मतदानस्थलमा दिइने मतदाता शिक्षाले विवाद निम्त्याउन सक्ने युवाको विश्लेषण

विराटनगर । मतदानस्थलमा दिइने मतदाता शिक्षाले विवाद निम्त्याउन सक्ने भन्दै त्यस बारेमा निर्वाचन आयोग सचेत हुनु पर्ने एक चुनावी कार्यक्रममा एक सहभागीले बताएका छन्।

मतदानस्थलमा नै यसरी मतदान गर्नुस् भन्दा कसैलाई पनि विश्वास गर्न सक्ने आधार नहुने उनीहरूको भनाइ छ। नजिकिँदो निर्वाचनको सन्दर्भमा संवाद समूह मोरङले स्थानीय तहको निर्वाचनमा आचारसंहिता कार्यान्वयन र मतदाता शिक्षामा युवा तथा विद्यार्थीको भूमिकाको विषयमा गरेको संवादको क्रममा सहभागी युवा तथा विद्यार्थीले मतदानस्थलमा दिइने मतदाता शिक्षाले विवाद निम्त्याउन सक्ने भन्दै त्यस्तो अवस्था आउन नदिनका लागि युवा र विद्यार्थीका बिचमा समन्वयकारी भूमिका हुने बताएका छन्।

मतदानस्थलमा हुन सक्ने संभावित समस्या समाधानका लागि एक हुने उनीहरूको प्रतिबद्धता छ। युवा तथा बिद्यार्थीहरुले आचारसंहितालाई कडाइका साथ कार्यान्वयन गर्ने बताए। ‘दलहरुको तर्फबाट घरदैलो गर्दा देखि नै मतदाता शिक्षालाई जोड दिएर जानु पर्छ, सहभागीले भने, बदरको मतलाई कम गर्न सबैले आफ्नो ठाउँबाट सहयोग गर्ने हो।’ घरदैलोमा जाँदा समय छुट्याएर यसरी मतदान गर्ने भनेर मतदातालाई बुझाउन थालिएको बताएका छन्।

संभावित झडप र घटनाहरू हुन नदिन युवा र विद्यार्थीले समन्वयकारी भूमिका खेल्ने बताए। मतदानको दिन सवारी साधनको पास दिने विषयलाई निर्वाचन अधिकृतको कार्यालयले कडाइ गर्ने हो भने मतदानस्थलमा हुल हुज्जत कम हुने र मतदाताले शान्तिपूर्ण रूपमा मतदान गर्न सक्ने उनीहरूको भनाइ छ।

कस्तो छ निर्वाचनमा युवा सहभागीता?

स्थानीय तहको निर्वाचनमा युवाको सहभागीता र भूमिका सकारात्मक हुने देखिएको छ। कार्यक्रममा सहभागी युवा संघ नेपालका केन्द्रीय कोषध्यक्ष तथा नेकपा एमाले मोरङ सदस्य मुकेश बुढाथोकीले मत बदर हुन नदिनका लागि प्रविधिलाई जोड दिँदै इलेक्ट्रोनिक्स भोटिङ मेसिनको प्रयोगलाई बढाउनु पर्ने बताएका छन्। उनले आयोगले दिनुपर्ने मतदाता शिक्षा यो वर्ष पार्टीले दिनुपर्ने अवस्था आएको सुनाए।

मतदाता शिक्षाको लागि हरेक वडामा ५ जनाको टोली बनाएर मतदाता शिक्षामा केन्द्रीत गरिएको उनको भनाइ छ। नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष तथा नेपाली कांग्रेस जिल्ला सदस्य देवचन्द्र घिमिरेले गाउँगाउँमा जाँदा मतदाता शिक्षा दिँदै दलहरूले भूमिका नखेल्ने हो भने बदरमतको संख्या बढेर जाने बताएका हुन्। जनता समाजवादीका विराटनगर महानगरपालिका उपाध्यक्ष मोहम्मद नसरुलले जसपाले विराटनगर महानगरपालिकाभित्र २० जना युवाहरूलाई गाउँगाउँमा खटाएको बताए।

यसअघि २४ प्रतिशतको मत बदर भएको बताएका उनले त्यो दर घटाउन सबै वडामा युवा परिचालित भएको जानकारी दिए। ‘त्यहाँ भएका युवाले हरेक दिन बेलुका नगर कमिटीलाई रिपोर्टिङ गर्नुपर्ने हुन्छ’, उनले भने, ‘यो अभियान चुनावको दिनसम्म निरन्तर चल्नेछ।’ नेपाली कांग्रेस नगरसचिव झुमा निरौलाले हिजोका कमीकमजोरी अहिलको निर्वाचनमा हुन नहुनेमा जोड दिइन्। उनले भनिन, ‘मतदाता शिक्षाको क्रममा वडामा नागरिकलाई बुझाउन थालेका छौँ। घरदैलोसँगै समय छुट्याएर यसरी मतदान गर्ने भनेर मतदातालाई सिकाउने गरिएको छ।’

निर्वाचन आचारसंहितामा गरिएको कडाइका कारण पहिलाको जस्तो उत्साह अहिलेको चुनावमा नदेखिएको उनको अनुभव छ। आचारसंहितामा गरिएको कडाइले चुनावमा हुने फजुल खर्च घटेको उनीहरूको भनाइ छ। अनेरास्ववियुका जिल्ला अध्यक्ष तुलसी घिमिरेले मतदाता शिक्षा दिने बारेमा मतदानस्थलमा खटिने व्यक्ति राजनीतिसँग आस्था राख्ने खालको हुने भएकोले मतदानस्थलमा समस्या हुनसक्ने बताए। निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने कुरामा अहिलेसम्म त्यस्ता गतिविधिहरू नदेखिएको भएपनि मतदाता शिक्षालाई प्रविधिसँग जोडेर लग्नुपर्नेमा उनले जोड दिए।

विद्यार्थी नेता नविन पहाडीले दक्षिण पश्चिम भागमा बस्ने मतदाताहरूसँग अत्याधिक मत बदर भएको अवस्थामा त्यस्ता मतदाता केन्द्रित अभियान चलाउनुपर्ने बताए। उनले विभिन्न नमुना मतपत्रहरू बनाएर सिकाउने काम भएको जानकारी दिए। मतदाता शिक्षाको अवश्यकता पहिलोपटक भोट हाल्ने मतदाता, जेष्ठ नागरिक र शिक्षाबाट वञ्चित रहेका परिवारलाई खाँचो रहेको उनको तर्क छ।

वाइसिएलका प्रवीन गौतमले विराटनगर महानगरपालिकाको १९ वटै वडाहरूमा सिमान्तकृत बस्तीहरूमा केन्द्रित रहेर मतदातालाई बुझाउने अभियान चलाउने बताए। चेतनाको स्तर कमजोर रहेका नागरिकको लागि मतदानबारे बुझाउन गाह्रो रहेको उनको भनाइ छ।
गठबन्धनभित्र मतदाता झुक्किन्छन्।

संवादमा सहभागी अधिकांशले गठबन्धनभित्र भोट हाल्दा मतदाता झुक्किने बताएका छन्। जसपाका जिल्ला सदस्य तथा विद्यार्थी नेता राकेश रोशन यादवले गठबन्धनका कारण मददाता अन्योलमा पर्ने र समस्या देखिने सम्भावना रहेको बताए। ‘छातामा हाल्दा छाताको छाता र रूखमा हाल्दा रूखको रूख र कलममा हान्नुपर्दा कलमको कलम मात्र हाल्ने हुन् कि भन्ने देखिएको छ’, उनले भने, ‘गठबन्धन नभएको दलहरूमा एकछापे हुनसक्छ, सजिलो छ।’

मतदातालाई बुझाउन र सम्झाउन नै समस्या देखिएको उनको भनाइ छ।

नेकपा एकिकृत समाजवादी युवा संघका नेता उदय यादव र जुनु पोखरेलले मतदातालाई भोट हाल्न सबै पार्टीले सिकाउनुपर्ने अवस्था रहेको बताए। ‘कसरी भोट हाल्ने भन्नेमा नागरिक अन्योलमा छन्’, उनीहरूले भने, ‘अशिक्षित क्षेत्रमा यो समस्याको रूपमा देखियो।’ एउटाको नामको भोट अर्को व्यक्तिले खसाउने बारेमा समस्या हुनसक्ने उनीहरूको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *