प्रवक्ता पाठक भन्छन्:

‘रवीन्द्र मिश्रले ल्याएको दस्तावेज संशोधन हुँदैन भन्ने हाेइन’ (भिडिओवार्ता)

काठमाडौँ । मूलधारका राजनीतिक दलहरूकाे विकल्पका रूपमा स्थापित हुने ध्येयका साथ राजनीतिमा होमिएको विवेकशील साझा पार्टी अन्तत: टुटफुटको अवस्थाबाट अछुतो रहन सकेन । यसको दोष सम्बन्धित दलका नेताहरूले कति-कति मात्रामा आपसमा बाँड्छन्, त्यो उनीहरूको कुरा हो । तर, स्थापनाकालमा जत्तिको आशा र भरोसा पार्टीप्रति थियाे, अहिले त्याे खस्कँदै गतिमा रहेकाे बोध नेताहरूले गरेकै हुनुपर्छ ।

तत्कालीन साझा पार्टी र विवेकशील नेपाली दलले ०७७ मंसिर २४ गते ‘मिल्नुको विकल्प छैन’ भन्ने निष्कर्षसहित पार्टी एकीकरण गरेका थिए । भन्नलाई त नेताहरू त्याे एकीकरणलाई ‘परिपक्व एकीकरण’ भन्थे । तर, घटनाक्रमहरूले त्यसलाई ‘अपरिपक्व दाबी’ का रूपमा पुष्टि गरिरहेका छन् । एकीकरणको १ वर्ष बित्दानबित्दै अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डे एकअर्कालाई कारबाही गर्ने अवस्थामा आइपुगे ।

दोस्रो एकीकरणताका विवेकशील साझाकै तत्कालीन प्रवक्ता डा. सूर्यराज आचार्यले कतै लेखेका थिए— ‘यो एकीकरण पनि पहिलेजस्तै सावित हुन बेर लाग्दैन ।’ नेताहरूले यसलाई ‘झुरेस्ट लाइन’ भन्न पछि परेका थिएनन् । तर, अन्ततः त्यही सावित भयो ।

भलै, विवेकशील साझा कानूनी रूपमा सग्लै भएपनि राजनीतिक रूपमा आफैँ छोड्ने वा कारबाहीलगायतको लफडाका कारण तितरबितर हुने अवस्था छ । पार्टीमा समानान्तर गतिविधि, नेताहरूमाथिको आरोप/प्रत्यारोप र राजनीतिक बाटोका कारण विवेकशील साझा पार्टी पनि मूलधारका पार्टीहरुकै बाटोमा लागेको भनेर कठोर टिप्पणीहरू पनि भइरहेकै छन् ।

अध्यक्ष मिश्रले ०७७ साउन ११ गते ‘मार्ग परिवर्तन’ नाम दिएर संघीयता खारेजी र धर्मनिरपेक्षतामाथि जनमत संग्रहको प्रस्ताव ल्याएपछि सतहमै देखिएको विवेकशील साझा पार्टीभित्रको विवाद अहिले कारबाही र अदालतमा उजुर-बाजुर गर्ने अवस्थामा पुगेको छ । अध्यक्ष मिश्रको दस्तावेजलाई ‘काउन्टर’ दिँदै संयोजक मिलन पाण्डेसहितका नेताहरूले ‘मूल बाटो’ नाम दिएर अर्को दस्तावेज ल्याएसँगै स्पष्ट दुई लाइन संघर्ष देखिन पुग्यो ।

अध्यक्ष मिश्रको दस्तावेज पार्टी केन्द्रीय समिति बैठकले अनुमोदन गरिसकेको र अब पार्टी यहीँ बाटो हिँड्न थालेको प्रवक्ता शरदराज पाठक बताउँछन् । ‘मार्ग परिवर्तनको दस्तावेज केन्द्रीय समितिको दुईतिहाइले अनुमोदन गरिसकेको छ,’ प्रवक्ता पाठकले मकालुखबरसँगको कुराकानीमा भने, ‘अहिले पार्टी यही बाटो हिँड्दै छ ।’

‘मार्ग परिवर्तनको दस्तावेज संशोधन नै हुँदैन भनेका छैनौँ’

अध्यक्ष मिश्रको दस्तावेज फिर्ता हुनुपर्ने, त्यसो नभए संशोधन हुनुपर्ने कारबाहीमा परेका संयोजक पाण्डे पक्षको माग छ । खासगरी संघीयताको खारेजी र धर्मनिरपेक्षतामाथि जनमत संग्रहको प्रस्तावलाई दस्तावेजबाट हटाइहाल्नुपर्ने उनीहरूले बताउँदै आएका थिए । तर, त्यसलाई पार्टीको केन्द्रीय समितिबाट अनुमोदन गरेर पार्टीको ‘मागनिर्देशन’ बनाएको छ ।

यसलाई नस्वीकारेका पाण्डे पक्षका नेताहरूलाई अध्यक्ष मिश्रले केन्द्रीय सदस्यको जिम्मेवारीबाट समेत हटाइसकेका छन् । ‘मार्ग परिवर्तन’ पार्टीको मार्गनिर्देशनका रूपमा ल्याइएपछि असन्तुष्ट बन्दै समानान्तर गतिविधिमा जुटेका नेताहरूले भने यो कारबाहीलाई अवैधानिक भनेका छन् । मकालुखबरसँगको कुराकानीमा पाण्डे पक्षका नेता केशव दाहालले भनेका थिए— ‘यो कारबाहीको कुनै मान्यता छैन । हामी हिँड्ने बाटो पनि होइन । यो पार्टीको विधानअनुसार पूर्णतः अवैधानिक छ ।’

‘मार्ग परिवर्तन’ कै कारण पार्टी छिन्नभिन्नको अवस्थासम्म पुगेको हो कि होइन भन्नेबारे समीक्षा गर्नुपर्ने प्रवक्ता पाठकको भनाइ छ । ‘यसमा समीक्षा गर्नुपर्छ,’ उनले भने, ‘हामीले भन्दै आएका हौँ कि उस्तै-उस्तै पार्टी फरक बसेर हुँदैन, एकठाउँमा उभिनुपर्छ ।’

प्रवक्ता पाठकले ‘मार्ग परिवर्तन’ को पस्ताव संशोधन हुँदैन भनेर आफू र आफ्नो पार्टीले कहिल्यै नभनेको जिकिर गरे । ‘म, मेरो पार्टी र पार्टीसम्बद्ध नेताहरूले मार्ग परिवर्तनको प्रस्ताव संशोधन नै हुँदैन भनेर त भनेका छैनौँ,’ उनले भने, ‘विवेकशील साझा पार्टीको दस्तावेज संशोधन नै हुँदैन भनेर कहाँ लेखिएको छ र ? संसारमा अपरिवर्तनीय केही पनि छैन र हुँदैन । विवेकशील साझा पार्टीको दस्तावेज के नै हो र, संशोधनै नहुनलाई ?’

तर, संशोधन प्रक्रियाअनुसार हुनुपर्ने प्रवक्ता पाठकको भनाइ छ । ‘त्यसको पनि पक्रिया छ,’ उनले भने, ‘त्यो महाधिवेशनमा जान्छ । छलफल हुन्छ र संशोधन हुने भएपनि हुन्छ । यत्तिकै हचुवाको भरमा हुने कुरा होइन यो ।’ त्यसो भए संशोधनचाहिँ हुन्छ ? भन्ने मकालुखबरको जिज्ञासामा प्रवक्ता पाठक भन्छन्–  ‘आवश्यकताअनुसार हुन्छ ।’

‘राप्रपासँग तत्काल पार्टी एकीकरणको चर्चा असत्य’

‘मार्ग परिवर्तन’ को दस्तावेज सार्वजनिक भएपछि अध्यक्ष मिश्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच दुईपटक भेटवार्ता भयो । राजा महेन्द्र र पृथ्वीनारायण शाहमाथि बढीभन्दा बढी सम्मान र निकटता देखाउँदै आएको आरोप लाग्ने गरेका अध्यक्ष मिश्रले संवैधानिक राजतन्त्रको विषयलाई मुख्य एजेन्डाका रूपमा अङ्गीकार गर्दै आएको राप्रपाका अध्यक्षलाई भेट्दा स्वाभाविक रूपमा एकताबारेको चासो बढ्ने नै भयो ।

दुई पार्टीबीच पार्टी एकीकरणको सामान्य कुरा भएपनि गम्भीर ढंगले कुरा अघि नबढेको प्रवक्ता पाठकको भनाइ छ । उनले भविष्यमा के हुन्छ भन्नेबारे अहिल्यै केही बताउन नसकिने भएपनि तत्कालका लागि राप्रपासँग एकीकरणको सम्भावना शून्य रहेको बताए । ‘राप्रपासँग तत्कालका लागि एकता हुँदैन,’ प्रवक्ता पाठकले भनेका छन्, ‘बाँकी कुरा पछि नै बाेलाैँला ।’

‘विवेकशील साझा राष्ट्रिय पार्टी बन्छ’

प्रवक्ता पाठक आसन्न निर्वाचनपछि विवेकशील साझा पार्टी राष्ट्रिय पार्टीको रूपमा दर्ज हुने दाबी गर्छन् । राष्ट्रिय मान्यता प्राप्त गर्न प्रतिनिधि सभाको चुनावमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा ३ प्रतिशत मत र पहिलो हुने निर्वाचन हुने निर्वाचन प्रणालीतर्फ कम्तीमा एक सिट प्राप्त गर्नुपर्ने कानूनी प्रावधान छ ।

प्रवक्ता पाठक ऐनमा गरिएको व्यवस्थाबमोजिम विवेकशील राष्ट्रिय पार्टी राष्ट्रिय पार्टीका रूपमा दर्ज हुने बताउँछन् । ‘म कुनै आशा लिएर मात्रै बोलेको होइन,’ उनले भने, ‘यस निर्वाचनपछि हाम्रो पार्टी राष्ट्रिय पार्टी बन्छ ।’

♦ याे पनि:
   ‘रवीन्द्र मिश्रले इँटा फालेर घर बनाउने प्रयास गरे’ (भिडिओवार्ता)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *