रंगमञ्चबाट उदाएका गायक देवेन्द्र बब्लु (भिडिओसहित)

काठमाडाैँ । गायक देवेन्द्र बब्लु कुनै समय रंगमञ्चमा काम गर्थे । उनले त्यहाँ करिब ३ वर्ष बिताए । उनको काम नाटकको सीन बनाउने, संगीत संयाेजन गर्ने, आलाप बनाउनेलगायत हुन्थ्याे । उनी सुनाउँछन्, ‘निर्देशक नवराज बुढाथोकीले मलाई अञ्जान केटा र केटीबीचकाे प्रेमकथामा आधारित नाटकको लागि गीत लेख्न भन्नुभयाे, मैले कसरी कसरी माया बस्यो बेस्सरी भन्ने गीत लेखेँ ।’ उक्त नाटक एक महिनासम्म राम्रै चल्याे । नाटक हेर्न आएका दर्शकले नाटकमा समावेश बब्लुद्वारा रचित गीत गुन्गुनाउन थाले । बब्लुलाई लाग्याे, केही हदसम्म सफल भएँ ।

यसपछि उनी साथीहरूकाे सल्लाहमा व्यवसायिक संगीत सिर्जनामा लागे । पहिलाे गीतबाट राम्राे प्रतिक्रिया पाएपछि निरन्तर लागिरहे ।

पहिलोपटक काठमाडाैँ आउँदा कुनै सपना नभएको उनी सम्झन्छन्, ‘मसँग सपना, रहरहरू केही थिएनन् ।’ उनले दोहोरी साँझमा पनि काम गरे । प्लस टूपछि जापान जाने प्रयाससमेत गरे, तर भिसा लागेन । ‘मसँग कुनै विकल्प नै भएन,’ उनले मकालुखबरसँग भने, ‘पत्रकारिता पढेकाे हाे मैले, अनि रेडियोमा काम पनि गरेँ । त्यसपछि नवराज बुढाथाेकीसँग भेट भयाे र रंगमञ्चतर्फ लागेँ ।’

रंगमञ्चमा काम गर्दा संगीत, साहित्य, कथा र अभिनय सबैको काम हुन्थ्यो । उनी भन्छन्, ‘मलाई संगीतमा काम गर्दा, अभिनय गर्दा रमाइलो लाग्थो । त्यसपछि संगीत अनि अभिनयलाई बृहत्‌रूपमा अगाडि बढाउनुपर्छ भन्ने सपना जाग्यो ।’

‘प्रतिस्पर्धाको जमानामा आफ्ना आवश्यकता परिपूर्ति गर्नका लागि जिउने एउटा प्रक्रिया नै संघर्ष हो,’ उनी आफूले गरेकाे सघंर्ष सम्झिन्छन् ।

अहिले बब्लुले पैसालाई पहिलो प्राथमिकतामा राख्छन् । ‘मसँग अहिले सबथोक छ,’ उनी भन्छन्, ‘जिउने कला छ मसँग पैसा भयो भने सहज तरिकाले सृजना गर्न सक्छु । मैले विकल्पहरूकाे लागि दौडधुप गर्नुपर्दैन ।’

बब्लु पछिल्लाे समयका लोकप्रिय गायक हुन् । उनका गीतहरू यूट्युबकाे कराेड क्लबदेखि टिकटकसम्म छाउँछन् । ‘कसरी कसरी’, ‘भेटै हुन्न कि ?’, ‘म त पर्खेको पर्खै छु’ लगायतका गीतहरूबाट उनी दर्शक/स्रोताको मनमा बस्न सफल भएका छन् ।

प्रेमलाई विषय बनाएर धेरै गीत बनाएका बब्लु अहिलेसम्म आफू भने प्रेममा नपरेकाे बताउँछन् ।

पछिल्लो समय उनले एउटा ‘डान्सिङ बीट’ को गीत सार्वजनिक गरेका छन् । आफ्नो नजरमा, आफन्तको नजरमा सबैजना हिरो हिराेनी हुन्छन् । मन परेको व्यक्तिकाे अनुहार रूपरंग हेरिँदैन भन्ने भाव उक्त गीतले झल्काएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *