेदेखि शुरू हुने मतदान साँझ ५ बजेसम्म हुनेछ। मतदान गर्नुभन्दा अघि हाम्रो तर्फबाट हुनुपर्ने सबै कामहरू पूरा भएका छन्। हामी सबै मतदातालाई ढुक्क भएर मतदान गर्न आग्रह गर्दछौँ।

निर्वाचन अधिकृतको कार्यालयले कहाँ अफ्ठ्यारो महसुस गर्यो?
हामीले हाम्रो तर्फबाट गर्ने सबै कामहरु गरेका छौँ। अफ्ठ्यारो त हरेक क्षेत्रमा आउँदै गए। तर पनि मनोनयन दर्ता, कर्मचारी व्यवस्थापन, मतपत्र प्राप्त भएपछि ८२० केन्द्रलाई पठाउनका लागि रुजु गर्ने र बुझाउने काम हाम्रो लागि अफ्ठ्यारो थियो। उम्मेदवारहरूको सवारी पास वितरणमा पनि हामीले निक्कै समस्या झेल्नु पर्यो। ७२२ जना उम्मेदवारलाई सवारी साधनको पास पद अनुसार दिनु पर्ने भएकोले अलिक असहज भयो। सहजताका साथ काम गर्ने अवस्था भएन, हामीसँगै उम्मदवार र दलको घेरामा मात्र पर्ने काम भयो।

कर्मचारी व्यवस्थापन कसरी गर्नुभयो त?
हामीलाई निर्वाचन अधिकृतको कार्यालयमा पनि कर्मचारी अभाव नै थियो। महानगरपालिकाभित्रका मतदान अधिकृतका रूपमा द्वितीय श्रेणीका कर्मचारी खटाउने कुरा थियो। कर्मचारी खटाउँदै जाँदा धेरैजनाले बिरामी भएको, कोही कर्मचारीको कार्यालयको कामले जान नमिल्ने, जान नसक्ने भन्ने आएपछि त्यहाँ पनि फेरि परिवर्तन गर्नुपर्ने अवस्था आयो।

मोरङ जिल्लाका ४ हजार १ सय जना कर्मचारी खटाउने र व्यवस्थापन गर्नुपर्दा कतिपय ठाउँमा दोहोरिएर पनि आयो, त्यसलाई मिलाउने काम भयो। नियुक्त गरिएका कर्मचारीहरू कतिपय सम्पर्कमा आउनुभएन, त्यसमा पनि व्यवस्थापन गर्नुपर्ने अवस्था आएर अरू पठाउनुपर्यो। समय धेरै छोटो भएर पनि समस्या भयो। राजीनामा दिएका र अवकाश प्राप्त कर्मचारी पनि परेको भन्ने आएपछि त्यसलाई पछि परिवर्तन गर्नुपर्ने अवस्था आयो।

कर्मचारीको विवरण अध्यावधिक नहुँदा हामीले केही समस्या कर्मचारी व्यवस्थापनमा भोग्नुपर्यो। काज सरुवा भएका र फिर्ता भएकाहरूको विवरणमा हामीलाई मिलाउन केही समस्याहरू देखिएको थियो, त्यो हामीले मिलाएर पठाउने काम गरिसकेका छौँ। ८२० मतदान केन्द्रमा कर्मचारी साथिहरु पुगिसक्नु भएको छ।

मतदान केन्द्र कस्तो पाउनु भएको छ?
मतदान केन्द्र साँघुरा र साना छन्। कतिपय ठाउँमा पर्याप्त छ। सानो चौर र चारैतिर भवनले घेरिएका मदतान केन्द्रहरू विराटनगरमा धेरै छन्। त्यस्ता मतदान केन्द्रलाई आगामी निर्वाचनमा पुनः मुल्याकन गर्नु पर्छ। एकै स्थालमा ११ मतदान केन्द्रहरू पनि बनाइएका छन्, यस्तो ठाउँमा भिड हुने र काम गर्न पनि गाह्रो हुनसक्ने देखिन्छ। भिड भएका र साँगुरा मतदान केन्द्रहरू त्यहीँ नजिकै रहेको अर्को कुनै ठाउँमा सार्नुपर्ने अवस्था छ। विराटनगर महानगरपालिकाभित्रका अन्त्यन्त साँघुरा र अव्यवहारिक मतदान केन्द्रहरू देखिएको छ।

अबको निर्वाचन हुनु भन्दा पहिला नै पुनः मुल्यांकन गरेर नजाने हो भने निकै समस्या हुनसक्छ। साँघुरा, अपर्याप्त र असजिलोलाई नजिकै अर्को स्थल पहिचान गर्नुपर्छ र सार्नुपर्छ। अहिलेको अवस्थामा हामीले हाम्रो तर्फबाट काम गरेका छौँ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *